काठमाडौं, २५ पौष । वरिष्ठ गीतकार भैरवनाथ रिमाल कदमको निधन भएको छ।
८६ वर्षको उमेरमा शनिबार दिउँसो २ : ५० बजे उहाँको निधन भएको हो।
लामो समयदेखि अस्वस्थ रिमाललाई स्मरण शक्ति ह्रास हुने अलजाइमर्सको समस्या देखिएको थियो।
उहाँलाई चावहिलस्थित चिरायु अस्पतालमा राखेर उपचार गरिएको बताइएको छ।
उहाँका गीतमध्ये नारायण गोपालले स्वर दिएको ‘जुन फूल मैले चाहेको थिएँ’, अरुणा लामाले स्वर दिएको ‘उदास मेरो प्रेम कथा’, ‘जीन्दगीको पानाभरि सुख भेटिँदैन’ नारायणगोपालको संगीतमा फत्तेमानले गाएको यो गीत शब्द, सङ्गीत र गायन तीनै हिसाबले नेपालको उच्चकोटीको गीत मध्ये पर्छ।
भैरवनाथकै शब्द रहेको तारादेवीले गाएको गीत ‘अमर माया छाडेर जाने परदेशी आएन’ पनि चर्चित गीतमध्ये एक हो।
थुप्रै लोकप्रिय गीतका रचनाकार रिमालका डेढ दर्जन साहित्यिक कृति प्रकाशित छन्।
वि.सं. १९९२ माघ ३ मा काठमाडौंको ठमेलमा जन्मिनुभएका रिमालले ५ सय भन्दाधेरै गीतको रचना गर्नुभएको छ ।


















