काठमाडौ, २५ पौष । नेपालउद्योग परिसंघले आयकर विवरण बुझाउने तथा कम्पनी अद्यावधिक गर्ने म्याद आगामी चैत्र मसान्तसम्म थप गर्न माग गरेको छ ।
परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपाल सरकारका सम्बन्धित निकायका पदाधिकारीहरुसँग छलफल गरी म्याद थपको माग गर्नु भएको हो ।
विगत वर्षहरुमा उद्योगी व्यवसायीहरुले आयकर विवरण बुझाउने र कम्पनी अद्यावधिक गर्ने कार्य सरकारले तोकेको समय सिमाभित्र नै गरिरहेकोतर्फ औल्याउँदै उहाँले आर्थिक वर्ष ०७६। ०७७ को सुरुदेखि नै कोभिडको कारणबाट उद्योग व्यवसायहरु प्रभावित भएकोले आयकर विवरण बुझाउने तथा कम्पनी अद्यावधिक गर्ने म्याद थप गर्नुको विकल्प नरहेको बताउनु भएको छ ।
कोभिडको कारण कतिपय उद्योग व्यवसायहरु खुल्ने अवस्थामा नरहेको र अहिले उद्योग व्यवसायले सञ्चालनको गतिलिइरहेको परिप्रेक्ष्यमा कतिपय उद्योगी व्यवसायीहरुले लेखा परीक्षण कार्यसमेत संपन्न गरिनसकेको अवस्थालाई मध्यनजर गरी आगामी चैत्र मसान्सम्म म्यादथप गरेमा उद्योगी व्यसायीलाई सहज हुने नेपाल उद्योग परिसंघले जनाएको छ ।
कतिपय उद्योग एवं व्यवसायमा समयमा नै आयकर विवरण बुझाउने तथा कम्पनी अद्यावधिक गर्ने परिस्थिति नहुँदा उद्योगी व्यवसायीले थप शुल्क तथा जरिवाना तिर्नु पर्ने भएकोले सरकारले समयमा नै म्याद थप गरी समस्याको समाधान गर्न सरकारसँग माग गर्नु भएको छ ।
अध्यक्ष मोरले कोभिडको प्रभावबाट प्रभावित व्यवसायीहरुले समय थप भएसँगै सहज रुपमा आयकर विवरण बुझाएर कम्पनी अद्यावधिक गरी सरकारको राजश्व संकलनको लक्ष्यमा सघाउ पुर्याउन परिसंघ प्रतिवद्ध रहेको बताउनु भएको छ ।
विद्यमान आयकर ऐनमा भएको व्यवस्था अनुसार चालु आर्थिक वर्षको अनुमानित आयकर विवरण पुस मसान्तभित्रै बुझाउनुपर्छ भने कम्पनी ऐनमा व्यवस्था भएअनुसार कम्पनी अद्यावधिक गर्नुपर्ने म्यादपनि पुस मसान्तसम्म तोकिएको छ ।