काठमाडौं, ३० साउन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष प्रधानमन्त्री के.पी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता सुरु भएको छ।
शुक्रबार बिहान सवा ११ बजेदेखि वार्ता जारी रहेको नेकपा अध्यक्ष प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटाले बताउनुभएको छ ।
नेकपाका दुई अध्यक्षबीच बिहिबार पनि वार्ता भएको थियो ।
झण्डै १० दिनको संवाहिनताको अन्त्य गर्दै बिहीबार भएको वार्तामा प्रधानमन्त्री ओलीका तर्फबाट पाँचै बर्ष आफूले सत्ता निर्वाध रुपमा चलाउन पाउनु पर्ने, कार्यकारी अध्यक्षलाई थप अधिकार दिइने, सरकार सञ्चालनमा भएका कमी कमजोरी सच्याइने जस्ता प्रस्ताव ल्याउनुभएको थियो।
तर एकापसमा उधारो पदको बाँडफाँटको लोभमा नफस्न आफ्नो टीमका शीर्ष नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपालले दिएको चेतावनीका कारण प्रचण्डले सो प्रस्तावमा कुनै जवाफ दिन सक्नुभएको थिएन ।
वार्ता सकिने बित्तिकै पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले काठमाडौंको थापागाउँमा आफूनिकट प्रदेश ५ का केन्द्रीय सदस्यहरुसँग कुराकानी गर्दै पार्टीभित्र देखिएको विवाद समधानका लागि प्रधानमन्त्री ओलीले तीन बुँदे प्रस्ताव ल्याएको जानकारी दिनुभएको थियो।
नेकपामा असार १० गतेदेखि आरम्भ भएको सत्तारुढ नेकपाको स्थायी समितिको बैठकमा बोल्ने अधिकांश अधिकांश सदस्यहरुले ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने धारणा राखेपछि प्रधानमन्त्री ओलीले स्थायी समितिको बैठक बहिष्कार गर्दै आउनुभएको छ ।
प्रधानमन्त्री ओली आफू अल्पमत मा रहेका स्थायी समिति र केन्द्रिय समितिको बैठक मा नगईकन सचिवालयको बैठकबाट सबैकुरा टुंग्याउन चाहिरहनुभएको छ तर दुई ठूला पार्टीहरु एकीकृत भएर बनेको अजंगको नेकपामा पार्टीको संगठनलाई जीवन्त बनाउन भएका निकायहरुलाई सक्रिय पार्नुपर्ने र विधि विधान र प्रकृया अनुरुप पार्टी र पार्टीको सरकार चल्नुपर्ने अधिकांश नेकपाका नेता तथा कार्यकर्ताको मागलाई दुई अध्यक्षहरुले कसरी संबोधन गर्नुहुन्छ भन्ने चासोको विषय भएको छ ।
प्रधानमन्त्री ओली आफ्नो अनुकूल भएकोले उपाध्यक्ष बामदेव गौतमले फालेको समाधान सूत्र अनुसार विवाद समाधान गर्न उत्सुक हुनुहुन्छ ।
उहाँको विरोधी गुटमा रहनुभएका कार्यकारी अध्यक्ष प्रचण्ड, झलनाथ खनाल र माधव नेपालसहित उहाँका समर्थकहरु प्रधानमन्त्री ओलीले निर्दलीय र अधिनायकवादी शैलीमा शासन सत्ता सञ्चालन गरेको र सुधने संकेतसम्म नदेखिएको कारण उहाँलाई विस्थापित नै गर्नुपर्ने अडान राखिरहेका छन् । समाधानको नयाँ सूत्र नेकपाको क्षितिजमा हालसम्म देखा परेको छैन् ।


















