काठमाडौं, १८ आषाढ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी भित्रको विवाद वार कि पार बन्ने चरणमा पुगेको छ । आआफ्नो गुट र व्यक्तिगत अस्तित्वको प्रश्न आएकोले प्रधानमन्त्री के.पी शर्मा ओली तथा उहाँको विरुद्धमा उभिएको पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालसहितको समूह अब आफूहरुले लिएको अडानबाट फिर्ता हुन नसक्ने अवस्थामा पुगेका छन् । दुवैतिरको तयारी हेर्दालाग्छ, दुवै पक्ष आफ्नो व्यक्तिगत र गुटको अस्तित्वको निर्णायक लडाईमा छन् । दुवै समूहले आफ्नो र आफ्नो गुटको बचाउको लागि अन्तिम अस्त्रहरु तयार पारिरहेका छन् । मंगलबार र बुधबारका गतिविधिले नेकपाभित्रको महाभारतको छिट्टै अन्त्य हुने देखिन्छ ।
बुधबार बिहान प्रधानमन्त्री ओलीले स्थायी समितिका केही सदस्यहरुलाई बालुवाटारमा निम्त्याएर स्थायी समितिको बैठकमा आफूलाई एक्ल्याएर अपमानित गर्ने काम भएकोले सरकारले गरेका राम्रा कामका बारेमा बोलेर आफ्नो प्रतिरक्षा गर्न आग्रह गर्नुभएको थियो ।
बैठकमा पूर्व माओवादीका रामबहादुर थापा (बादल), टोपबहादुर रायमाझी, मणि थापा र लेखराज भट्टसहित आफ्नो पक्षका नेताहरु ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, योगेश भट्टराई, घनश्याम भूसाल लगायतका नेताहरु उपस्थित हुनुहुन्थ्यो ।
त्यसपछि सुरु भएको स्थायी समितिको पाँचौ दिनको बैठकमा ५ जना स्थायी समिति सदस्यले आफ्नो धारणा राख्नुभएको थियो । बैठकमा नेताहरु योगेश भट्टराई, मात्रिका यादव, लीलामणि पोखरेल, पेशल खतिवडा र नन्दकुमार प्रसाईंले आ–आफ्नो धारणा राख्नुभएको थियो। अन्य नेताहरुले प्रधानमन्त्रीलाई राजिनामा दिएर सहज राजनीतिक निकासको मार्ग प्रशस्त गर्न अनुरोध गर्नुभएको थियो भने मन्त्री समेत रहनुभएका योगेश भट्टराईले निर्वाचनको माध्यमबाट कम्युनिष्टहरुले हासिल गरेको सत्ताको सदुपयोग गर्न पार्टीभित्र संवाद, एकता र मिलापको विकल्प नभएको बताउदै यस्तो बेला आवेगले हैन संयमताले काम लिन आग्रह गर्नुभएको थियो ।
झम्सिखेल बैठक ध्रुबीकरण
स्थायी समितिको बैठक चलिरहदा सत्ता र शक्तिको दुरुपयोग गरेर पार्टीभित्रको सन्तुलन आफ्नो पक्षमा पार्न पार्टी अध्यक्ष तथा प्रधानमन्त्री के.पी. शर्मा ओलीले गुट भेला निम्त्याए पछि आफ्नो समूहलाई यथावत राखी भावि रणनीति तय गर्ने उद्देश्यले पार्टी कार्यकारी अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालको समूहले अपरान्ह ललितपुरको झम्सिखेलस्थित एक होटलमा बैठक आयोजना गरेको थियो । नेताहरु वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सम्मिलित बैठकले ओलीविरुद्ध एकजुट भएर अघि बढ्ने निर्णय गरेको थियो ।बैठकमा सहभागी सचिवालय सदस्यहरु सहित सबै स्थायी समिति सदस्यहरुले ओलीको कार्यशैलीप्रति गम्भीर असहमति जनाउँदै उनले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको छ । बैठकमा सहभागी स्थायी समिति सदस्यहरुले ओलीविरुद्ध मोर्चाबन्दी कसिलो बनाउँदै अघि बढ्ने र राजीनामा नआएसम्म घेराबन्दी गरिरहनुपर्ने सुझाव दिएका थिए ।
आज भएको ओलीविरोधी खेमाको बैठकमा गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा समेतको सहभागितालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
पूर्वमाओवादी पृष्ठभूमिका भएपनि पछिल्लो समय ओली निकट देखिनुभएका थापा आजको बैठकमा सहभागी हुनुभएको हो ।बैठकमा स्थायी समिति सदस्यहरु युवराज ज्ञवाली, लीलामणि पोखरेल, रघुजी पन्त, देवेन्द्र पौडेल, मणि थापा, गणेश साह, चक्रपाणि खनाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, मात्रिका यादव, मुकुन्द न्यौपाने, देव गुरुङ, वर्षमान पुन, भीम रावल, शक्ति बस्नेत, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, भीम आचार्य, वेदुराम भुसाल, हरिबोल गजुरेल, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल, गिरिराजमणि पोखरेल र घनश्याम भुसाल सहभागी हुनुहुन्थ्यो ।
राजीनामा नै बटम लाइन
केपी ओलीको राजीनामा मागिएको विषयलाई लिएर पार्टीभित्र विवाद बढिरहेका बेला पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले ओलीसँग राजीनामाको विकल्प नभएको बताउनुभएको छ।
उहाँले राजीनामा दिनुपर्छ अर्को विकल्प हामी देख्दैनौँ। उहाँले दुई वर्षदेखि पार्टी र सरकार सञ्चालन गर्न सक्नुभएन। मुलुकको विदेश नीतिलाई सन्तुलित ढङ्गले चलाउन सक्नुभएन, बुधवार बीबीसीसँग कुरा गर्दै खनालले प्रधानमन्त्री ओलीले अशोभनीय ढङ्गले पार्टी र सरकार चलाएको आरोप पनि लगाउदै भन्नुभएको थियो मित्रराष्ट्रहरूप्रति विभिन्न खालका गालीहरू गर्न थाल्नुभयो, असन्तुलित हुनुभयो। त्यसकारण उहाँले त्यो पदमा बस्ने अधिकार नै आफैँले खोसिसक्नु भयो ।
उहाँले स्थायी समिति बैठकले ओलीको राजीनामाबारे निर्णय गर्ने र त्यसैअनुसार प्रक्रिया अघि बढ्ने बताउनुभएको छ।
हामीले आवश्यकता पर्दा चट्ट विकल्प निकाल्न सकिने अवस्था छ। विकल्पमा एक मात्र होइन अनेक छन्।।।
झलनाथ खनाल
वरिष्ठ नेता, नेकपा
ओलीले राजीनामा दिए को प्रधानमन्त्री हुने भन्ने विकल्प रहेको र त्यसबारे आफूहरूबीच कुनै विवाद नभएको बताउनुभएको छ।
‘हामीले आवश्यकता पर्दा चट्ट विकल्प निकाल्न सकिने अवस्था छ। विकल्पमा एक मात्र होइन अनेक छन्। ती विकल्पहरू अहिले विवादमा छैनन्। राम्रो समझदारी छ’, खनालले भन्नुभयो ।
प्रधानमन्त्रीले राजीनामा नदिए उहाँलाई दुवै पद (अध्यक्ष र प्रधानमन्त्री) बाट हटाउन पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउन पनि सकिने खनालले सङ्केत गर्नुभयो।
नेता खनालले आफूहरुले पार्टी नफुटाउने प्रतिबद्धता गर्दै भन्नुभएको छ, ‘अध्यक्ष के.पी. कमरेडले नै फुटाउनु भए त भन्न सकिन्न तर हामी फुटाउदैनौ । उहाँले प्रधानमन्त्री ओलीसंग अहिले पार्टी फुटाउने सामाथ्र्य समेत नरहेको उहाँले बताउदै भन्नुभयो, पार्टी संसदीय दल र केन्द्रीय कमिटी दुवैमा ४० प्रतिशत हुनुपर्छ। अहिले कमरेड केपी ओलीको पक्षमा ४० त होइन २० प्रतिशत पनि छैन होला।’
निष्काशनको चेतावनी पनि
प्रधानमनत्री ओलीले सहजै राजीनामा नदिए अन्य नेताहरूले केन्द्रीय समितिको बैठक बोलाएर अध्यक्ष छाड्न बाध्य बनाउने र संसदीय समितिको बहुमत प्रयोग गरेर प्रधानमन्त्रीबाट हटाउने तयारी गरेको नेकपाका नेताहरू बताउँछन्।
पार्टीभित्रबाट पद छोड्न दबाव बढेपछि ओलीले राष्ट्रपतिसँग पटकपटक भेटघाट गरिसक्नु भएको छ । उहाँले स्थायी समितिमा गरिएको घेराबन्दीलाई निस्तेज पार्ने सम्बन्धमा बुधवार आफ्नै सहयोगी मन्त्रीहरूसँग पनि छलफल गर्नुभएको थियो।
तर ओली विरोधी समूह पनि चूप लागेर बसेको छैन । उनीहरुले पनि प्रधानमन्त्री ओलीले चाल्न सक्ने संभावित कुटिल खेलहरुको अनुमान गरेका छन् ।
झम्सिखेल बैठकमा प्रधानमन्त्री ओलीले स्थायी समितिको निर्णय र भावना विपरीत गएर उठाउन सक्ने कदममा संकटकालको घोषणा नै संभाव्य देखिएको थियो । संसद विघटनको विकल्प संविधानमा नरहेको र पार्टीले अर्को प्रधानमन्त्री दिन सक्ने विकल्प रहेकोले उहाँले विघटनको सिफारिस गर्न नसक्ने ठहर सो भेलाले गरेको थियो ।
प्रधानमन्त्रीसंग केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत सांसद नरहेकोले संसदीय दलमा विभाजन ल्याएर सत्ता जोगाउनका लागि संसद अधिवेशन अन्त्य गराएर केही महिना पहिले ल्याएको राजनीतिक दल दर्ता सम्बन्धी अध्यादेश पुन जारी गराउने झिनो संभावना भने छ ।
तर पार्टीको स्थायी समितिको निर्णय विपरीत त्यस्तो कदम लिएमा उहाँलाई पार्टीले निष्काशन गर्नेछ ।
त्यति बेला २००८ सालमा मातृका प्रसाद कोइरालालाई पार्टीबाट निष्कासन गरेपछि राजाको आडमा सत्ता चलाए जसरी राष्ट्रपतिको आडमा सरकार सञ्चालन गर्ने अवसर प्रधानमन्त्री ओलीलाई प्राप्त हुनेछ । प्रधानमन्त्री ओली मातृका बन्न तयार हुनुहोला कल्पना त गर्न सकिन्न तर सत्ताको उन्मादमा लागेपछि हुँदै पनि भन्न सकिन्न ।
राजिनामा नै बटम लाइन मानेर बसेका ओलीविरोधी समूह भने प्रधानमन्त्रीबाट फिर्ता बोलाउन भने केन्द्रीय कमिटीको बैठक नबसी स्थायी कमिटीले पनि सक्ने र यदि उहाँले पार्टीको निर्णय नमाने अनुशासनको कारबाही गर्ने विकल्पमा समेत तयार भएर बसेको अवस्था छ ।
यताप्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले अहिले नै प्रधानमन्त्रीले राजीनामा नदिने बताउनुभएको छ।
उहाँले स्थायी समितिमा उठेका विषयलाई लोकतान्त्रिक पार्टीमा यस्ता विषयहरू छलफलमा आउने भएकोले विगतमा जस्तै सेलाएर जाने विश्वास व्यक्त गर्नुभएको छ । उहाँलेभ भन्नुभएको छ ‘तर अहिले नै प्रधानमन्त्रीले राजीनामा दिने स्थिति नबन्ला। किनकि यो पाँच वर्षको स्थिर सरकार हो। यसबीच प्रधानमन्त्री यताउता गर्दा जनमतको पनि अनादर हुन्छ।’
सल्लाहकार भट्टराईले कोरोनाभाइरस महामारीका बेला नेतृत्व परिवर्तनको विषय सोच्नु नहुने तर्क गर्दै भन्नुभयो, ‘महामारीको बेला नेतृत्वको किचलो झिक्नु हुँदैन ।सीमा र राष्ट्रियताको विषय उठिरहेका बेलामा र समस्या समाधान गर्ने हिसाबले हामी विपक्षी पार्टीलाई त एक बनाएर हिडेका बेला आफैँभित्र अर्को भनेर जाँदा राम्रो सन्देश दिँदैन।त्यसले जनतामा राम्रो सन्देश जादैन।’
तर विगतमा साम दाम दण्ड र भेदको रणनीति अख्तियार गरेर पद जोगाउनुभएका प्रधानमन्त्री ओलीका अस्त्रहरु सबै भुत्ते भइसकेका छन् । राष्ट्रवादको बर्को ओडेर सत्तामा टिक्ने उहाँको चाहनालाई उहाँको स्वास्थ्यले पनि त्यति साथ दिएको छ । स्थायी समितिको बैठकमा सरकारका कामको समीक्षा र भ्रष्टाचारको विषयमा छलफल हुनथालेपछि उहाँको साःख धूलिसात हुने अवस्था छ ।


















