Prakash Adhikari May 21, 2021

काठमाडौं, ७ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिनुभएको २४ घण्टाको समयभित्रै प्रतिनिधिसभाका बहुमत सांसदहरुको हस्ताक्षरसहित नेपाली कांग्रेसका सभापति तथा प्रतिनिधिसभामा संसदीय दलका नेता शेरबहादुर देउवा शितल निवास पुग्नुभएको छ ।

नेपाली कांग्रेसको उच्च स्रोतले दिएको जानकारी अनुसार उहाँको पक्षमा १ सय ४९ जना सांसदहरुले हस्ताक्षर गरेका छन् ।

नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बनाउन नेपाली कांग्रेस, नेकपा माओवादी, जनतासमाजवादी पार्टी र नेकपा एमालेकै असन्तुष्ट सांसदहरुको हस्ताक्षर रहेको बताइएको छ ।

संविधानको यो धारा संसदीय दलका नेता नभए पनि सांसदले समेत दावी गर्न पाउने भएकोले पार्टीको स्वीकृति बेगर पनि सांसदहरुले स्वतन्त्र रुपमा हस्ताक्षर गर्न पाउने जिकिर दलका नेताहरुको रहेको छ ।

यस पहिले नेकपा एमालेका असन्तुष्ट पक्षका नेता माधवकुमार नेपालसहित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनतासमाजवादी पार्टीका नेताहरु सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेर छलफल गरेका थिए ।

त्यस अगाडि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज बिहान ११ः३० बजे आफ्नै निवासमा सर्वदलीय बैठक बोलाउनुभएको थियो ।

सो बैठकले थप छलफल गर्ने निर्णय गरेपछि नेकपा एमालेकै असन्तुष्ट नेताहरुसंग बैठक बसेको थियो ।

Share Now

Leave a comment.