काठमाडौं, ४ साउन । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०७७ । ७८ को वार्षिक नीति तथा कार्यक्रम आइतबार ३ बजे सार्वजनिक गर्दैछ।
बोर्डले वेबिनारमार्फत नीति तथा कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिएको छ ।
कार्यक्रम बोर्डको अफिसियल फेसबुक पेजमार्फत फेसबुक पेजको लिंक https://www.facebook.com/SebonOfficial/ मा लाइभ प्रशारण गर्ने बोर्डको तयारी छ।
विश्वब्यापी महामारीको रुप लिएको कोरोना भाइरस संक्रमण र त्यसबाट बच्न नेपालले अबलम्बन गरेको लकडाउनका कारण प्रभावित अर्थतन्त्रलाई गति दिन नेपाल राष्ट्र बैंकले निकैं ब्यबहारिक मौद्रिक नीति ल्याएको बेला धितोपत्रको बजारको विकास र नियमन गर्न स्थापित धितोपत्र बोर्डले ल्याउने नीति तथा कार्यक्रमप्रति पनि सरोकारवालाहरुले निकै चासो दिएका छन् ।
कमोडिटी बजार र ऋणपत्रको कारोबारलाई यस आर्थिक वर्षमा सक्रिय बनाइने नीति तथा कार्यक्रममा विशेष प्राथमिकतामा राखिएको बोर्ड अध्यक्ष डा भीष्मराज ढुंगानाले सार्वजनिक गरिसक्नुभएको छ।
त्यस्तै रियल सेक्टरलाई बुक बिल्डिङ विधिमार्फत पूँजीबजारमा यसै वर्षदेखि ल्याउन उपयुक्त कार्यक्रम ल्याइने बताइएको छ भने धितोपत्रको दोस्रो बजार विस्तार गरी कारोबारलाई ब्यापक बनाउने र सर्वसाधरणसंग रहेका सबै धितोपत्रलाई बजारको पहुँचमा पुर्याउनको लागि बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने नीति पनि यसपटक कार्यान्वयनमा आउने अपेक्षा गरिएको थियो ।
संघीय संसदको आर्थिक समितिले बैंकहरुलाई ब्रोकर लाइसेन्स दिन उपयुक्त हुने प्रतिवेदन संघीय संसदमा पेश गरिसकेको छ ।
सो प्रतिवेदनमा यसको निर्णय नियमन निकायबाट नै गरिनु उचित हुने जनाइएको छ ।
यसपटकको नीति तथा कार्यक्रममा यस्तै धितोपत्रसम्बन्धी विभिन्न ऐनमा सुधार ल्याउने, सेन्ट्रल केवाईसी लागू गर्ने धितोपत्रको कारोबार प्रणालीलाई पूर्ण अनलाइन बनाउने विषयहरु प्राथमिकतामा रहेको बताइएको छ ।
बोर्डले केही बर्षदेखि राष्ट्र बैंकले मौद्रिक नीति जारी गरेजस्तो धितोपत्र सम्बन्धी नीति र कार्यक्रम जारी गर्ने प्रचलन थालेको छ । यसले धितोपत्र बजारमा बर्षभरी गरिने कार्यक्रम सार्वजनिक भई धितोपत्र बजारमा स्थिरता ल्याउन सहयोग पुर्याउनुका साथै प्राथमिकताका आधारमा विश्वको धितोपत्र बजारमा भएका धितोपत्र उपकरण र प्रविधि तथा उत्पादनहरु नेपाली बजारमा ल्याउन पनि सहयोग पुर्याउदै आएको छ ।
यसले बोर्डलाई हरेक आर्थिक बर्षमा भएका कामकारबाहीको समीक्षा गर्ने अवसर पनि दिएको छ । धितोपत्रको बार्षिक नीति तथा कार्यक्रममा गत आर्थिक बर्षमा गरिएका कार्यहरुको समीक्षा र चालू आर्थिक वर्षमा गर्ने कार्यक्रमहरु समावेश हुन्छन्।


















