
बुटबल(रुपन्देही), १९ बैशाख । लुम्बिनी प्रदेशको विपक्षी गठबन्धनले सरकार निर्माणका लागि प्रदेश प्रमुख समक्ष दाबी पेस गरेको छ ।
गठबन्धनका नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको आइतबार मध्यान्ह बसेको संयुक्त गठबन्धनले सरकार निर्माणका लागि दाबी पेश गरेको हो ।
लुम्बिनी प्रदेश काँग्रेस संसदीय दलका नेता वीरेन्द्र कडरियाले संविधानको धारा १६८ उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि दाबी पेस गरिएको बताउनुभएको छ ।
यस पहिले मुख्य मन्त्री शंकर पोखरेलविरुद्ध बैशाख ६ गते अविश्वासको प्रस्ताव दर्ता गर्दा गठबन्धनले माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीका रुपमा अगाडि सारेका थिए ।
नया सरकार गठनको लागि पनि उहाँलाई नै अगाडि सारिएको छ ।
लुम्बिनी प्रदेश सांसद विमला वली माओवादीमा प्रवेश गरेपछि शंकर पोखरेलको बहुमत गुमेको छ।
उहाँ नेकपा एमालेका ससदीय दलमा रहदा एमालेको पक्षमा ४१ सांसद रहेका थिए ।
८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा सत्ता समीकरणको खेलमा जनता समाजवादी पार्टीका ४ र नेकपा माओवादीका दुई सांसदलाई पार्टीले अनुशासनको कारबाही गरी सभामुखलाई सूचित गरेपछि ६ जना पदमुक्त भएका थिए ।
अहिले ८१ सदस्यीय प्रदेश सभामा नेकपा एमालेका ४० माओवादीका १९, कांग्रेसका १९, जसपाका २ र राष्ट्रिय जनमोर्चाका एकजना सांसदको साथ बहुमत देखाउँदै माग दाबी गरेका हुन् । बिमला माओवादीतर्फ लागेपछि केसीको पक्षमा ४१ सांसदसहित बहुमत देखिएको छ ।