वाशिंटन डीसी(संयुक्त राज्य अमेरिका), ८ साउन (बीबीसी) । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी सहरहरूमा सङ्घीय सुरक्षा अधिकारीहरूलाई पठाउन लाग्नुभएको छ।
विभिन्न सहरमा हिंसा भड्किरहेका बेला रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति बन्नुभएका ट्रम्पले शिकागो र अन्य दुई डेमोक्र्याटिक पार्टीका नेताहरूले चलाएका सहरमा संघीय सुरक्षा अधिकारीहरू पठाउन लाग्नुभएको हो ।
तर यसअघि पोर्टल्याण्ड ओरेगनमा गरिएको संघीय सुरक्षा अधिकारीको परिचालन विवादास्पद बनेको थियो।
पोर्टल्याण्डका स्थानीय अधिकारीहरूले संघीय सुरक्षा अधिकारी परिचालन गरिएपछि त्यसले जातिवाद विरोधी प्रदर्शनकामाझ तनाव निम्त्याएको बताएका छन्।
चुनावी अभियानको एउटा हिस्सा
आलोचकहरूले भने ट्रम्पको यस्तो कदम पुनः निर्वाचित हुनका लागि चुनावी अभियानको एउटा हिस्सा भएको बताएका छन्।
अमेरिकाका महान्यायाधिवक्ता जेनेरल विलियम बारले मिजुरीको क्यान्जस सीटीमा करिब २ सय सुरक्षा अधिकारीहरू पठाइएको बताउनुभएको छ।
बुधवार सङ्घीय सुरक्षा अधिकारी पठाएको विषयमा ट्रम्पले घोषणा गर्दा महान्यायाधिवक्ता बार पनि सँगै हुनुहुन्थ्यो ।
बारले क्यान्जस सिटीमा पठाएकै सङ्ख्यामा सुरक्षा अधिकारीहरूलाई शिकागो र करिब ३५ जनालाई न्यू मेक्सिको पठाइने बताउनुभयो।
गत मे महिनामा एकजना निहत्था अश्वेत पुरुष जोर्ज फ्लोइडको प्रहरी हिरासतका क्रममा मिनेसोटा राज्यमा मृत्यु भएपछि त्यसयता अमेरिकाका थुप्रै सहरहरूमा प्रदर्शनहरू हुँदै आएका छन्।
यसैबीच, न्यूयोर्क, फिलडेल्फिया, लस एन्जलस, सिकागो र मिलवाकीमा बन्दुकजन्य हिंसाका घटना बढेका छन्।
सेना परिचालनतस्बिर स्रोत,च्भ्ग्त्भ्च्क्
आरोप
मङ्गलवार राति, सङ्घीय अधिकारीहरूले लगातार ५४ रातदेखि प्रदर्शनहरू भइरहेको पोर्टल्याण्डमा प्रदर्शनकारीमाथि अश्रुग्यास र अन्य तितरबितर बनाउने सामग्रीहरू प्रयोग गरेका थिए।
सङ्घीय अदालतबाहिर भेला भएका सयौंको सङ्ख्याका प्रदर्शनकारीहरूलाई तितर(बितर बनाउने प्रयासमा अधिकारीहरूले ती सामग्रीको प्रयोग गरेका थिए।
चिन्ह नभएको गाडीहरू ओरेगनको ठूलो सहर वरपर चलाएको आरोप ती अधिकारीहरूमाथि छ।
उनीहरूले मनोमानी ढङ्गले प्रदर्शनकारीहरूलाई पनि पक्राउ गरेका थिए।
शिकागोकी मेयर लोरि लाइटफुटले मङ्गलवार स्थानीय प्रहरीलाई बल पुर्याउन संघीय सुरक्षा अधिकारीहरू परिचालन गरिने पुष्टि गर्नुभयो ।
‘हामी यो साझेदारीको स्वागत गर्छौं, तर हामी तानाशाहको भने स्वागत गर्दैनौँ ‘,एउटा पत्रकार सम्मेलनमा लाइटफुटले भन्नुभयो ।
तर उहाँले पोर्टल्याण्डम जस्तै सिकागोमा सङ्घीय अधिकारीहरूले कार्यनीति चाल्न नहुने भन्दै चेतावनी दिनुभयो।
‘हिंसात्मक आचरण’
ट्रम्पले प्रायस् शिकागोमा हुने बन्दुकजन्य हिंसाको महामारीको कुरा उठाउँछन् र बुधवार पनि उहाँले त्यो विषय दोहोर्याउनुभयो।
‘हिंसात्मक आचरणले हाम्रो देशको अन्तस्करणलाई चकित पार्छ’, उहाँले भन्नुभयो।
हालै शिकागोमा भएको घटनामा कम्तीमा १५ जना मानिसलाई एउटा अन्त्येष्टी गृहको बाहिर बन्दुक हानिएको थियो।
क्यान्जस सीटीमा पनि सङ्घीय सुरक्षा अधिकारीलाई परिचालन गरिएको थियो।
ट्रम्पको भनाइ
जुन महिनामा आफ्नो घरमा सुतिरहेका एक चार वर्षीय बालकको अनुहारमा बन्दुक हानी हत्या गरिएको थियो।
ट्रम्पले कानुन कार्यान्वयन गराउने सङ्घीय कारबाही तिनै बालकको नामबाट राखिएको बताए।
सुरक्षा अधिकारी परिचालन गर्ने घोषणा ट्रम्पले गर्दा ती बालककी आमा पनि सँगै थिइन्।
‘कुनै पनि राजनीतिज्ञले आफ्नो सहर सुरक्षित राख्न अस्वीकार गरेका कारण वा छिमेकमा सुरक्षाको व्यवस्था गर्न नसकेका कारण कुनै पनि आमाले मृत बच्चा आफ्नो हातमा लिनुपर्ने अवस्था आउनु हुँदैन’, राष्ट्रपति ट्रम्पले भन्नुभयो ।


















