काठमाडौं, ९ फागुन । भारतसँग खरिद गरिएको कोरोनाविरुद्धको खोप ‘कोभिशिल्ड को १० लाख मात्रा खोप काठमाडौं आइपुगेको छ।
यो खोप नेपाल सरकारले भारतको सिरम इन्स्टिच्यूटबाट २० लाख मात्रा खोप किनेर ल्याउन गरेको समझदारी अन्तरगतको हो ।
एयर इन्डिया विमान खोप लिएर दिउँसो काठमाडौं आइपुगेको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार यही फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमति भएको थियो ।
यसअघि गत माघ ८ गते भारत सरकारले १० लाख मात्रा सोही खोप अनुदानमा उपलब्ध गराएको थियो।
पहिलो खेपमा आएका उक्त खोप अग्रपंक्तिमा काम गर्ने कर्मचारीलाई लगाइँदैछ।
अहिले खरिद गरेर ल्याइएको खोप सार्वजनिक यातायातका चालक, सहचालक तथा विश्वविद्यालय र विद्यालयका शिक्षकलाई पनि दिइने छ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव, प्रमुख विशेषज्ञ,मन्त्रालयका महाशाखा प्रमुखहरु, परिवार कल्याण महाशाखाका प्रमुख बालस्वास्थ्य तथा खोप शाखा प्रमुख, सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुखका विज्ञहरुको सहभागितामा बसेको बैठकले उक्त निर्णय गरेको हो।
त्यसैगरी, औषधि पसलमा कार्यरत र प्रयोगशालामा काम गर्ने कर्मचारी तथा सफाइकर्मीलाई पनि खोप दिइने निर्णय भएको छ।


















