Prakash Adhikari July 23, 2020

 

काठमाडौं, ७ साउन । स्थापनाको एक दशक पूरा गरेको मेगा बैंकले यसै बर्ष मेगा टिक र मेगा बजार जस्ता नयाँ सेवा थालनी गर्ने भएको छ ।

बैंक सञ्चालनको १० बर्ष पूरा भएर ११ बर्ष लागेको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले यो जानकारी दिनुभएको हो ।

कार्यक्रममा बैंकका अध्यक्ष भोजबहादुर शाहले ग्राहकहरुलाई प्रविधि मैत्री सेवा दिन र बैंकको पूँजी आधार दरिलो बनाउन उपयुक्त बैंक तथा वित्तीय संस्थालाई मर्जर र प्राप्तिका लागि ढोका खुल्लै रहेको बताउनुभएको थियो ।

२८ औं बाणिज्य बैंकको रुपमा स्थापित मेगाले यस बीचमा पश्चिमाञ्चल विकास बैंक र टुरिजम डेभलपमेन्ट बैंकसँगको मर्जर सम्पन्न गरेको छ भने गत महिना मात्रै गण्डकी विकास बैंकलाई प्राप्ति गरेको छ ।

कार्यक्रमलाई संबोधन गर्दै अध्यक्ष शाहले स्थापनाको एक दशकमा मेगा बैंकले गरेको प्रगतिले आफूलाई गौरवान्वित बनाएको उल्लेख गर्दै यसका लागि बैंकप्रति अटुट विश्वास गर्ने ग्राहक, संस्थापक, शेयरधनी, सञ्चालक समिति, नियामक निकाय, कर्मचारीवर्ग र अन्य सरोकारवालाहरुप्रति आभार व्यक्त गर्नुभयो ।

कार्यक्रममा मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले एक दशकको छोटो अवधिमा नै मेगा बैंक विभिन्न रणनीतिक निर्णय र व्यावसायिक योजनाहरुको प्रभावकारी कार्यान्वयनका कारण देशकै अग्रणी बन्न सफल भएको बताउनुभयो।

२८ औं बाणिज्य बैंकको रुपमा स्थापित बैंक १० औं बर्षमा आइपुुग्दा चुक्ता पुँजीका हिसाबले छैटौं स्थानमा र व्यावसाय (निक्षेप तथा कर्जा) का आधारमा १२ औं स्थानमा रहेको छ।
२०७७ आषाढ मसान्तसम्ममा मेगा बैंकको कुल निक्षेप करिब १ खर्ब ३२ अर्ब र कुल कर्जा करिब १ खर्ब १४ अर्ब रहेको छ।

मेगा बैंकले १ हजार ८ सयभन्दा बढी कर्मचारीबाट देशभरका ५८ जिल्लामा फैलिएका २ सय ६ शाखा सञ्जालमार्फत ११ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ।

१० औं वर्षको अवधिमा आइपुग्दा बैंकले आफ्नो सञ्चालन खर्च तथा कोषको लागतलाई न्यूनतम राखी आधारदरलाई ८.३२ प्रतिशतमा कायम राख्न सफल भएको छ। जसले गर्दा कोभिड १९ को महामारी र बन्दाबन्दीको मारमा परेका कर्जा ग्राहकवर्ग र नयाँ व्यावसाय विस्तार गर्ने तयारीमा रहेका ग्राहकलाई मेगा बैंकले सस्तो ब्याजदरमै बिभिन्न किसिमका कर्जा उपलब्ध गराउने भएको छ।

यसैगरी १० औं वार्षिकोत्सवको अवसरमा मेगा बैंकले ‘मेगा टीक बैंकिङ’ तथा ‘मेगा बजार’ जस्ता अन्यन्तै नवीनतम र आकर्षक डिजिटल बैंकिङ सेवा आरम्भ गर्ने भएको छ। आधुनिकीकरण र प्रविधिकरणलाई आत्मसात गर्दै ल्याइएको यी सेवाहरुले सेवाग्राहीलाई अत्याधुनिक बैंकिङ सेवाका साथै आफ्नो व्यावसाय प्रबद्र्धन गर्न मद्दत गर्ने मेगा बैंकले विश्वास लिएको छ।

बैंक स्थापनाको १० औं वर्षलाई विशेष बर्षका रुपमा मनाउन लागिएको बताउदै प्रमुख कार्यकारी अधिकृत खुञ्जेलीले बार्षिक क्यालेन्डर बनाएर बर्षभरि नै संस्थागत सामाजिक उत्तरदायित्वलगायत अन्य विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने योजना बनाइएको जानकारी दिनुभयो । ‘बैंकको सफलताको श्रेय अझ बढी ग्राहक र सर्वसाधारण जनतामा रहेको मनन गर्दै वर्षभरि नै उहाँहरुलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रम गरेर १० औं बार्षिकोत्सव मनाउने योजनामा छौँ’, उहाँले भन्नुभयो।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यसअघि नै ‘एक शाखा–एक छोरी छात्रवृत्ति’ कार्यक्रमअन्तर्गत बैंकका शाखाहरुबाट एक–एकजनाका दरले १ सय १ जना छात्राहरुको शिक्षाका लागि आर्थिक एवं शैक्षिक सामग्री सहयोग गरेकोमा सोही छात्राहरुको यस बैंकमा बचत खाता खोली बैंकका तर्फबाट प्रत्येक छात्राको खातामा १/१ हजार रुपैयाँ जम्मा गरी आर्थिक सहायता गर्ने घोषणा गरेको छ।

छात्राहरुमा सानै उमेरदेखि बैंकमा बचत गर्ने बानीको पनि विकास होस भन्ने उद्देश्यले बैंकका तर्फबाट १/१ हजार जम्मा गर्ने गरी बचत खाता खोली दिन लागेको मेगा बैंकले जनाएको छ।

Share Now

Leave a comment.