Prakash Adhikari May 21, 2021

 

काठमाडौं, ७ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएर प्रधानमन्त्री के.पी. शर्मा ओलीको नेतृत्वमा रहेको वर्तमान सरकारको विकल्प खोज्ने निर्णय गरेको छ ।

पार्टीका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा शुक्रबार बिहान बसेको पदाधिकारी बैठकले संविधान र लोकतन्त्र रक्षाका लागि सबै राजनीतिक दलहरुसंग छलफल गरी आवश्यक रणनीति तय गर्नका लागि सर्वदलीय बैठक आयोजना गरेको हो।

अरू दलहरूसँगको  बैठक ११ स् ३० बजे बस्ने बताइएको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीले राजीनामा नदिईकन राष्ट्रपतिले थोरै समय दिएर अर्को सरकार गठन गर्ने भनेर जालसाँझीपूर्वक काम  भइरहेको आरोप लगाउदै  संविधान बचाउन सबै पार्टीसँग कुरा गरेर ठोस कदम चाल्ने बताउनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्न आज अपरान्ह ५ बजेसम्म समय दिनुभएको छ ।

कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले पार्टीभित्र प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव र राष्ट्रपतिविरूद्ध महाअभियोगजस्ता प्रस्तावहरु पनि आएकोले आजै अरू दलसँग छलफल गरी रणनीति तय गरिने बताउनुभएको छ।

संसदको सबैभन्दा ठूलो दलको नेताको हैसियतले संविधानको धारा ७६ (३) अनुसार नियुक्त प्रधानमन्त्री ओलीले विश्वासको मत नलिई र राजीनामा नदिई नयाँ सरकार गठन गर्न राष्ट्रपतिले आह्वान गर्नुलाई कांग्रेसले संविधानको मर्म र भावनाविपरीत भएको निश्कर्ष निकाले छ ।

‘संविधानको मर्म र भावना कुल्चने काम प्रधानमन्त्रीले गर्दै आएको र राष्ट्रपतिले त्यो प्रवृत्तिलाई सघाएको हाम्रो निश्कर्ष छ,’  सहमहामन्त्री डा. महतले भन्नुभयो, ‘संविधान र लोकतन्त्र रक्षाका लागि हामी सबै विकल्पबारे दलहरूसँग आजै छलफल गरी निश्कर्षमा पुग्छौं।

Share Now

Leave a comment.