Prakash Adhikari June 27, 2020

 

काठमाडौं, १३ आषाढ (बीबीसी) । नेपालका ७७ वटै जिल्ला कोरोना प्रभावित भएका छन् । शनिवार हिमाली जिल्ला रसुवामा आठ महिला र एक पुरुषमा कोभिड १९ पुष्टि भएपछि सातै प्रदेश र ७७ वटै जिल्लामा कोरोनाभाइरस पुगेको पुष्टि भएको हो।

नेपालमा विगत २४ घण्टामा थप ५ सय ५४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यो वृद्धिसँगै शनिवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १२ हजार ३ सय ९ पुगेको छ।

तीमध्ये २ हजार ८ सय ३४ जना निको भएका छन् भने २८ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।

मन्त्रालयले थप १ सय ३६ जना निको भएको तथा एक जनाको मृत्यु भएको पुष्टि गरेको हो।

लमजुङ
अहिलेसम्म प्रदेश नं २ र ५ मा सर्वाधिक सङ्ख्यामा कोभिड(१९ भएका व्यक्ति भेटिएका छन्। सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि सङ्क्रमितको सङ्ख्या उल्लेख्य रूपमा बढिरहेको छ।

शुक्रवार ५ सय ९३ जना, बिहीवार ४ सय ३४ जना र बुधवार ६ सय २९ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

गत असार ४ गते एकै दिन सर्वाधिक ६ सय ७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।

को हुन् मृतक ?
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार फोक्सोको क्यान्सरबाट पीडित कैलालीका एक ५० वर्षीय पुरुषको चितवनमा मृत्यु भएको हो।

भारतमा उपचार गराउँदै आएको ती व्यक्तिलाई भरतपुरस्थित चितवन मेडिकल कलेजमा लगिँदा असार ११ गते कोभिड १९ पुष्टि भएको थियो।

‘भरतपुर अस्पतालको आइसोलेशनमा राखी उपचारका क्रममा आज मिति २०७७ असार १३ गते बिहान बजे मृत्यु उनको भएको हो’, डा. गौतमले भन्नुभयो।

नेपालमा कोरोनाभाइरस सङ्क्रमण


असार १३ गते शनिवार अपराह्ण ४ : ३० बजेसम्मको तथ्याङ्क

  • १२,३०९ कुल सङ्क्रमण
  • ७७ प्रभावित जिल्ला
  • विगत २४ घण्टामा पीसीआर परीक्षण ४,६०६
  • चिकित्सकीय निगरानीमा अलग्गै ९,४४७
  • देशभरि क्वारन्टीनमा ६५,७१२
  • अहिलेसम्म निको २,८३४

स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

 अरू तथ्याङ्क

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार विगत २४ घण्टामा ४ हजार ६ सय ६ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो।

यससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको सङ्ख्या २ लाख १० हजार ८ सय ७६ पुगेको छ।

कोरोनाभाइरस
क्वारन्टीनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको सरकारी अधिकारीहरूको भनाइ छ।अहिले देशभरि ६५ हजार जनाभन्दा बढी व्यक्ति क्वारन्टीनमा छन्। तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन्।

सङ्क्रमितको कुल सङ्ख्या जेठ ३१ गते ४ हजार ६ सय १४ थियो भने जेठ २१ गते २ हजार ३ सय थियो। जेठ १५ गते सङ्क्रमितको सङ्ख्या १ हजार नाघेको थियो।

जेठ ९ गते सङ्क्रमितको सङ्ख्या ५ सय नाघेको थियो।

थपिएका सङ्क्रमित

शनिवार पुष्टि भएका सङ्क्रमितहरू विभिन्न उमेर समूहका छन्। तर तिनमा युवा र पुरुषको बाहुल्य छ।

डोटीमा ४० महिला र ३१ पुरुषसहित कुल ७१ सङ्क्रमित भएका छन्।

बाजुरा ६६, प्युठान ४९, रौतहट ३४, दाङमा ३१, महोत्तरीमा ३०, पाल्पा २६, बैतडी २४ र स्याङ्जा २१ जनामा पनि सङ्क्रमण देखिएको छ।

काठमाण्डू उपत्यकाका दुई जिल्ला काठमाण्डू र भक्तपुरमा पनि क्रमशः चार र एक सङ्क्रमित थपिएका छन्।

अहिलेसम्म रसुवासहित सबै जिल्लामा कोरोनाभाइरसबाट सङ्क्रमित व्यक्ति फेला परेका छन्।

हिमाली जिल्ला रसुवामा ८ महिला र एक पुरुषमा कोभिड १९ पुष्टि भएपछि सातै प्रदेश र ७७ वटै जिल्लामा कोरोनाभाइरस पुगेको पुष्टि भएको हो।

Share Now

Leave a comment.