काठमाडौं,५ साउन । चीनको स्वशासित क्षेत्र तिब्बतको न्यालम काउण्टीमा रहेको ‘केरुङ च्छो’ ताल भरिएर कुनै पनि बेला फुट्ने हल्लाले सिन्धुपाल्चोकको भोटेकोशी नदी किनारका बस्तीमा आतंक फैलिएको छ ।
न्यालम क्षेत्रमा अत्याधिक वर्षा भइरहेको केरुड. ताल भरिएकोले कुनै पनि बेला फुट्नसक्ने जोखिम बढेको खबर चीनको समकक्षी दोभाषेहरुले दिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभएको छ ।
![]()
न्यालम काउण्टीका प्रशासकहरुले भोटेकोशी किनारका बस्तीहरुका बासिन्दाहरुलाई सुरक्षित स्थानमा सारिरहेकोले नेपालले पनि आफ्ना नागरिकहरुलाई सुरक्षित गराउन पहल थालिहाल्नु पर्ने प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभएको छ ।
जिल्ला प्रशासनले आफ्नो संयन्त्रमार्फत न्यालमको केरुड. ताल फुटेमा भोटेकोशी नदीमा आकस्मिक बाढी आएर नदी किनारको बस्तीमा ठूलो क्षति पुर्याउने भएकोले सुरक्षित स्थानमा सर्न द्रुत सञ्चारका माध्यमबाट सूचना जारी गरिरहेको छ ।
जिल्ला प्रशासनले नदी किनारका बस्तीका नागरिकलाई सुरक्षित ठाउँमा सार्न जिल्ला विपद् व्यवस्थापन समितिलाई निर्देशन समेत दिएको छ ।
बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले यसबर्षको बाढी र पहिरोबाट पटकपटक निशानामा पर्दै आएका आफ्ना नगरका नदी आसपासका बासिन्दालाई सडकभन्दा माथितिर आएर बस्न आह्वान गरिएको बताउनुभएको छ ।

उहाँले न्यालममा रहेको केरुङ च्छो (दूधपोखरी)फुट्यो भने कल्पना गर्न नसकिने क्षति हुने र सबैभन्दा बढी क्षति बाह्रबिसेमा हुने भएकोले सबैलाई सुरक्षित स्थानमा सर्न सुझाव दिइएको बताउनुभएको छ ।
उहाका अनुसार तातोपानी नाकाबाट ६ घण्टाको पैदल यात्रमा सो ताल क्षेत्रमा पुग्न सकिन्छ । सो पोखरीमा प्राय ठूलो छाल आउने गरेको बताइन्छ ।


















