काठमाडौं, ५ साउन । लडडाउन संगै बन्द भएका नियमित राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाई सेवा सरकारले आउदै भदौ १ गतेदेखि सुचारु गर्र्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक तथा अन्तरराष्ट्रिय उडान खुल्ला गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद्ले उडान सम्बन्धी आवश्यक तयारी तथा प्रोटोकल (कार्यविधि) बनाउने जिम्मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दिएको छ ।
पर्यटन मन्त्रालयले आन्तरितर्फको नियमित उडान सेवा साउन २१ गतेदेखि र अन्तरराष्ट्रिय तर्फको नियमित उडान सेवा भदौ १ देखि सुचारु गर्ने प्रस्ताव लगेको थियो तर मन्त्रिपरिषद्ले दुवै सेवा एकैसाथ सञ्चालन गर्ने निर्णय गरेको हो ।
नेपालका आन्तरिक उडान गर्ने वायुसेवा कम्पनीहरुले नियमित उडान सञ्चालन गर्न पूर्वतयारी गरिसकेका छन् । उनीहरुले आफ्नो सेवा सुचारु गर्न अझै तीन हप्ताभन्दा बढी समय प्रतीक्षा गर्नुपर्ने भएको छ ।
देशमा बाढी पहिरोका कारण सडक यातायात सञ्चालन गर्न कठिन भएकोले आन्तरिक तर्फको नियमित हवाई सेवा अन्तर्राष्ट्रियभन्दा एकहप्ता पहिले खोल्नु ब्यबहारिक पनि हुने अवस्था थियो ।
अन्तराष्ट्रिय उडान आरम्भ नहुँदा विदेशबाट आउने यात्रुमार्फत आउन कोरोनाभाइरस संक्रमण आउने संभावना हुँदैनथ्यो भने देशभित्र अत्यावश्यक काममा जानपर्ने नागरिकले भरपर्दो सेवा पाउने थिए ।
कोरोना भाइरस संक्रमणको आन्तरिकभन्दा बाह्य त्रास अधिक रहेकोले यात्रुहरुबीच भौतिक दूरी कायम राख्ने, सुरक्षित यात्राको लागि यात्रापूर्व कोरोना भाइरसको संक्रमणको परीक्षण गर्ने र यात्रुहरुका लागि स्यानिटाइजर, माक्स र अन्य सुरक्षित सामग्री उपलब्ध गराउन पर्ने , संक्रमणमुक्त यात्रुहरुलाई मात्र यात्रा अनुमति दिने लगायतका कामहरु गर्नुपर्ने भएकोले आन्तरिक र अन्तर्राष्ट्रिय उडान दुवैतर्फको भाडा दर पुन निर्धारण गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।


















