काठमाडौं, ७ जेठ । प्रतिनिधिसभामा बहुमत पुर्याउन सक्ने अवस्था देखिएकोले अर्को वैकल्पिक सरकार गठनका लागि राष्ट्रपतिमा बिहिबार साँझ सिफारिस गरेको दावी गर्दै आउनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले भावि वैकल्पिक सरकारका लागि आफूले पनि प्रयास गर्ने विवादस्पद अभिव्यक्ति दिनुभएको छ ।
बैशाख ३० गते प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतले प्रधानमन्त्री पदमा नियुक्त हुनुभएका प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक दायित्व पूरा नगरी राजिनामा पनि नदिईकन पुन अर्को सरकारको गठनका लागि बिहिबार साँझ राष्ट्रपतिमा सिफारिस गर्नुभएको थियो ।
उहाँले आफ्नो कदम संविधानअनुरुप सही भएको सावित गर्न आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा यस्तो परस्पर बाझिने अभिव्यक्ति दिनुभएको हो ।
उहाँले राष्ट्रपतिले सबै दलहरुलाई वैकल्पिक सरकार बनाउन ५ बजेसम्मको समय दिएको उल्लेख गर्दै त्यस्तो सरकार गठनको संभावना नभए आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन आफूलाई सहयोग गर्न पनि अन्य दलहरुसंग आग्रह गनुभएको छ ।
त्यही प्रतिनिधिसभामा रहेका दलहरुले धारा ७६ को उपधारा ३ अन्तरगत बनेको सरकारलाई समर्थन नगर्ने र अब उहाँकै नेतृत्वमा बन्ने सरकारलाई चाँही समर्थन गर्न सक्ने आधारको बारेमा उहाँले केही बताउनुभएन ।
अर्को धारामा पनि आफै अग्रसर !
पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले आफू संविधानको धारा ७६ (५) अनुसार पनि प्रधानमन्त्री बन्ने प्रयासमा रहेको बताउनुभएको छ। उहाँले राष्ट्रपतिले दिएको साँझ ५ बजेसम्मको समयमा सरकार बनाउनका लागि बहुमत जुटाउने प्रयासमा रहेको बताउनुभयो। उहाँले प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलको हैसियतमा नेकपा एमालेसंग अझैपनि १ सय २१ सदस्य रहेको र बहुमत जुटाउन अन्य दललाई भन्दा आफ्नो दललाई सजिलो हुने पनि दावी गर्नुभयो । अरु दलको समर्थन प्राप्त भयो र राष्ट्रपतिलाई भरपर्दो लाग्यो र नियुक्त गर्नुभयो भने आफूले सरकार बनाउने जिकिर गर्न पनि उहाँले छोड्नुभएन ।
उहाँले त्यसको एक महिनाभित्र विश्वासको मत लिने तर त्यतिबेला पनि विश्वासको मत नपाए स्वतः संसद विघटन हुने बताउनुभयो। “सरकार बनाएँ भने एक महिनाभित्र विश्वासको मत लिनेछु”, उहाँले भन्नुभयो, ” त्यसबेला पनि विश्वासको मत कसैले दिएन भने संसद विघटन गर्यो भन्न पाइने छैन।”
सरकार चलाउने मन पनि छैन !!
प्रधानमन्त्री केपी शर्मा ओलीले जतासुकैबाट विरोध भएको स्थितिमा आफूलाई सरकार चलाउन मन नरहेको भन्दै राष्ट्रपतिलाई भनेपछि नयाँ प्रक्रिया आरम्भ भएको कुरा पनि बताउनुभयो।
“न कोही समर्थन गर्छ र कोही साथ दिन्छ, यस्तोमा पनि सरकार चलाउन सकिन्छ। मलाई चलाउन मन छैन।” प्रधानमन्त्री ओलीले भन्नुभयो ।
इच्छा चुनावमै !
प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो परिस्थितिले मुलुकलाई चुनावतर्फ डोराए पनि जनमतले कसैलाई हानि नगर्ने बताउनुभएको छ।
“माओवादी र काँग्रेस सहमत हुँदा ११० ले सरकार बन्छ ? म देशलाई चुनावमा नलैजाम् कि मलाई समर्थन गर्नूस् भनिरहेको छु। यो मन्जुर छैन भने विकल्प दिनूस् भनिरहेको छु। उहाँहरूले देशलाई चुनावमा पुर्याउनु भयो भने आकाश खस्दैन।”
यो मङ्सिरमा नभए अर्को मङ्सिरमा चुनाव गराउनै पर्ने उल्लेख गर्र्दैै उहाँले आगामी फाल्गुनमा स्थानीय तहको चुनाव गराउनुपर्ने बताउनुभयो ।
जनताको अभिमत सबैले स्वीकार गर्नुपर्ने उहाँको भनाइ छ।
राष्ट्रपतिको बचाउ
प्रधानमन्त्री ओलीले सरकार गठनका लागि २४ घण्टा समय दिने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको बचाउ गर्नुभयो
सर्वोच्च अदालतको फागुन ११ को फैसलाले पुनर्स्थापित भएपछि प्रतिनिधिसभाले वैकल्पिक सरकार दिन नसकेको उल्लेख गर्दै अहिले दिइएको समय पर्याप्त रहेको दावी गर्नुभयो ।
“अढाई महिना पर्याप्त भएन ? अढाई महिनामा भएन ? तीन दिनमा भएन। हुनसक्ने हो भने चौबिस घण्टामा दलहरू मिलेर जाँदा होला नि। गए वैकल्पिक सरकार बनाए भयो। कुनै पनि षडयन्त्र होइन यो। तपाईँहरू वैकल्पिक सरकार बनाउनुस् मेरो रचनात्मक सहयोग हुनेछ।”
उहाँले शुक्रवार बिहान मात्रै आफूले विपक्षी दलका नेता शेरबहादुर देउवालाई फोन गरी सरकार बनाउन आह्वान गरेको बताउनुभयो।
उहाँले राष्ट्रपति गणतान्त्रिक संस्था भएकोले राष्ट्रपतिको विरोध गर्नु गणतन्त्रविरोधी काम भएको बताउनुभयो।
उहाँले राष्ट्रपतिलाई महाभियोग लगाउने सोंचाई आक्रोश र कुण्ठाको अभिव्यक्ति भएको बताउदै राष्ट्रपतिको विरोध गणतन्त्रमाथिको प्रहार भएको जिकिर गर्नुभयो ।
फेरी मनोगत विश्लेषण
प्रधानमन्त्री ओलीले आफू विश्वासको मत लिने प्रक्रियामा अघि बढेको भए विश्वासको मत प्राप्त हुँदैनथ्यो र त्यसपछि धारा ७६ को ५ कै प्रक्रियामा जानुपर्ने भन्दै आफ्नो कदमको औचित्य पुष्टि गर्न खोज्नुभयो।
“हामीले ज्येष्ठ १५ गते बजेट ल्याउनुपर्छ त्यो भन्दा अघि नीति कार्यक्रम ल्याउनुपर्छ। १४ गते सरकार बन्यो भने बजेट कसरी ल्याउनेरु” प्रधानमन्त्री ओलीले भन्नुभयो “हामीले समय लिएर विश्वासको मत लिने कर्मकाण्ड पूरा गर्ने समयको सुविधा छैन।”


















