Prakash Adhikari May 12, 2021

गनी अन्सारी / बीबीसी न्यूज नेपाली

काठमाडौं, २९ बैशाख । नेपालमा विगतको तुलनामा कोरोनाको दोस्रो लहरमा संक्रमण हुने र संक्रमित व्यक्तिको मृत्यु हुने दर बढेको छ भने निको हुने दर घटेको पाइएको छ ।

स्वास्थ्य मन्त्रालयका गत बर्ष र यस बर्षको तथ्थ्यांकको तुलना गर्दा यस्तो निष्कर्ष निस्केको हो ।

विगत १५ दिनयता दैनिक सङ्क्रमित हुने व्यक्तिहरूको प्रतिशत वैशाख २७ गते सोमवार सबैभन्दा बढी देखियो र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो दिन पीसीआर र एन्टिजन विधिबाट कुल १८ हजार ४ सय ११ जनाको परीक्षण गर्दा ९ हजार २ सय ७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।

यसको अर्थ परीक्षण गरिएका प्रत्येक दुईमध्ये एक जनालाई कोरोनाभाइरस सङ्क्रमण भएको पाइयो अर्थात सन्देह लागेर परीक्षण गराएका मध्ये आधाभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भयो ।

कोरोनाभाइरस महामारी शुरू भएयताकै सबैभन्दा धेरै १ सय ३९ जनाको कोभिड१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले सोमवार पुष्टि गरेको थियो।

तर मङ्गलवार त्यसभन्दा पनि धेरै अर्थात्‌ हालसम्मकै सर्वाधिक २ सय २५ जनाको कोभिड १९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले जनाएको छ।

पछिल्ला केही दिनयता दैनिक सङ्क्रमित हुने व्यक्तिहरूको औसत सङ्ख्या ८ हजार भन्दाबढी हुने गरेको पाइएको छ।

सङ्क्रमण दरको अवस्था

स्वास्थ्य मन्त्रालयले दैनिक सार्वजनिक गर्ने तथ्याङ्कलाई हेर्दा परीक्षण गराएका मानिसहरूमा सङ्क्रमण दर निरन्तर उकालो लाग्ने क्रममा देखिन्छ।

विगत १५ दिनमा १ लाख २ सय ३३ जना नयाँ सङ्क्रमित थपिएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

यो अवधिमा कोभिड(१९ सँग सम्बन्धित कारणले थप ६ सय ८३ जनाको ज्यान गएको छ। १५ दिनयता दैनिक औसत मृतकको सङ्ख्या ४५ जना हुन जान्छ।

वैशाख १३ गते कुल सङ्क्रमितको सङ्ख्या ३ लाख ३ हजार ५ सय ६१ थियो भने वैशाख २७ गते ४ लाख ३ हजार ७ सय ९४ पुगेको छ।

कोभिड

कोभिड

वैशाख १३ गते २४ घण्टाको अवधिमा ३ हजार ५ सय ५६ जनामा सङ्क्रमण पुष्टि भएको थियो भने सोही अवधिभित्र सात जनाको मृत्यु भएको थियो।

मन्त्रालयका अनुसार सोही दिन २४ घण्टामा रिपोर्ट प्राप्त भएको मृतकको सङ्ख्या १२ थियो।

त्यो दिन सङ्क्रमण दर १२.५ प्रतिशत रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।

वैशाख १३ गते कुल मृतक सङ्ख्या ३ हजार १ सय ७६ थियो भने निको हुने दर ९१.५ प्रतिशत रहेको थियो।

त्यसको ठ्याक्कै १५ औँ दिन अर्थात्‌ वैशाख २७ गतेको तथ्याङ्क हेर्दा ९ सय २ सय ७१ जनामा सङ्क्रमण देखियो भने २४ घण्टाको अवधिमा १ सय ३९ जनाको मृत्यु भएको पाइयो।

त्यो मितिमा कुल मृतक सङ्ख्या ३ हजार ८ सय ५९ थियो भने निको हुने दर ७६ प्रतिशत रहेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

कोभिड

कोभिड

विज्ञहरुको विचार

पछिल्लो समय नेपालमा कोरोनाभाइरस सङ्क्रमण व्यापक रूपमा फैलिरहेको तथ्याङ्कबाट देखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट डा. अनुप बास्तोला बताउँनुहुन्छ।

“घरमा बसेका एक व्यक्तिबाट अर्को व्यक्तिमा सङ्क्रमण भइरहेको छ जसले गर्दा सङ्क्रमितहरू बढिरहेका छन्”, उहाँले भन्नुभयो।

सङ्क्रामक रोगसम्बन्धी अनुसन्धानकर्ता प्राध्यापक डा. बुद्ध बस्न्यातका अनुसार नेपालमा पछिल्लो समय देखिएका कोरोनाभाइरसको भेरिअन्टका कारण पनि सङ्क्रमितको सङ्ख्या बढेको देखिन्छ।

सरकारी अधिकारीहरूका अनुसार नेपालमा कोरोनाभाइरसका यूके भेरिअन्ट र डबल म्युटन्ट देखिएको पुष्टि भइसकेको छ।

“पछिल्लो समय देखिएका भाइरसले नित्याउने दर एकदमै बढी छ। त्यो हामीले प्रस्ट रूपमा भन्न सक्छौँ “,प्राध्यापक बस्न्यात थप्नुहुन्छ।

त्यसमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी पनि सहमत हुनुहुन्छ।

“त्योसँगै राजनीतिक दलकै नेताहरू विभिन्न सभा, सम्मेलन तथा सार्वजनिक कार्यक्रमलाई बढावा दिँदा र मानिसहरूले पनि सामाजिक जमघटहरू गरेका कारण सङ्क्रमणमा निकै वृद्धि देखिन पुगेको हो।”

बढ्दो मृत्युको कारण के हुनसक्छ ?

विगत १५ दिनकै कुरा गर्ने हो भने सङ्क्रमितहरू निको हुने दर घट्दो क्रममा देखिएको छ भने मृत्यु हुनेहरूको सङ्ख्या बढिरहेको पाइएको छ।

पहिलाभन्दा अहिले देखिएको भेरिअन्ट धेरै घातक हुनु पनि मृतकको सङ्ख्या बढ्नुको एउटा कारण हुनसक्ने प्राध्यापक बस्न्यात बताउँनुहुन्छ।

“तर भाइरस लिथल भएकोले मात्रै नेपालमा मृतक सङ्ख्या बढेको भन्न सकिन्न।”

“बिरामीले अक्सिजन नपाएर हुनसक्छ, निको हुन्छ भनेर रोगले च्यापिसकेपछि अन्तिम क्षणमा अस्पताल पुग्ने भएर हुनसक्छ। यस्ता कन्फाउन्डिङ फ्याक्टरहरूले पनि भूमिका खेलेका हुन्छन्”, उहाँले भन्नुभयो।

डा. अनुप बास्तोला पनि कतिपय बिरामीले अस्पतालमा शय्या तथा अक्सिजन पाउन नसक्दा मृत्युसम्बन्धी पछिल्लो अवस्था देखिएको बताउँनुहुन्छ।

जनस्वास्थ्यविद्‌ डा. मरासिनी पछिल्लो समय मृतकको सङ्ख्यामा व्यापक वृद्धि हुनुको अन्य कारण पनि खोज्नुपर्ने सुझाउनुहुन्छ।

“यो डेङ्गी लाग्ने महिना हो, स्क्रब टाइफस लाग्ने महिना हो, कालाजार र जापनिज इन्सेफ्लाइटिस फैलिने महिना हो। डबल इन्फेक्सन भयो कि भन्नेतर्फ ध्यान दिएकै देखिँदैन।”

“कोरोनाभाइरससँगै ती पनि भए भने त्यसले मृत्युदर उच्च बनाउँछ”,उहाँ औँल्याउँनुहुन्छ।

 

Share Now

Leave a comment.