Prakash Adhikari February 14, 2021

काठमाडौं , २ फागुन । बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टका हत्यारालाई कारबाही गर्न माग गर्दै नेपाल विद्यार्थी संघले काठमाडौंमा प्रदर्शन गरेको छ ।

आइतबार पद्मकन्या क्याम्पसबाट सुरु भएको विरोध प्रदर्शनमा नेविसंघले भागरथीलगायत नेपाली चेलीहरुको बलात्कार र हत्याका सबै घटनामा संलग्नलाई कारबाही गर्न माग गरेको थियो ।

नेपाल विद्यार्थी संघकी केन्द्रीय उपाध्यक्ष तुलसा पन्तको संयोजनमा पद्मकन्या क्याम्पसबाट सुरु भएको विरोध प्रदर्शन बागबजार हुँदै पुतलीसडक पुगेर कोणसभामा परिणत भएको थियो ।

नेपाल विद्यार्थी संघका सभापति राजिव ढुंगानाको उपस्थिति रहेको सो विरोध सभालाई संबोधन गर्दै केन्द्रीय महामन्त्री दीपक भट्टराईले निर्मला पन्तको दुःखद घट्ना पछि सोही प्रवृत्तिका घट्नाहरु बारम्बार दोहोरिनु तथा अपराधीलाई पक्राउ गरी कानूनको दायरमा ल्याउन नसक्नु नै राज्यमा अपराधीहरु बलियो हुँदै गएको बलियो प्रमाण भएको बताउनुभयो ।

महामन्त्री भट्टराईले सरकारले अपराधीलाई संरक्षण गरेको कारण अपराधीहरु उम्किने गरेको बताउदै भन्नुभयो, ‘सरकार ठूलठूला आमसभामा मस्त छ । सरकारले यति धेरै अपराधीलाई संरक्षण गरेको छ कि सरकारले आयोजना गरेको सबै सभा खचाखच छन् । अपराधी खोज्न अन्त जानुपर्दैन । सरकारकै सभामा नारा लगाइ रहेको भेटिन्छन् ।’

कोणसभालाई सम्बोधन गर्दै नेविसंघका अध्यक्ष राजीव ढुंगानाले घटनाका दोषिलाई तत्काल कारबाही गर्न सरकारसँग माग गर्नुभएको थियो। प्रदर्शन र कोणसभामा पूर्व महामन्त्री प्रतिमा गौतम, महामन्त्री दीपक भट्टराई, उर्मिला थपलिया, प्रेमिका राना खतिवडा, रुपा पोखरेल लगायतले हत्यामा संलग्नलाई तत्काल कारबाही गर्न सरकारसँग माग गर्नुभएको थियो ।

 

 

Share Now

Leave a comment.