Prakash Adhikari February 14, 2021

काठमाडौं, २ फागुन । नेपाल कम्युनिष्ट पार्टीको बहुमत केन्द्रीय सदस्यको प्रतिनिधित्व गर्ने अध्यक्ष पुष्पकमल दाहाल र शीर्ष नेता माधवकुमार नेपाल नेतृत्वको समूहले निर्वाचन आयोगलाई चुनावी तयारी गर्नुअघि पार्टीको आधिकारिकताको विवाद हल गर्न आग्रह गरेको छ ।

निर्वाचन आयोगले आइतबार निर्वाचन आचारसंहिताबारे छलफल गर्न बोलाएको सर्वदलीय बैठकमा उपस्थित नेकपाको प्रचण्ड नेपाल समूह नेताहरुले चुनावअघि पार्टीको आधिकारिकता विवाद समाधान गर्न आग्रह गर्नुभएको हो ।

बैठकमा पार्टीको तर्फबाट प्रतिनिधित्व गर्नुभएका नेकपा-प्रचण्ड माधव)समूहका स्थायी समिति सदस्य लिलामणी पोखरेलले नेकपाको आधिकारिकता विवाद हल नगरी निर्वाचन गर्न नहुने सुझाव दिएको बताउनुभयो।

‘हामीले आयोगलाई नेकपाको आधिकारिता टुंगो नलगाई कसरी निर्वाचन हुन्छ भनेर प्रश्न गर्‍यौं,’ पोखरेलले भन्नुभयो, ‘उहाँहरुले यसबारेमा जवाफ दिन्छौं भन्नुभयो।’

आयोगले बोलाएको छलफलमा स्थायी समिति सदस्य लिलामणि पोखरेल र कृष्णभक्त पोखरेल सहभागी हुनुहुन्थ्यो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र कुनै परामर्श नै नगरिकन पुस ५ गते मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट पारित गरेर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि नेकपा दुई समूहमा विभाजन भएको छ। दुवै समूहले आफू आधिकारिक भएको दावी गरिररहेका छन् ।

पहिले दुवै समूहले पार्टीको अभिलेख अद्यावधिक गर्न दिएको निवेदनमा निर्वाचन आयोगले ११ माघमा दुबैको दाबीलाई मान्यता नदिने निर्णय ग¥यो ।  पुस ५ अगाडिको केन्द्रीय समितिमात्र वैध भएको त्यसपछि हेराफेरीलाई आयोगले मान्यता नदिने बताएको थियो ।

नेकपाका बहुमत सदस्यहरु रहेको प्रचण्ड–नेपाल नेतृत्वको समूहले पार्टीको विधान अनुसार पार्टी अनुशासन उल्लंघन गरेको अभियोगमा प्रधानमन्त्री के.पी.ओलीलाई पार्टीको अध्यक्ष र साधारण सदस्यताबाट समेत निस्कासन गरिएको कारबाही प्रक्रियासहित उहाँ नरहेको पार्टीलाई आधिकारिकता दिन आयोगमा राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार निवेदन पनि दिइसकेको छ ।

प्रचण्ड-नेपाल समूहले आफूसँग ६४ प्रतिशत केन्द्रीय सदस्य रहेको भन्दै हस्ताक्षर बुझाएर आवश्यक परे आयोगमा टाउको गिन्ती गराउन तयार रहेको जानकारी पनि दिइसकेको छ ।

 

Share Now

Leave a comment.