Prakash Adhikari August 13, 2020

काठमाडौं, २९ साउन । कोरोना भाइरसको संक्रमणबाट नेपालमा मर्नेहरुको संख्या ९५ पुगेको छ भने यस घातक भाइरसको संक्रमणमा परेकाहरुको संख्या २५ हजारको निकट पुग्न गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप ४ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको २२ महिलासहित सङ्ख्या ९५ पुगेको छ भने सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या २४ हजार ९ सय ५७ पुगेको छ।

मन्त्रालयको अनुसार बिहिबार थप ५ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार अहिले ८ हजार २५ जनामा सक्रिय सङ्क्रमण छ भने १६ हजार ८ सय ३७ जना भाइरसमुक्त भएका छन्।

गएको एक सातामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३५ छ।

क्वारन्टीन
सबैभन्दा धेरै सक्रिय सङ्क्रमित प्रदेश नं २ मा ३ हजार ५ सय ९९ जना र वागमती प्रदेशमा १ हजार ७ सय ३ जना रहेका छन्।

बिहीवार पुष्टि भएका सङ्क्रमितहरूमा सबैभन्दा धेरै काठमाडौं जिल्लाका १ सय ११ जना र मोरङ्गका ८८ जना रहेका छन्।

काठमाडौं उपत्यकाका ललितपुरमा ११ र भक्तपुरमा ५ सङ्क्रमित थपिएका छन्।

देशभरि सक्रिय सङ्क्रमितहरूमध्ये ४ सय ६६ जना घरमै आइसोलेसमा रहेको मन्त्रालयको तथ्याङ्क छ।

मृतक को हुन् ?

बिहीवार पुष्टि गरिएका चार मृतकहरूमा तीन पुरुष र एक महिला रहेका छन्।

क्षयरोग भएका महोत्तरीका ४५ वर्षीय पुरुषको साउन २५ गते, मुटुसम्बन्धी समस्या भएका अछामका १८ वर्षीय पुरुषको साउन २८ गते निधन भएको हो।

त्यस्तै धनुषाका ८५ वर्षीया महिला र मोरङ्गका मधुमेह एवम् उच्च रक्तचापबाट पीडित ५७ वर्षीय पुरुषको साउन २८ गते सङ्क्रमणका कारण निधन भएको मन्त्रालयले जनाएको छ।

स्वाब सङ्कलन
प्रदेश १ मा १ सय १५ सङ्क्रमित

प्रदेश १ मा बिहीवार १ सय १५ जना कोरोना सङ्क्रमित थपिएका छन् । त्यसमा ८३ जना पुरुष र ३२ जना महिला रहेका छन्।

सङ्क्रमितहरु मोरङ्गका ८८, सुनसरीका १९, इलामका ४, झापा र उदयपुरका १/१, प्रदेश १ बाहिरका जिल्लाका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

योसँगै प्रदेश १ मा सङ्क्रमितको सङ्ख्या १ हजार ६ सय २६ पुगेको छ। तीमध्ये ७ सय २५ जना सक्रिय सङ्क्रमित रहेका छन्।

सङ्क्रमणका कारण प्रदेश १ मा मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ। मृतक सबै मोरङ्ग जिल्लाका पुरुष हुन्।

कोरोनाभाइरस ब्यानर
के छ अरू तथ्याङ्क ?

गएको २४ घण्टामा ९ हजार ८ सय ५९ वटा पीसीआर परीक्षण गरिएको छ।

हालसम्म ४ लाख ८३ हजार ३८ जनाबाट सङ्कलित नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

सो अवधिमा १ सय ९ जना रोगमुक्त प्रमाणित भएका थिए।

अहिले देशभरि क्वारेन्टाइन १४ हजार ७ सय ६९ जना छन्।(बीबीसी)

Share Now

Leave a comment.