जेनेभा(स्वीजरल्याण्ड), ४ साउन (बीबीसी) । कोरोनाभाइरसको महामारी सुरु भएयता पहिलोपटक विश्वभरिको दैनिक थप सङ्क्रमितको सङ्ख्या अढाइ लाख नाघेको छ।
करिब २ लाख ६० हजार मानिस थप सङ्क्रमित भएको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ।
त्यसमा सबैभन्दा धेरै नयाँ सङ्क्रमितहरू अमेरिका, ब्रजिल, भारत र दक्षिण अफ्रिकामा पाइएका छन्।
मृतकको सङ्ख्यामा पनि कीर्तिमान
संसारभरि कोभिड १९ का कारण ज्यान गुमाउनेहरूको सङ्ख्या ६ लाख नाघेको छ।
त्यसको एक चौथाइ अमेरिकाका छन्।
एकैदिनमा संसारभरि मारिनेहरूको सङ्ख्या ७ संख्या ३ सय ६० पुगेको छ जुन मे १० तारिख यता भएको सबभन्दा धेरै दैनिक वृद्धि हो।
शनिवार कुल सङ्क्रमितहरूको सङ्ख्या १ करोड ४० लाख नाघेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ।
कहाँ धेरै वृद्धि ?
अमेरिकाका कैयन् राज्यहरूमा सङ्क्रमितको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ।
खासगरि सुरुमै कडा लकडाउन लागु गर्न तथा मास्क लगाउन आदेश दिन हिच्किचाएका दक्षिणी राज्यहरूमा अहिले धेरै सङ्क्रमण फैलिएको छ।
फ्लोरिडा, एरिजोना तथा टेक्ससमा धेरै बढेको छ। हाल फ्लोरिडा अमेरिकाभित्र सङ्क्रमणको केन्द्रविन्दु बनेको छ।
त्यहाँ शनिवार एकैदिन १० हजारभन्दा धेरै थप सङ्क्रमित पाइएका थिए।
त्यहाँ कुल सङ्क्रमितको सङ्ख्या सवा ३ लाख नाघेको छ भने ज्यान गुमाउने सङ्ख्या ५ हजार भन्दा धेरै छ।
त्यहाँका अस्पतालहरूले उनीहरूको सघन उपचार कक्ष उच्च क्षमतामा चलिरहेको र नयाँ बिरामी लिन नसक्ने अवस्थामा पुगेको बताएका छन्।
सङ्क्रमण रोक्न मास्क लगाउने विषयको अमेरिकामा राजनीतिकरण भएको छ।
अमेरिकाको सङ्क्रामक रोगका वरिष्ठ विज्ञ डा। एन्थोनी फाउचीले राज्य तथा स्थानीय नेताहरूलाई मास्क लगाउन कडिकडाउ गर्न शुक्रवार आग्रह गरेका थिए।
तर लगत्तै राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय तहमा मास्क लगाउने विषयलाई आफूले अनिवार्य नगराउने बताउनुभयो।
अमेरिकापछि दोस्रो स्थानमा ब्राजिल रहेको छ। त्यहाँपनि सङ्क्रमण रोक्न चालिने कदमहरूको अत्यन्तै राजनीतिकरण भएको थियो।
तेस्रो स्थानमा रहेको भारतमा सङ्क्रमण उच्च विन्दुमा पुग्न अझै महिनौँ लाग्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्।
धेरै प्रभावित मुम्बई तथा बंग्लुरुजस्ता शहरमा अस्पतालहरू अत्यन्त चापमा चलिरहेका छन्।
भारतमा बितेको २४ घण्टामा मात्रै थप ३४ हजार ८ सय ८४ सङ्क्रमित पाइएका थिए। यो अवधिमा ६ सय ७१ जनाले ज्यान गुमाएका थिए।
दक्षिण अफ्रिकामा दैनिक वृद्धिमा कीर्तिमान भइरहेको छ।
युरोपेली देशहरूमा बिस्तारै सङ्क्रमण नियन्त्रित हुँदै गर्दा स्थानीय स्तरमा भने कतिपय ठाउँमा सङ्क्रमण बढिरहेका छन्।


















