नयाँदिल्ली(भारत), २९ साउन । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था गम्भीर भएकोले कोमामा राखिएको छ ।
हिन्दुस्तान टाइम्सले दिल्लीस्थित सैनिक अस्पताललाई उद्धृत गर्दै मुखर्जी कोमामा गएको उल्लेख गरेको छ ।
केही दिनदेखि अस्पतालमा उपचाररत मुखर्जीको ‘भाइटल प्यारामिटर’ भने स्थिर रहेको बताइएको छ । उहाँको स्वास्थ्य अवस्थामा सुधार नआएको र भेन्टिलेटरमै उपचार भएको पनि अस्पतालले जनाएको छ ।
पूर्वराष्ट्रपति मुखर्जीलाई सोमबार सैनिक अस्पतालमा भर्ना गरिएको थियो । मस्तिष्कको सर्जरी गर्नुभन्दा पहिले गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैबीच ‘मुखर्जीको मृत्यु’ भएको भन्ने अफवाहको परिवारले खण्डन गरेको छ । मुखर्जीको छोरी शर्मिष्ठा मुखर्जीले ट्वीट गर्दै भन्नुभएको छ, ‘मेरो बुवाबारे फैलाइएको हल्ला अफवाह हुन् । खासगरी मिडियालाई मलाई फोन नगर्न आग्रह गर्छु । अस्पतालबाट आउने सूचनाका लागि मैले फोन फ्रि राख्नुपर्ने हुन्छ ।’
Rumours about my father is false. Request, esp’ly to media, NOT to call me as I need to keep my phone free for any updates from the hospital🙏
— Sharmistha Mukherjee (@Sharmistha_GK) August 13, 2020
Former President Pranab Mukherjee remains critical. His daughter Sharmistha Mukherjee writes an emotional post. #pranabmukerjee https://t.co/L99ynMxmV2
— Pankaj Priyadershi (@BBCPankajP) August 12, 2020
त्यस्तै मुखर्जीका छोरा अभिजितले पनि ट्वीट गर्दै बुवा जीवितै रहेको बताउनुभएको छ । ‘मेरो बुवा प्रणव मुखर्जी जीवित हुनुहुन्छ । रक्तसञ्चारमा समस्या देखिएपछि उहाँको अवस्था स्थिर छ । केही सम्मानित पत्रकारबाटै सामाजिक सञ्जालमा अड्कलबाजी लगाउने र अफवाह फैलाउने कामबाट भारतका मिडिया फेक न्युजको फ्याक्ट्री बनिसकेको देखिन्छ’, अभिजितले ट्वीटमा लेख्नुभएको छ ।
My Father Shri Pranab Mukherjee is still alive & haemodynamically stable !
Speculations & fake news being circulated by reputed Journalists on social media clearly reflects that Media in India has become a factory of Fake News .— Abhijit Mukherjee (@ABHIJIT_LS) August 13, 2020
यसअघि अगस्ट १० मा मुखर्जी आफैंले ट्वीट गर्दै आफूलाई कोरोना पुष्टि भएको बताउनुभएको थियो । ‘अन्य प्रयोजनका लागि अस्पताल गएका बेला परीक्षण गराउँदा कोभिड-१९ पोजिटिभ देखियो,’ मुखर्जीले ट्वीटमा भन्नुभएको थियो । पूर्वराष्ट्रपति मुखर्जीले पछिल्लो साता आफ्नो सम्पर्कमा आएकाहरुलाई आइसोलेसनमा बस्न र कोभिड-१९ को परीक्षण गराउन समेत आग्रह गर्नुभएको थियो ।
मुखर्जी सन् २०१२ देखि सन् २०१७ सम्म भारतको राष्ट्रपति बनेका थिए ।


















