काठमाडौं, २२ साउन । नेपाली कांग्रेसका पदाधिकारी र वर्तमान कार्य समितिका छानिएका नेताहरुबीच सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकमा पार्टीको क्रियाशील सदस्यता छानविन समिति गठन गर्ने एजेन्डा केन्द्रीय समिति बैठकमा लैजाने विषयमा सहमति कायम भएको छ ।
कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले बताए अनुसार अब बस्ने केन्द्रीय समिति बैठकले क्रियाशील सदस्यता छानविन समिति गठन गर्ने सम्बन्धमा छलफल गरी निर्णय गर्नेछ ।
आजको बैठकमा क्रियाशील सदस्यता वितरण, आन्तरिक समायोजनका कामलगायतमा प्रगति विवरण सुनाइएको थियो।
बुढानिलकण्ठस्थित पार्टी सभापतिको घरमा भएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन घोषणा भइसकेको अवस्थामा महाधिवेशनको निर्वाचनलाई प्रभावित गर्ने ढंगले भातृ संगठनको म्याद विधान विपरीत हुकुमी शैलीमा थप्ने, निर्वाचित कार्यसमितिको स्वभाविक म्याद सकिएर महाधिवेशनको कार्यतालिका सार्वजनिक भैसकेपछि ४७ विभागमा संयोजक र सदस्यहरु मनोनित गर्ने जस्ता कार्य गरेकोमा जमेर विरोध गर्नुभएको थियो ।
जवाफमा देउवाले आफू सहमतिबाटै विभाग र समितिहरु गठन गर्न इच्छुक भएकोले बिलम्ब हुन गएको तर्क दिनु भएको थियो ।
उहाँले पटकपटक नाम माग्दा नदिएकोले विलम्ब भएको भनेर अपजसको भारी पौडेलको थाप्लोमा सार्न खोज्नुभएको थियो ।
पार्टी सभापति देउवाले ४७ मध्ये २० विभाग प्रमुख नियुक्त गरिसक्नुभएको छ। केही दिन पहिले ४ सय ७९ सदस्यीय जेष्ठ राजनीतिज्ञ सभा गठन गरेर उहाँले निर्वाचनमा आफनो पक्षमा माहोल सिर्जना गर्न नै विभाग र समितिहरु गठन गरिएको सन्देश दिनुभएको छ ।
पार्टीको क्रियाशील सदस्यता वितरण,नवीकरण र सम्पूर्ण निकायको निर्वाचन गर्ने चटारोका बीचमा मेचीदेखि महाकालीसम्मका कांग्रेसका ज्येष्ठ नेताहरु समेटिएको यो सभाको बैठक महाधिवेशन हुनेदिनसम्म हुन सक्ने कुनै संभावना देखिदैन् । सभापति देउवाको यो चुनावमुखी दाउपेचको पौडेलले विरोध गर्नुभएको थियो ।
बिहिबारको अनौपचारिक बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले विभिन्न ९ एजेन्डा प्रस्तुत गर्नुभएको थियो। वरिष्ठ नेता पौडेलले विभाग, भातृ संगठनका म्याद थप, क्रियाशील सदस्यता वितरणमा पारदर्शीता लगायत विषयबारे आफ्ना कुरा राख्नुभएको थियो ।।
वरिष्ठ नेता पौडेलले कुनै पनि बाहानामा महाधिवेशन सार्न नसकिने बताउनुभएको थियो भने देउवाले महाधिवेशन फागुनमै गर्ने विश्वास दिलाउनुभएको थियो ।
आजको बैठकमा कांग्रेसका वर्तमान र पूर्वपदाधिकारीहरू तथा पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिवसहित सचिवहरू उपस्थित रहेका थिए।


















