Prakash Adhikari May 19, 2021

माधव नेपाल

बुटवट(रुपन्देही), ५ जेठ(बीबीसी) । कोरोनाभाइरसबाट सङ्क्रमित बिरामीका कारण लुम्बिनी प्रदेशका प्रायः सबै अस्पतालका शय्याहरू भरिए पनि सङ्क्रमितमध्ये ९० प्रतिशतभन्दा बढी बिरामी अस्पतालबाहिरै रहेको पाइएको छ।

प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मङ्गलवार अपराह्णसम्म लुम्बिनी प्रदेशमा २३ हजार भन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्।

तर तीमध्ये ५ प्रतिशतजति मात्रै अस्पताल अथवा संस्थागत आइसोलेशनमा भर्ना भएका छन्।

लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको कोभिड अस्पतालका फोकल पर्सन डा. नन्दु पाठकका अनुसार पछिल्लो पटक अस्पतालप्रति बिरामीमा नकारात्मक धारणा विकास भएका कारण पनि यस्तो समस्या आएको हो।

तर यस्तो धारणाले सङ्क्रमितलाई झन् गम्भीर समस्यामा पुर्‍याउने गरेको पाइएको डा. पाठक बताउनुहुन्छ।

उपचारबाट वञ्चित हुने अवस्था

उहाँ भन्नुहुन्छ, “सङ्क्रमित सुरुमै अस्पताल आएको अवस्थामा केही औषधि चलाउन सकिन्छ। तर जब गम्भीर भएर आउँछन् उनीहरूलाई आईसीयू शय्या निश्चित मात्रै हुने हुँदा खोजे जस्तो उपचार पाउनबाट वञ्चित हुन पनि सक्ने अवस्था देखिएको छ।

कोरोनाभाइरस

कपिलवस्तुको शिवराज नगरपालिकामा स्थानीय स्वास्थ्य चौकीका कर्मचारीले कोभिड भएका स्थानीय बासिन्दालाई घरघरै गएर स्वास्थ्य परीक्षण गर्ने गरेका छन्

लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाका अनुसार अस्पताल भर्ना भएका सङ्क्रमितमध्ये झन्डै ४० प्रतिशत सङ्क्रमित गम्भीर अवस्थाका छन् र उनीहरूलाई अत्यधिक मात्रामा अक्सिजन दिनु परिरहेको छ।

दुई हप्तायता लुम्बिनी प्रदेशमा सङ्क्रमितहरूको सङ्ख्या अत्यधिक बढेको हुँदा अस्पतालमा शय्याको अभाव हुन गएको र अक्सिजनको पनि अभाव देखिएको डा. देवकोटा बताउनुहुन्छ।

वरिष्ठ जनस्वास्थ्य विज्ञ डा. मनोहर जोशीले कडा खालको सङ्क्रमित नदेखिएको अवस्थामा घरमै बस्दा पनि खास समस्या नहुने बताउनुहुन्छ।

ूपछिल्लो समय घरमै अक्सिजन सिलिन्डर राखेर ढुक्क भएर बस्ने गरेको पनि देखियो, तर त्यो गलत काम हो,ू डा. जोशीेले भन्नुभयो।

यसरी घरघरमै अक्सिजन राख्दा अस्पतालहरूमा सिलिन्डरको अभाव भई जटिल प्रकारका सङ्क्रमितहरूले अक्सिजन नपाउने अवस्था समेत देखिएको मन्त्रालयका सचिव डा. विकास देवकोटा बताउनुहुन्छ।

अहिले प्रदेशमा दैनिक ३ हजार ५ सय वटा जति अक्सिजन सिलिन्डर चाहिने भए पनि उत्पादन २ हजार १ सयको हाराहारीमा रहेको बताइन्छ।

यसै हप्ता भारतबाट दुई ट्याङ्कर तरल अक्सिजन ल्याइएको थियो भने बाँकी अपुग अक्सिजन अन्य जिल्लाबाट ल्याएर काम चलाइएको डा. देवकोटा बताउनुहुन्छ।

Share Now

Leave a comment.