भरतपुर(चितवन), १० असोज । विगत केही समययता स्थानीयबासीलाई आक्रमण गरी खाँदै आएको पाटे बाघलाई चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको छ।
सो बाघले पछिल्लो पटक शनिवार बिहान सबा १० बजो बेलसहर मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका भरतपुर–१३ का ६३ वर्षीय जन्हु चौधरीलाई आक्रमण गरी खाएको थियो ।
वनको गेटको नजिकै घर भएका चौधरीलाई वनको गेटबाट करिब ४ सय मिटरभित्र रहेको ठाउँमा घाँस काट्दै गरेको अवस्थामा बाघले आक्रमण गरेको थियो।
घटनास्थल चितवनको पर्यटकीयस्थल सितामाई क्षेत्रको नजिकै पर्दछ।
बाबुलाई बाघले खाँदै गरेको देखेपछि मृतकका छोराले अन्यलाई खबर गरेका थिए ।
स्थानीयहरुले बाघले झुक्याएर मान्छे मार्न थालेकोले त्यसलाई नियन्त्रणमा लिन निकुञ्जमा उजुरी दिएपछि निकुञ्जका कर्मचारीले बाघको खोजी गरी डार्ट गरेर नियन्त्रणमा लिएका हुन् ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामले अक्रमण गर्ने बाघलाई करिब पाँच घण्टाको प्रयासपछि अपराह्न नियन्त्रणमा लिइएको बताउनुभयो।
उहाँका अनुसार निकुञ्जका हात्ती, कर्मचारी, सेना तथा प्रहरीको सहभागितामा बाघलाई नियन्त्रणमा लिइएको हो।
बाघलाई निकुञ्जको हेडक्वाटर कसरामा रहेको खोरमा सुरक्षित राखिएको रामले बताउनुभयो।
केही महिनाअघि पनि सोही क्षेत्रमा बाघको आक्रमणबाट स्थानीयको मृत्यु भएको थियो।

त्यतिखेरको आक्रमण पनि यही बाघले गरेको आशंका निकुञ्जको छ। मान्छे खान पल्किएको बाघका कारण अन्य मानवीय क्षति पनि हुन सक्ने भयका कारण उक्त बाघलाई नियन्त्रणमा लिइएको प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताउनुभएको छ।
संरक्षण अधिकृत बरालका अनुसार नियन्त्रणमा लिइएको उक्त बाघलाई अब उसको व्यवहारको आधारमा छाडिने छ। बाघको ‘व्यवहारमा सुधार आयो भने जंगलमा लगेर छाड्ने र नआए खोरमै राख्ने निकुञ्जको तयारी छ ।
प्रायः बेलसहर सामुदायिक वन क्षेत्रमा देखिएको उक्त बाघ अन्दाजी १० वर्षको भाले बाघ हो। सामान्यतया बाघको आयु १४ देखि १५ वर्षको हुन्छ। ‘
नरभक्षी यो बाघ बुढो र दुब्लो छ ।


















