काठमाडौं, १३ जेठ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप ९० जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको पुष्टि गरेको छ।
मङ्गलवार अपराह्ण नियमित प्रेस ब्रीफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म कोभिड १९ पुष्टि भएका व्यक्तिको सङ्ख्या ७ सय ७२ पुगेको जानकारी दिनुभयो।
यो अहिलेसम्म दैनिक वृद्धि भएको सर्वाधिक सङ्ख्या हो।
सङ्क्रमितहरू विभिन्न जिल्लामा फेला परेका हुन्।

डा. देवकोटाका अनुसार नारायणी अस्पतालबाट थप ४३ जना कोभिड १९ मुक्त भएर अस्पतालबाट बिदा भएका छन्।
अब निको हुनेको कुल सङ्ख्या १ सय ५५ पुगेको छ। सङ्क्रमण पुष्टि भएकामध्ये चार जनाको मृत्यु भएको छ।
अहिले प्रदेश नं ५ र २ मा सर्वाधिक सङ्क्रमित छन्।
मङ्गलवार अपराह्णसम्म देशका विभिन्न स्थानमा ५५ हजार २ सय ८२ जना क्वारेन्टाइनमा भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।
यो अहिलेसम्म क्वारेन्टाइनमा भएका मानसिको सर्वाधिक सङ्ख्या हो।
तीमध्ये प्रदेश नं ५, प्रदेश नं २, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका क्वारन्टीनमा सर्वाधिक सङ्ख्यामा मानिसहरू छन्।
उनीहरू अधिकांश भारतबाट फर्किएका हुन्।

अहिले प्रदेश नं ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा हजारौँ मानिसहरू क्वारेन्टाइनमा छन्
नेपालमा अहिलेसम्म ५४ हजार ४ सय २४ वटाभन्दा बढी नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ।
अहिले छिमेकी देश भारतमा सङ्क्रमितहरूको सङ्ख्या बढिरहेको छ।
भारतबाट बिना परीक्षण अनियन्त्रित रूपमा नेपालीहरू फर्किँदा रोग फैलिने सम्भावना बढेको विज्ञहरू बताउँछन्।
नेपालमा कोरोनाभाइरस सङ्क्रमण
जेठ १३ गते मङ्गलवार अपराह्ण ४स्३५ बजेसम्मको तथ्याङ्क
७७२ कुल सङ्क्रमण
१५५ अहिलेसम्म निको
पीसीआर विधिबाट परीक्षण ५४,४२४
चिकित्सकीय निगरानीमा अलग्गै ५२२
देशभरि क्वारन्टीनमा ५५,२८२
सङ्क्रमित भेटिएका जिल्ला ४६
स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
नयाँ सङ्क्रमितहरु
मङ्गलवार पुष्टि भएका सङ्क्रमितहरू विभिन्न प्रदेशका १५ जिल्लाका हुन्।
तीमध्ये कपिलवस्तुका २६, रौतहटका २२, सुर्खेतका १२ र बाँकेका आठ जना छन्।
त्यसैगरी सिराहाका पाँच जना, बाराका तीन जना र महोत्तरी, गुल्मी, अर्घाखाँची तथा स्याङ्जामा दुईदुई जनामा पनि कोभिड १९ पुष्टि भयो।
मन्त्रालयका अनुसार जुम्ला घर भई बारामा कार्यरत दुई जनामा पनि सङ्क्रमण पुष्टि भएको छ। धनुषा, रूपन्देही, कैलाली र अछाममा एक(एक जनामा सङ्क्रमण देखिएको छ।
उनीहरू विभिन्न उमेर समूहका भएका पनि अधिकांश पुरुष छन्।
अहिले एशियामा सर्वाधिक कोरोनाभाइरस सङ्क्रमण भएका देशहरू
१,५७,८१४ टर्की
१,४४,९५० भारत
८४,१०२ चीन
५६,३४९ पाकिस्तान
३५,५८५ बाङ्ग्लादेश
स्रोत: John Hopkins University
अब आलोपालो काम
यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत रहेको स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार अस्पतालमा कार्यरत जनशक्तिलाई दुई समूहमा विभाजन गरेर काम लगाउने निर्णय भएको छ।
कोभिड १९ रोकथाम र व्यवस्थापन गर्दा स्वास्थ्यकर्मी र सहयोगीहरू सङ्क्रमित हुन गई सेवा प्रवाहमा निरन्तरता दिन कठिनाइ हुन सक्ने भएकाले सबै अस्पतालहरूलाई उपलब्ध जनशक्तिलाई सुरक्षित र व्यवस्थित गर्न दुई समूह बनाई आलोपालो काममा खटाउन सचिवस्तरीय निर्णय भएको केन्द्रका प्रमुख डा. समिरकुमार अधिकारीले एउटा विज्ञप्तिमा जनाएका छन्।
उक्त निर्णयानुसार एउटा टोलीले एक हप्ता र अर्को टोलीले अर्को हप्ता काम गर्नेछ।(बीबीसीबाट)


















