काठमाडौं, ६ जेठ। राष्ट्रिय सभाको बाग्मती प्रदेशबाट निर्वाचित प्रतिनिधिको रिक्त स्थानको उपनिर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्र गठवन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका डा. खिमलाल देवकोटा विजयी हुनुभएको छ ।
उहाँले सत्तारुढ नेकपा एमालेका उमेद्वार तथा गृहमन्त्री रामबहादुर थापा बादललाई पराजित गर्नुभएको हो ।
आजै भएको मतदानमा डा. देवकोटा ५०८८ मतभारसहित विजयी हुनुभयो भने बादलको भागमा ४०१३ मतभार पर्यो । नेपाल मजदुर किसान पार्टीका उमेद्वार कृष्ण महर्जनले १३२ मतभार प्राप्त गर्नुभएको थियो ।
कांग्रेस र माओवादीको गठबन्धनको रुपमा उम्मेद्वार बन्नुभएका संघीयता विज्ञ डा. देवकोटालाई सत्तारुढ नेकपा एमालेभित्रकै असन्तुष्ट पक्षको पनि समर्थन रहेको थियो ।
बादललाई डब्बल झट्का
नेकपा माओवादीको जनयुद्धकालका सैन्य कमाण्डर बादल प्रधानमन्त्री ओलीको दोस्रो कार्यकालमा गृहमन्त्री नियुक्त हुनुभयो । नेकपा एमाले र माओवादी एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टीको सचिवालय सदस्य र स्थायी समिति र केन्द्रीय समितिमा रहनुभएका उहाँ सर्वोच्च अदालतले फागुन २३ गते दुवै पार्टीको एकीकरणलाई अवैध ठहराउदै त्यसपूर्वका पार्टीहरुको अलग अलग अस्तित्वमा रहने फैसला गरेपछि एमालेको केन्द्रीय सदस्य मनोनित हुनुभएको थियो ।
उहाँलाई राष्ट्रिय सभामा निर्वाचित गर्ने नेकपा माआवादी केन्द्रले मन्त्रीबाट राजिनामा गर्न दिएको निर्देशनको अवज्ञा गरी एमालेमा पस्नुभएका बादलसहित ७ जना मन्त्रीहरुलाई माओवादीले निष्काशन गर्दै संसद सचिवालयमा जानकारी दिएपछि उहाँले गृहमन्त्रीबाट राजिनामा दिई सोही साँझ पुन गैरसांसद मन्त्री नियुक्त हुनुभएको थियो ।
नेकपा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि गत बैशाख २७ गते संसदमा विश्वासको मत पाउन नसक्नुभएका प्रधानमन्त्री पदमुक्त भएपछि उहाँको मन्त्रिपरिषद्का सबै सदस्यपदमुक्त हुनुभएको थियो ।
संसदमा अन्यदलले बहुमतको सरकार बनाउने दावी पेश नगरेपछि बैशाख ३० गते पनि प्रधानमन्त्री नियुक्ति हुनुभएका के.पी. शर्मा ओलीले बैशाख ३१ गते विवादित शपथ लिए लगत्तै उहाँसहित आफूसंंग टाँसिदै आएका ७ जना माओवादी पृष्ठभूमिका नेताहरुलाई गैरसांसदको रुपमा पूर्ववर्त मन्त्रालय सम्हाल्ने गरि मन्त्री नियुक्तिको सिफारिस गर्नुभएको थियो ।
सर्वोच्च अदालतले गैरसांसदलाई पुनः मन्त्री नियुक्ति गर्नु संविधानको अक्षर भावनाको प्रतिकूल रहेको जनाउदै आजै सो सिफारिस र नियुक्ति बदर गरेको छ ।
यसरी बादललाई एकै दिन दुई झट्का लाग्न गएको छ ।