Prakash Adhikari August 6, 2020

 

काठमाडौं, २२ साउन । राष्ट्रिय सभाका विषयगत समितिहरुको सभापतिका लागि भएको मनोनयनमा एक एक जनाको मात्र उम्मेद्वारी परेको छ । यो संगै चारै जना उम्मेद्वार निर्विरोध निर्वाचित हुनुहुने भएको छ ।

बिहिवार बिहान ११ बजेदेखि ४ बजेसम्म तोकिएको उम्मेदवारी दर्ताको समयमा हरेक समितिमा सहमतिका आधारमा एकएक जनाले उम्मेद्वारी दिनुभएको थियो । उम्मेद्वारी दिनुहुने सबै संबन्धित समितिका निवर्तमान सभापतिहरु नै हुनुहुन्छ ।

नेपाली कांग्रेस र सत्तारुढ नेकपाका बीचमा राष्ट्रिय सभामा दुई बर्ष काम गरेका अनुभवी सांसदहरुलाई नै पुन अर्को एकपटक नेतृत्व गर्ने अवसर दिदा उचित हुने सहमति बनेपछि निवर्तमान सभापतिलाई उमेद्वारी दिन लगाइएको हो ।

सहमति अनुसार नै राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण विडारी, दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट र विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङको उम्मेदवारी दिनुभएको छ।

सबै समितिका सभापतिहरु निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा शुक्रबार बस्ने सम्बन्धित समितिको बैठकबाट हुने संघीय स‌ंसद सचिवालयले जनाएकोछ ।

राष्ट्रिय सभाका विषयगत समितिका सभापति र समिति सदस्यको कार्यकाल दुई वर्ष रहने व्यवस्था छ ।

हरेक २ वर्षमा एक तिहाइ राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिने र ती ठाउँमा निर्वाचन हुने भएकाले नयाँ सांसद आएसँगै समिति पुनर्गठन गरी सभापतिहरुको निर्वाचन गर्ने व्यवस्था नियमावलीमा गरिएको छ।

राष्ट्रिय सभाको गठन फागुनमा भएको र हरेक दुई बर्षमा एक तिहाई सांसदहरुको पदावधि सकिन गई सो स्थानमा निर्वाचित वा मनोनित भएर नयाँ सांसद आएलगत्तै फागुनमै समितिहरुको पुनर्गठन गरी सभापतिको निर्वाचन गर्न पनि राष्ट्रिय सभाका सांसदहरुले माग गरेका छन् ।

Share Now

Leave a comment.