काठमाडौं, २३ साउन । आगामी भदौ १ गतेदेखि लामो दूरीका सार्वजनिक यातायात, विद्यालय तथा शैक्षिक संस्था र अन्तर्राष्ट्रिय हवाई उडान खुल्ने संभावना झिनो हुँदै गएको छ ।
सरकारका प्रवक्ता समेत रहनुभएका सुचना तथा सञ्चार प्रविधि र अर्थ मन्त्री डा. युवराज खतिवडाले बिहिबार दिनु भएको अभिव्यक्तिले यी क्षेत्रमा थप केही अवधि प्रतिबन्ध कायम रहने संकेत गरेको छ ।
मन्त्रिपरिषद्ले अघिल्लो हप्ता गरेको निर्णयका बारेमा जानकारी दिन आयोजित औपचारिक पत्रकार सम्मेलनमा मन्त्री डा. युवराज खतिवडाले भन्नुभयो, “संक्रमितको संख्या बढ्दै गएकाले तत्कालै सार्वजनिक यातायात, विद्यालय वा अन्तर्राष्ट्रिय उडान खुल्ला गर्ने अवस्था भने आईसकेको छैन । जोखिम बढेकाले तत्काल नखोलौं भन्ने आवाज पनि आइरहेको छ ।”
प्रवक्ता डा. खतिवडाले भदौ १ गतेबाट खोल्ने भनिएका लामो दुरीका यातायात, अन्तर्राष्ट्रिय उडान लगायतका विषयमा पुनर्विचार हुनसक्ने संकेत पनि दिनुभएको छ । यस बिषयमा सीसीएमसीको बैठकमा समीक्षा गरेर त्यही अनुसार मन्त्रिपरिषद्ले निर्णय लिने मन्त्री खतिवडाको भनाई छ ।

तर कोरोना संक्रमण मन्दै हुँदै गएको बेला दुई साता अगाडि बसेको मन्त्रिपरिषद्को बैठकले भदौ १ गतेदेखि, लामो दूरीका सार्वजनिक सवारी साधन चालउन दिने, विद्यालयहरुमा भर्ना लिने र शैक्षिक गतिविधि सञ्चालन गर्ने तथा आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान पुन सञ्चालन गर्ने निर्णय गरेको थियो ।
“जोखिम बढ्दैछ त्यसैले सार्वजनिक यातायात वा अत्यावश्यक बाहेकका अन्तर्राष्ट्रिय उडान तथा आन्तरिक उडान खोलिनहालौँ भन्ने आवाज आइरहेका छन्। हामी केही दिनभित्र कोरोनाभाइरस सङ्कट व्यवस्थापन समितिको बैठक बसेर यी विषयको समीक्षा गर्छौँ “, सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री युवराज खतिवडाले बिहिबार भन्नुभएको थियो।
पछिल्ला दिनमा बढेको जोखिमका कारण सरकारका सामु उदार भएर सेवा सञ्चालन गराउने अवस्था देखानपरेको मन्त्री खतिवडाले बताउनुभएको छ ।
उहाँले विगत केही सातायता विभिन्न देशमा अलपत्र परेका नेपालीहरूको उद्धार गरिएको उल्लेख गर्नुभएको थियो।
सुरुमा केही हजारभन्दाभन्दै करिब ४५ हजारको त्यसरी उद्धार भइसकेको र अझै थप ४५ हजार आउन चाहनेको सूची विभिन्न दूतावासमा रहेको उहाँले जानकारी गराउनुभएको थियो।
“सरकारको सोच के हो भने जो अलपत्रै पर्नुभएको छ र जसको उद्धारै गर्नुपर्नेछ वहाँहरूलाई ल्याउँछौँ। तर जो केही समय त्यहाँ बस्दा सुरक्षित नै हुनुहुन्छ र अलपत्रको स्थितिमा हुनुहुन्न भने वहाँहरूलाई स्थिति अलि सहज भएपछि ल्याउनु पर्ने गरि हामी छलफलमा छौँ “, उद्धारबारे सरकारको धारणा सार्वजनिक गर्दै मन्त्री डा. खतिवडाले भन्नुभएको थियो ।
देशव्यापी लकडाउन नहुने
चैत ११ गतेदेखि देशभरि लगाइएको लकडाउन भन्दा केही समय अगाडि देखि नै खासगरि नियमित अन्तर्राष्ट्रिय उडानहरू बन्द भएका हुन्।
देशव्यापी लकडाउन अहिले हटाइएको छ।
जोखिम बढ्दै गएपछि कतै फेरि लागु हुने त होइन भन्ने प्रश्नको जबाफमा बिहीवार मन्त्री खतिवडाले अहिले सरकारले त्यस्तो नसोचेको बताउनुभयो।
आर्थिक स्वास्थ्य पनि उत्तिकै महत्त्वपूर्ण भएकाले सबैजनाले स्वास्थ्य मापदण्ड पालना गरिदिएमा असहज स्थिति नआउने उहाँले बताउनुभएको थियो।
साथै स्थानीय स्थिति हेरेर अहिलेपनि दुई दर्जनजति स्थानीय तहमा विभिन्न किसिमको लकडाउन लागु रहेको र आगामी दिनमा पनि परिस्थिति हेरेर स्थानीय निकायहरूले नै त्यस्ता कदम चाल्नसक्ने उहाँले बताउनुभयो।
साउन १९ गतेको १८ वटा निर्णय
सरकारले रुग्ण उद्योग सम्बन्धमा सुझाव लिन ५ सदस्यीय समिति गठन गरेको छ । साउन १९ गतेको मन्त्रिपरिषद् बैठकले रुग्ण उद्योग पहिचान, वर्गीकरण, पुनर्उत्थान, पुनर्निर्माण तथा व्यवस्थापनका लागि सरकारलाई सुझाव दिने गरी दिपक सुवेदीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले बिहीबार जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा सुशील भट्टलाई नियुक्त गर्ने, बेरुजु फर्छ्यौट मूल्यांकन र अनुगमन समितिको सदस्य सचिवमा रमा जोशी दुलाललाई दुई वर्षको लागि मनोनयन गर्ने लगायत १८ वटा निर्णय गरेको थियो ।
मन्त्रिपरिषद् बैठकका निर्णय




















