डा.के.सी.को जीवन रक्षार्थ कोभिड र आकस्मिकबाहेकका स्वास्थ्य सेवा बहिष्कार गर्ने चिकित्सक संघको निर्णय
काठमाडौं, २४ असोज । नेपाल चिकित्सक संघ (एनएमए) ले आइतबार देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाका आकस्मिक र कोरोना भाइरस संक्रमणबाहेकका सेवा ठप्प पार्ने घोषणा गरेको छ।
स्वास्थ्य शिक्षा र जनस्वास्थ्य सेवामा सुधारको माग राखेर २७ दिनदेखि अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकार गम्भीर नबनेको भन्दै चिकित्सक संघले यस्तो निर्णय लिएको हो।
संघका महासचिव डा. बद्री रिजालले शनिवार एक विज्ञप्ति प्रकाशित गरी आइतवार आकस्मिक र कोभिडबाहेकका सबै सेवा बहिस्कार गर्ने निर्णय भएको जानकारी दिनुभएको छ।

यही विहीबार र शुक्रबार डा. केसी र सरकारपक्षबीच दुई पटक वार्ता भएको थियो। तर दुई चरणको वार्ताले कुनै परिणाम ल्याउन सकेन। सरकारी प्रतिनिधि मण्डलले विना शर्त अनशन त्याग गर्न सत्याग्रही के.सी.का प्रतिनिधिहरुसंग आग्रह गरेपछि संघले सरकारमाथि दबाब बढाउन आकास्मिक र कोभिडको उपचारबाहेकका सेवा बन्द गर्ने निर्णय लिएको हो ।
डा. गोविन्द केसी विभिन्न ६ बुँदे माग राख्दै २७ दिनदेखि अनसनरत हुनुहुन्छ । उहाँले अनशन जुम्लामा सुरु गर्नुभएको हो । ९ दिनसम्म अनसन बसेपछि उहाँलाई काठमाडौंमा ल्याइएको थियो । काठमाडौंमा अस्पतालमा भर्ना हुनुभएका डा.के.सीले त्रिवि शिक्षण अस्पतालमा नै अनशनलाई निरन्तरता दिनुभएको छ ।
डा.के.सी.ले राख्नुभएका माग पूरा गरी उहाँको जीवन रक्षा गर्न उहाँका तर्फबाट नेपाल चिकित्सक संघका वर्तमान अध्यक्ष डा लोचन कार्की र पूर्व अध्यक्ष डा अञ्जनीकुमार झा र डा. जीवन क्षेत्री खटिनुभएको छ । सरकारले शिक्षा तथा विज्ञान र प्रविधि सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा एक समिति गठन गरेको छ ।अधिकारबिहिन उक्त समितिले सत्याग्रही डा.के.सी.लाई विना शर्त अनशन त्याग गर्न आग्रह गरिरहेको छ ।


















