Prakash Adhikari July 24, 2020

 

काठमाडौं, ९ साउ(बीबीसी) । नेपालमा थप १ सय ३३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ भने कोरोनाको संक्रमणमा परेर थप एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार शुक्रवार अपरान्हसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १८ हजार ३ सय ७४ पुगेको छ।

आज थपिएका एक सहित अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट ४४ जनाको मृत्यु भएको हुन गएको छ।

मन्त्रालयका अनुसार कोभिड १९ पुष्टि भएका मानिसमध्ये अहिलेसम्म १२ हजार ९ सय ४७ रोगमुक्त भएका छन्।

अधिकांश सङ्क्रमितमा रोगको लक्षण नै नदेखिएको तर पीसीआर परीक्षणमा कोरोनाभाइरस पाइएको सरकारको भनाइ छ।

Image

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले सङ्क्रमण भएका कुल ५ हजार ३ सय ८३ व्यक्ति देशभरि आइसोलेशनमा छन्। केही स्थानमा सङ्क्रमितहरूलाई घरमै अलग्ग बस्ने अनुमति पनि दिइएको छ।

गत असार १९ गते सर्वाधिक ७ सय ४० जनामा सङ्क्रमण पुष्टि भएको थियो। त्यसपछि दैनिक पुष्टि हुने सङ्क्रमितको सङ्ख्या घटिरहेको छ।

मन्त्रालयले मङ्गलवार १ सय ५०, बुधवार १ सय र बिहीवार १ सय ४७ जनामा सङ्क्रमण पुष्टि भएको विवरण दिएको थियो।

केही सातादेखि भारतबाट घर फर्किने मानिसको सङ्ख्या ह्वात्तै घटेको बताइन्छ। त्यसो हुँदा क्वारन्टीनमा चाप घटेको र परीक्षणको सङ्ख्या कम हुँदा सङ्क्रमित फेला पर्ने क्रम पनि घटेको सरकारको भनाइ छ।

कोरोनाभाइरस
को हुन् मृतक ?

शुक्रवार बिहान मृत्यु भएकी व्यक्ति पर्साकी ८५ वर्षीया महिला भएको मन्त्रालयले जनाएको छ।

मुटुको समस्याबाट पीडित ती वृद्धामा स्वास्थ्यसम्बन्धी अरू समस्या देखिएपछि केही दिनअघि स्थानीय अस्पतालमा भर्ना गरिएको थियो।

उपचारका क्रममा कोरोनाभाइरस सङ्क्रमणको लक्षण देखिएको र नमुना सङ्कलन गरी परीक्षण गर्दा उनमा कोभिड १९ पुष्टि भएको गण्डकस्थित अस्थायी कोभिड अस्पतालका डा. उदय नारायण सिंहले बताएका छन्।

उनलाई बुधवार आइसोलेशनमा राख्न उक्त अस्पतालमा सारिएको थियो। उनमा निमोनिया पनि देखिएको थियो।

को हुन् सङ्क्रमित ?

अहिले पुष्टि भएका सङ्क्रमितहरू विभिन्न जिल्ला हुन्।

तीमध्ये पर्सा जिल्लामा ३२ जना छन्।

Image

पर्साको स्थिति के छ ?

वीरगन्जस्थित बीबीसी संवाददाता माधुरी महतोका अनुसार नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि हुनेमध्ये प्रहरी हिरासतमा रहेका पाँच थुनुवा पनि छन्।

थुनुवामा सङ्क्रमण देखिएपछि वडा प्रहरी कार्यालय श्रीपुर सील गरिएको छ।

यसअघि बुधवार एक वृद्धमा मरणोपरान्त र दुई चिकित्सकसहित १७ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

जिल्लामा सङ्क्रमित थपिने क्रम नरोकिएकाले जिल्ला प्रशासन कार्यालयले शनिवार बिहान ५ बजेदेखि पर्सामा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ।

Share Now

Leave a comment.