Prakash Adhikari August 16, 2026

 

काठमाडौं, ३१ साउन। नेपाल आयल निगमले आइतबार काठमाडौँ उपत्यकाका थप सात बिक्री केन्द्रबाट अत्यावश्यक उपभोक्ताका लागि एलपी ग्यास बिक्रीवितरण गर्ने जनाएको छ ।

निगमको समन्वयमा आज काठमाडौं उपत्यकाका विभिन्न सात स्थानबाट खाना पकाउने एलपी ग्यास बिक्री गरिने भएको हो।

अत्यावश्यक अवस्थामा रहेका उपभोक्तालाई लक्षित गर्दै निगमले यो विशेष व्यवस्था मिलाएको हो। ग्यास खरिद गर्नका लागि उपभोक्ताले आफ्नो नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ।

आज निगमको टेकु परिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीराम र सागर ब्रान्डका ग्यास बिक्री हुनेछन् । त्यस्तै, पशु सेवा शाखा, चापली, बूढानीलकण्ठबाट नेपाल, एचपी र भानु, राधास्वामी परिसर, कीर्तिपुरबाट नेपाल, एचपी, एभरेस्ट, श्रीकृष्ण, साईबाबा र श्रीमाया; नयाँबजार/नयाँ बानेश्वर होटल परिसरबाट नेपाल, एचपी र ओम तथा पुरानो जिल्ला प्रशासन कार्यालय परिसर, बबरमहलबाट नेपाल र एचपी ब्रान्डका ग्यास बिक्री गरिनेछ ।

चन्द्रागिरि नगरपालिका कार्यालयबाट लोकप्रिय, नेपाल, एचपी र श्रीमाया तथा राष्ट्रिय आयुर्वेद केन्द्र, कीर्तिपुरबाट नेपाल, एचपी, सूर्य, एभरेस्ट, सुगम र एसटिसी ब्रान्डका ग्यास बिक्रीवितरण गरिने निगमले जनाएको छ ।

निगमले एलपी ग्यासको आयात नियमित रूपमा भइरहेको जनाएको छ ।

बिक्रीवितरणलाई सहज बनाउन सम्बन्धित व्यवसायीलाई आफ्ना बिक्रेतामार्फत नियमित रूपमा ग्यास बिक्री गर्नसमेत अनुरोध गरेको छ । साथै, कुनै कारणले ग्यास प्राप्त गर्न नसकेका उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्रका आधारमा नजिकको बिक्री केन्द्रबाट ग्यास खरिद गर्नसक्ने व्यवस्था गरिएको निगमले जनाएको छ ।

ग्यास बिक्री बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ।

Share Now