रुकुम पश्चिम, २४ चैत्र । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा दुःख गर्नेहरु पछाडि परेको र अवसरवादी हावी हुँदा जनताको बलिदानले ल्याएको परिवर्तनमाथि कुठराघात हुन लागेको बताउनुभएको छ ।
३२ औ. जनआन्दोलन दिवसको अवसर पारेर रुकुम पश्चिममा आयोजना गरिएको जनप्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘म आत्मआलोचना गर्न आएको हुँ। मलाई दुस्खमा बचाउने र सहयोग गर्ने तथा अप्ठरो पर्दा प्रचण्ड भन्नेहरू ओझेलमा परेका छन्। जाली, फटाहले भाउ पाएजस्तो भयो ।’
उहाँले पार्टीप्रतिको निष्ठा कमजोर भएकाहरूलाई माथिल्लो तहमा जिम्मेवारी दिनु गल्ती भएकोमा पनि पश्चाताप गर्नुभएको छ ।
‘पार्टी विभाजन गरेर जानेलाई माथिल्लो तहमा जिम्मा दिएँ। मलाई गद्दार भन्नेहरू र ०७० सालको चुनावमा ममाथि बम प्रहार गर्ने साथीहरूलाई गृहमन्त्री बनाएँ। मैले गल्ती गरें। उनीहरू बिकाउ माल सावित भए,’ उहाँले भन्नुभयो, ‘इमान्दार कार्यकर्तालाई पार्टी, नियुक्तिहरू र मन्त्री बनाउँदा प्राथमिकता दिनुपर्नेमा मैले गल्ती गरेँ। सहिद परिवार ओझेलमा परेजस्तो भयो भने जनयुद्धमा त्याग गर्नेहरू पनि ओझेलमा परे। अब म त्यस्तो गर्दिनँ। हिजो युद्धमा लागेकालाई अगाडि बढाउने संकल्प गर्छु ।’
सिंहदरबारमा बस्ने प्रतिक्रान्तिहरूलाई खबरदार गर्न रूकुमका साहसी जनताको बीचमा आएको बताउदै उहाँले भन्नुभयो,‘प्रचण्ड कमजोर भयो। जनताको साथ छैन। संविधान र गणतन्त्र उल्टाइदिए हुन्छ भनेर केहीकेही मानिसले सोचेका छन्। मसँग मेरो पार्टी छ नेता कार्यकर्ता छन्, ।‘मसँग क्रान्तिकारी जनताको ऊर्जा शक्ति छ।’
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई उल्ट्याउन ‘जाली फटाहा’, ‘प्रतिक्रान्तिकारी’ले प्रयास गरिरहेको पनि बताउनुभयो । उहाँले ‘पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि गरिएको प्रतिगमनविरुद्धको आन्दोलनमा देशभरका जनताले प्रतिगमन, प्रतिक्रान्तिका विरुद्धको आन्दोलनमा साथ दिएकोले परिवर्तनका उपलब्धिहरु जोगाउन जनता जाग्ने विश्वास पलाएको बताउनुभयो ।
उहाँले जनताको बलमा त्यतिबेला प्रतिगमन रोकिए पनि जनताका उपलब्धि विरुद्ध षडयन्त्र अझै जारी रहेको बताउनुभयो । ‘देशभित्र र बाहिर अनेक षडयन्त्र र प्रपञ्च भइरहेको छ । हामी त्यसका विरुद्ध लडिरहेका छौं,’ प्रचण्डले भन्नुभयो, ‘तर काठमाडौंमा बसेर लडेको लडाइले हामीलाई धेरै प्रतिफल दिएको छैन । जतिबेला जनताको गाउँघर, टोलमा पुगेका छौं, जनताको बलमा हामीले सफलता पाएका छौं ।’


















