Prakash Adhikari May 19, 2021

 

न्यूयोर्क(संयुक्त राज्य अमेरिका), ५ जेठ(बीबीसी) । न्यूयोर्क महान्यायाधिवक्ताको कार्यालयले ट्रम्प अर्गनाइजेशनमाथि फौजदारी अभियोगको अनुसन्धान गरिरहेको जनाएको छ।

प्रमुख अभियोजनकर्ता लेटिटा जेम्सकी प्रवक्ताले पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको सम्पत्तिमाथि थालिएको अनुसन्धान अब देवानी अनुसन्धानको विषय नरहेको बताएका छन्।

जेम्सले रिपब्लिकन पार्टीका ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुनुअघिदेखिको आर्थिक कारोबारको अनुसन्धान गरिरहेको जनाउनुभएको छ।

ट्रम्पले आफूले कुनै गलत काम नगरेको र डेमोक्र्याटिक पार्टीकी अभियोजनकर्ताले गर्ने अनुसन्धान राजनीतिक उद्देश्यबाट प्रेरित रहेको बताउनुभएको छ।

जेम्सकी प्रवक्ता फाबिन लेभीले मङ्गलवार भन्नुभएको छ, ‘हामीले ट्रम्प अर्गनाइजेसनलाई हाम्रो अनुसन्धान अब देवानी प्रकृतिको नहुने जानकारी गराइसकेका छौँ।’

लेभीले थप्नुभयो, ‘अहिले हामीले म्यानहटनको कार्यालयसँग मिलेर सक्रिय रूपमा ट्रम्प अर्गनाइजेसमाथि फौजदारी अनुसन्धान गरिरहेका छौँ। अहिले योभन्दा थप जानकारी छैन।’

के कारण अनुसन्धान देवानीबाट फौजदारीतर्फ मोडियो वा पूर्वराष्ट्रपति स्वयंमाथि व्यक्तिगत कुनै आरोप लागेका छन् कि छैनन् भन्ने खुलाइएको छैन।

जेम्सले सन् २०१९ को मार्चमा देवानी अनुसन्धान सुरु गर्नुभएको थियो।

अनुसन्धान

उहाँको अनुसन्धान ट्रम्पले आफ्ना सम्पत्तिको मूल्य अस्वाभाविक रूपमा बढाएर ब्याङ्कहरूबाट ऋण लिएको र कर तिर्ने बेलामा त्यसको भाउ घटाएको भन्ने दाबीहरूमाथि केन्द्रित छ।

उहाँको कार्यालयले ट्रम्प अर्गनाइजेसका म्यानहटन, अपस्टेट न्यूयोर्क, सिकागो र लस एन्जलसमा रहेका सम्पत्तिहरूको कागजात खोजिरहेको छ।

म्यानहटनका न्यायाधिवक्ताले गत अगस्टमा प्रस्तुत गरेको कानुनी विवरणमा कम्पनीमाथि ब्याङ्क र बिमा जोडिएका विषयमा समाचारहरूमा प्रस्तुत गरिएका जालसाजीका आरोपहरू उद्धृत गरिएका छन्।

सन् २०१६ मा ट्रम्पसँग सम्बन्ध भएको दाबी गरिएका दुई युवतीलाई पैसा दिएर चुप लगाइएको आरोपको आर्थिक कारोबार अनुसन्धानको विषय हुनसक्ने बताइएको छ।

राजनीतिक प्रतिशोध

फेब्रुअरीमा उक्त कार्यालयले अनुसन्धानकै क्रममा ट्रम्पको कर फिर्तीको विवरण एउटा लामो कानुनी लडाइँपछि आफूले प्राप्त गरेको जनाएको थियो।

निकै दबावका बीच समेत राष्ट्रपति छँदा ट्रम्पले आफ्नो कर फिर्ती विवरण सार्वजनिक गर्न अस्वीकार गर्नुभएको थियो।

उहाँले त्यस्तो अनुसन्धान ुराजनीतिक प्रतिशोधु साँध्न गरिएको भन्दै त्यसलाई टार्नुभएको थियो।

Share Now

Leave a comment.