Prakash Adhikari July 24, 2020

 

काठमाडौं, ९ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विश्वब्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणबाट नेपाललाई जोगाउन सरकारले अपनाएको लकडाउनको सुरु र अन्त्य दुवै आवश्यक पूर्वतयारी बिना भएको आरोप लगाउदै आउन सक्ने प्रतिकूल स्थितिबाट जोगिन सुरक्षा सावधानीमा ध्यान दिन सरकार र आम नागरिकसंग अनुरोध गरेको छ ।

नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमणको अनुगमन गर्न बनाएको समितिको तर्फबाट शुक्रबार आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक तथा सहमहामन्त्री तथा डा. प्रकाशशरण महतले भन्नुभयो, ‘मूलभूत रुपमा सरकारका हरेक निर्णयहरु हठात र तयारीरहित देखिन्छन् । लकडाउनको लामो अवधि विना तयारी र विना उपलब्धि नै सरकारले सकायो । अहिले लकडाउन खोल्दा पनि बढ्न सक्ने संक्रमण प्रति सरकारको तयारी शून्य देखिन्छ ।’

नेपाली कांग्रेसले लकडाउन खोल्ने निर्णय गर्दा पनि सार्वजनिक स्थल, होटल, रेष्टुरेन्ट, कार्यालय, कलकारखाना व्यवसाय, शैक्षिक संस्थाहरु, सार्वजनिक यातायातहरुमा अपनाउनु पर्ने सुरक्षा प्रोटोकल र कार्यान्वयन गर्ने तयारीका बारेमा सरकार मौन रहेको आरोप लगाएको छ ।

कांग्रेसले भनेको छ, सरकारको लकडाउन खोल्ने निर्णय पूर्व तयारीका साथ गरेको नभएर राजश्व बढाउने तथा राज्यले निर्वाह गर्नु पर्ने दायित्वबाट पन्छिने उद्देश्यबाट मात्र प्रेरित भएको देखिन्छ ।

आर्थिक–सामाजिक जीवन सहज होस र आर्थिक गतिविधि बढोस् तर संक्रमणको जोखिम घटोस् भन्ने नेपाली कांग्रेसको चाहना रहेको जनाउदै सरकारको ध्यानाकर्षण पनि गराएको छ ।

कांग्रेसले संक्रमणको क्रम नघटेको, वीरगञ्ज, राजविराज लगायतका ठाँउहरुमा देखिएको संक्रमणको प्रकृतिले, संक्रमण समुदायमा फैलिन सक्ने जोखिम देखिएको बताउदै भनेको छ,यस्तो अवस्थामा परिक्षण, ट्रेसिङ, उपचार, स्वास्थ्य उपकरण, जनशक्ति र स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षा र सुविधा प्रति सरकारको तयारी अत्यन्त निराशाजनक छ ।

लकडाउन खोलेपछि उद्योगधन्दा, व्यापार व्यवसाय, सार्वजनिक यातायात, शैक्षिक संस्थाहरुमा अपनाउनु पर्ने स्वास्थ्य सुरक्षा र सावधानीका उपायहरु (पिपीई , मास्क, स्यानिटाइजर, सावुन पानी लगायत) को प्रयोग र भौतिक दूरी कायम गराउने कार्ययोजना र कार्यान्वयन तयारीतर्फ सरकार गम्भीर नदेखिएको आरोप पनि कांग्रेसले लगाएको छ ।

नेपाली कांग्रेसको पटक–पटकको ध्यानाकर्षणको वावजुद होल्डिङ सेन्टर, क्वारेन्टाइन केन्द्रहरुलाई मापदण्ड अनुरुप संचालन गर्ने र परिक्षणको दायरा फराकिलो पार्नु पर्ने आवश्यकतालाई सरकारले गम्भीरताका साथ नलिएको बताउदै परिक्षणको दायरा घटाएर संक्रमणको जोखिम कम भएको भ्रामक प्रचार गरिरहेको आरोप पनि उसले लगाएको छ ।

सरकारले मुलुकमा उद्योगधन्दा र खासगरी साना, मभ्mयौला र अनौपचारिक क्षेत्रका व्यवसायमा कोभिड–१९ ले सिर्जना गरेका समस्या समाधानमा केही नीतिगत घोषणा बाहेक बन्द उद्योग व्यवसायलाई सहज रुपमा खुलाउन कुनै सार्थक पहल गरेको नगरेको उल्लेख गर्दै कांग्रेसल अहिलेकै जस्तो अव्यवस्थित र पर्याप्त स्वास्थ्य सुरक्षा सावधानीबिनै उद्योग व्यवसाय सञ्चालन गर्दा थपिने संक्रमण र नागरिक जीवनमाथि आइपर्ने जोखिम सम्बोधन गर्न पनि सरकारको ध्यानाकर्षण हुनुपर्ने जनाएको छ ।

लकडाउन खोल्ने निर्णय गरेपछि आम नागरिकहरुलाई संक्रमणको खतरातर्फ सचेत गर्न आवश्यक सचेतना अभियान चलाउने र कार्यान्वयन सुनिश्चिततातर्फ सरकारले गम्भीर गृहकार्य नगरेकोमा पनि कांग्रेसले सरकारलाई खबरदारी गरेको छ।

Share Now

Leave a comment.