Prakash Adhikari August 7, 2020

बेरुत(लेबनान), २३ साउन(बीबीसी) । लेबनानको राजधानी बेरुतमा मङ्गलवार ठूलो विस्फोटन भएसँगै त्यहाँको नेतृत्वमा गहन परिवर्तनको आवश्यकता रहेको फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले बताउनुभएको छ।

तहसनहस भएको उक्त सहर भ्रमण गर्नुभएका माक्रोँले घटनाबारे अन्तर्राष्ट्रिय अनुसन्धान गरिनुपर्ने धारणा राख्नुभएको छ।

लेबनानका धेरै नागरिकहरूले भ्रष्टाचार, लापरवाही अनि व्यवस्थापकीय कमजोरी विस्फोटनको कारण रहेको बताएका छन्।

घटनामा १ सय ३७ जनाको मृत्यु भएको छ भने करिब ५ हजार घाइते भएका छन्।

राष्ट्रपति मीसेल आउनले असुरक्षित रूपमा राखिएको २ हजार ७ सय ५० टन अमोनियम नाइट्रेटका कारण विस्फोटन भएको बताउनुभएको छ।

सरकारी सञ्चार माध्यमका अनुसार अनुसन्धानका लागि भन्दै १६ जनालाई पक्राउ गरिएको छ।

सैन्य अदालतका एक जना सरकारी प्रतिनिधिका अनुसार विस्फोटन भएको बन्दरगाहका अधिकारी, मर्मत संहारमा खटिने कामदार र उक्त रसायन भण्डारण गरिएको गोदामका कामदार गरी १८ जनासँग सोधपुछ गरिएको छ।

माक्रोँको भनाई
लेबनान पुग्नुभएका पहिलो विश्वस्तरीय नेता माक्रोँले पछिल्लो घटनालाई उक्त देशको पछिल्लो सङ्कटको बिम्बका रूपमा व्याख्या गर्दै त्यहाँ नयाँ समझदारीको आवश्यकता रहेको बताउनुभएको छ।

लेबनानका लागि लगानी उपलब्ध रहेको तर त्यसका लागि नेताहरूले सुधारका कार्यक्रम लागु गर्नुपर्ने उहाँले बताउनुभएको छ।

सन् २००५ मा भएको पूर्व प्रधानमन्त्री रफिक हरिरिको हत्याको मुद्दामा फैसला आउनुभन्दा केही समय अगाडि उक्त ठूलो विस्फोटन भएको हो।

बेइरुतका बन्दरगाहका प्रमुख र भन्सार प्रमुख दुवैले स्थानीय सञ्चार माध्यमहरूलाई जनाए अनुसार सुरक्षाका लागि उक्त रसायन निर्यात गरिनुपर्ने वा बन्दरगाहको सुरक्षा सुनिश्चित गर्नका लागि बिक्री गर्नुपर्ने भन्दै उनहरूले न्यायिक निकायहरूलाई कैयौँ पत्र लेखेका थिए।

बन्दरगाहका महाप्रबन्धकले अदालतले उक्त रसायन गोदाममा भण्डारण गर्न आदेश दिँदा आफूहरूलाई त्यो खतरनाक हुन सक्छ भन्ने थाहा भएको तर यति विधि खतरा होला भन्ने भने नठानेको ओटीभीलाई बताएका थिए ।

प्रदर्शन
लेबनन
यसैबीच मङ्गलवार भएको ठूलो विस्फोटनको विरोधमा एउटा समूहले लेबननको राजधानी बेइरुतस्थित संसद् भवन नजिकै प्रदर्शन गरेको छ।

ढुङ्गा मुढा गर्दै पसलहरूमा तोडफोड अनि आगजनी गरेका ती प्रदर्शनकारीहरूलाई नियन्त्रण गर्न दङ्गा प्रहरीले अश्रु ग्यास प्रहार गरेको लेबननको सरकारी समाचार संस्थाले जनाएको छ।

कम्तिमा १ सय ३७ जना मारिएको उक्त विस्फोटनको कारण राजनीतिक नेतृत्वकर्ताहरूको लापरबाही, अनुचित व्यवस्थापन र भ्रष्टाचार रहेको धेरै सर्वसाधारणहरूले बताएका छन्।

अधिकारवादीहरूले शनिवार सरकार विरोधी प्रदर्शनको आह्वान गरेका छन्।

Share Now

Leave a comment.