काठमाडौं, ६ भाद्र । एनएमबि बैंक र कञ्चन डेभलपमेन्ट बैंकको एकीकृत कारोबार आइतबार(भोलि)बाट हुने भएको छ ।
दुवै बैंकले आइतबारबाट एकीकृत कारोबार शुरु गर्ने जनाएका छन् । दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले साउन २५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले साउन २८ गते अन्तिम स्वीकृति दिइसकेका छन् ।
एनएमबीले प्राप्त गरेको कञ्चन डेभलपमेन्टको कारोबार आइतबारबाट एनएमबि बैंकको नामबाट हुनेछ । दुवै बैंकको असार २१ गते भर्चअल माध्यमबाट सम्पन्न विशेष साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।
सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा एनएमबी र कञ्चन डेभलपमेण्ट बैंकको सेयर स्वाप रेसियो १ः०.८५ कायम भएको छ।
कञ्चनको १०० सय कित्ता सेयर हुनेले अब एनएमबिको नाममा ८५ कित्ता सेयर पाउनेछन् । एनएमबि र कञ्चनले जेठ २५ गते एक्वायर सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
कञ्चन एक्वायरपछि एनएमबिको चुक्ता पुँजी १४ अर्ब ४५ करोड भन्दा बढी हुनेछ । एनएमबिले केही समयअघि ओम डेभलपमेन्ट बैंक गाभेको थियो ।


















