Prakash Adhikari July 2, 2020

 

काठमाडौं, १८ आषाढ । सत्ता संकटबाट आजित हुनुभएका प्रधानमन्त्री के.पी. शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर सरकारी निवास बालुवाटार फर्कनुभएको छ।

पछिल्लो समय नेकपाभित्र विकसित घटनाक्रमबारे जानकारी दिई आवश्यक निर्देशन लिन प्रधानमन्त्री ओली राष्ट्रपति निवास पुग्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले आज १२ बजे मन्त्रिपरिषद् बैठक बोलाउनुभएको थियो । मन्त्रिपरिषद्बाट पारित गराउन पर्ने कुनै अत्यावश्यक विषयका बारेमा परामर्श लिन उहाँ राष्ट्रपतिसमक्ष पुग्नुभएको बताइन्छ ।

प्रधानमन्त्री ओलीका निमित्ति चालु स्थायी समितिको बैठक र संसदको बैठक पनि टाउको दुखाईको विषय बन्दै आएका छन् । संसदले बजेट पारित गरिसकेको र आवश्यक परेमा अध्यादेश ल्याएर काम गर्न सकिने भएकोले संसद अधिवेशन अकास्मात बन्द गर्ने निर्णय हुन सक्ने बताइन्छ ।

देशमा बढ्दै गएको कोरोना भाइरसको संक्रमितको संख्यालाई आधार बनाएर स्वास्थ्य संकटकाल घोषणा गर्न सिफारिस गर्ने संभावना पनि रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमितको संख्या २ हजार नाघ्नेवित्तिकै स्वास्थ्य संकटकाल घोषणाको लागि सिफारिस गर्न मन्त्रिपरिषद््मा प्रस्ताव पठाउने निर्णय गरिसकेको थियो । अहिले कोरोना सक्रमितको संख्या १४ हजार नाघेको छ भने यस घातक भाइरसको संक्रमणमा परेर ३० जनाले जीवन समेत गुमाइसकेका छन् ।

जारी स्थायी समितिको बैठकमा पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डसहित अन्य नेताहरुले नामै किटेर प्रधानमन्त्री ओलीको राजिनामा माग गरेकोले प्रधानमन्त्री अहिले संकटमा पर्नुभएको छ ।

बुधबार साँझसमेत पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेताहरु माधवकुमार नेपाल,झलनाथ खनाल र बामदेव गौतम लगायतका नेताहरुले स्वास्थ्यस्थिति खराब भएका र पार्टीको संस्थागत निर्णय तथा अन्य नेताहरुको राय सुझाव नलिईकन अधिनायकवादी शैली शासन सञ्चालन गर्ने प्रधानमन्त्री ओलीलाई राज्य सञ्चालनको प्रमुख कार्यकारी पद र पार्टीको अध्यक्षको महत्वपूर्ण जिम्मेवारी दुवैबाट बिदा दिएर राजनीतिक विश्राम दिनुपर्ने निष्कर्षसहित यसपटक आत्मालोचना, सुधारको प्रतिबद्धता र देश र जनताप्रतिको जिम्मेवारी जस्ता शब्दजालमा नअल्झिएर ओलीप्रवृत्तिलाई किनारा लगाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

राष्ट्रपतिसँगको भेटवार्ता र मन्त्रिपरिषद्को बैठकका कारण ११ बजे बोलाइएको स्थायी कमिटि बैठक केही पछि सुरु हुने बताइएको छ ।

बैठकमा सहभागी हुन पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र सचिवालयका पदाधिकारीहरुसहित अधिकांश स्थायी समितिका सदस्यहरु बालुवाटार परिसरमा पुगिसक्नुभएको छ ।

Share Now

Leave a comment.