Prakash Adhikari August 22, 2020

 

काठमाडौं, ६ भाद्र । कोरोनाभाइरस सङ्क्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा लागू गरिएको निषेधाज्ञा कस्तो प्रकृतिको हो भन्ने अन्योलले सर्वसाधरण हैरान भएका छन् ।

दैनिक उपभोग्य तथा अत्यावश्यक वस्तुका पसल खोल्न र किनमेलका लागि मानिसहरूलाई आउनजान दिने पनि बताएको छ साथै निषेधाज्ञाको पालना गर्न र उल्लंघन गरे कडा कारवाही गर्ने चेतावनी पनि दिएको छ ।

सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्थाहरु पनि खोल्न दिएको छ, ती संस्थामा अत्यावश्यक काम भएका सेवाग्राही जान डराइरहेका छन् ।

तोकिएका काम गर्न निषेधित गरिने यस्तो अवस्थामा सर्वसाधरण जिल्ला प्रशासनले अंगीकार गरेको अस्पष्ट र अन्यौलग्रस्त नीतिले निषेधाज्ञाको अवज्ञा हुने र यसपछाडि यस्ता प्रयासबाट आम नागरिकलाई नियन्त्रण गर्न नसकिने जोखिम बढ्ने विज्ञहरूले बताएका हुन्।

निषेधाज्ञा जारी गरेका जिल्ला प्रशासन कार्यालयहरूले पनि एकैपटक भिड नहोस् भनेरै किनबेचका लागि कुनै समय नतोकेको बताएका छन्।

बुधवार मध्यरातबाट उपत्यकाका तीन वटै जिल्लामा लकडाउनभन्दा कडा प्रतिबन्धसहित निषेधाज्ञा कार्यान्वयनमा ल्याइएको छ।

‘हाम्रो समाज नै यस्तो छ कि हामी एक मुठा धनियाँ किन्न पनि पसल पुग्नै पर्छ। घरमा भण्डारण गर्ने हाम्रो चलन छैन’ , भाइरोलोजिस्ट डा. लुना भट्ट शर्माले भन्नुभयो, ‘त्यसकारण किनबेचका लागि समय दिनुभन्दा खाद्यान्न दिनभरि सामाजिक दूरी कायम राखेर किनबेच गर्न दिने र यसमा अनुगमन गरेर कडिकडाउ गरिनुपर्छ।’

डा. भट्ट सङ्क्रमण व्यापक रूपमा फैलिरहेको अवस्थामा गरिएको निषेधाज्ञा नियन्त्रणमा सहयोगी नै हुने बताउनुहुन्छ।

‘स्वास्थ्यका हिसाबले मात्रै हेर्ने हो भने पछिल्लो सरकारी कदम ठिकै छ। यसको प्रभावकारिता बढाउने विषयमा सोच्न जरुरी छ ‘, उहाँले भन्नुभयो।

समय तोकेको छैन

काठमाण्डू
उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले पनि एकैपटक भिड नहोस् भनेरै अत्यावश्यक सामान किनबेचका लागि समय नतोकेको जिकिर गरेका छन्।

तर पनि काठमाडौं उपत्यकाका अधिकांश स्थानमा किन बिहान केही समय मात्रै पसल खुला गर्न दिइएको छ त ?

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भन्नुभयो, ‘हामीले समय तोकेका छैनौँ। समय तोक्दा भिडभाड हुन्छ भन्ने हाम्रो बुझाइ हो। स्थानीय तहहरूको समन्वयमा त्यस्ता गतिविधि नियन्त्रण भइरहेको छ।’

कुनै पनि स्थानका अनुकूलता स्थानीय तहलाई राम्रोसँग थाहा हुने हुँदा उनीहरूले नै पसल खुला गर्ने र बन्द गर्ने जस्ता विषयमा जिम्मा लिइरहेको उहाँले बताउनुभयो।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले पनि अत्यावश्यक वस्तु कारोबारको समय व्यवस्थापन स्थानीय तहहरूले गरिरहेको बताउनुभएको छ।

प्रमुख जिल्ला अधिकारीहरूले उक्त विषयबारे अनुगमन गरिरहेको र आवश्यक भएका थप निर्णय लिन सकिने संभावना व्यक्त गर्नुभएको छ।

सचेतनाको कमी

बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष राजु अधिकारी भने विभिन्न निकायका अधिकारीहरू सहितको बैठकले गरेका निर्णयका आधारमा आफूहरूले सरसामान खरिदबिक्री गर्ने समय तोकेको बताउनुहुन्छ।

‘हाम्रो वडामा बिहान सात बजेसम्म अत्यावश्यक सामग्रीका पसलहरू खोल्न दिएका छौँ ‘, उहाँले भन्नुभयो।

काठमाण्डू

किनबेचका त्यति कम समय तोक्दा झन् भिडभाड हुँदैन त ?

अधिकारी भन्नुहुन्छ, ‘सर्वसाधारणहरू सचेत नभएकाले समय तोक्नु परेको हो। मानिसहरू बिहानको समयमा हिँड्न समेत बाहिर निस्किरहेका छन्।’

काठमाडौंका प्रमुख जिल्ला अधिकारी दाहाल पनि विशेष परिस्थिति रहेको अवस्थामा विशेष व्यवस्था गर्नुपरेको बताउनुहुन्छ।

‘भिडभाड गर्न पनि नहुने पसलहरू पुरै समय खुला गर्न पनि गाह्रो। यस्तो अवस्थामा आफ्नो सुरक्षा आफैँ गर्नुपर्ने हुन्छ’, उहाँले भन्नुभयो।

‘पर्ख र हेर’ को रणनीति

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरू हाल आफूहरूले विभिन्न पाटाबाट निषेधाज्ञालाई हेरिरहेको र त्यसैका आधारमा भविष्यमा आवश्यक कदम चाल्ने दावी गरिरहनुभएको छ ।

‘यो एक हप्तामा के कस्तो अवस्था देखाउँछ हेर्छौँ अनि त्यसै अनुसार निर्णय गर्छौँ ‘, भक्तपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी पाण्डेले भन्नुभयो।

डा. शर्मा पनि दुई हप्तासम्म निषेधाज्ञा कार्यान्वयन गरेर अवस्था मूल्याङ्कन गरी अघि बढ्नुपर्ने बताउँनुहुन्छ।

‘पहिलेको (लकडाउन) भन्दा कडाइ गरिएकाले सकारात्मक नतिजा आउन सक्छ’, उहाँले थप्नुभयो।

Share Now

Leave a comment.