वाशिंटन डी.सी.(संयुक्त राज्य अमेरिका), २७ जेठ(बीबीसी) । अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले विश्वका विपन्न मुलुकहरुमा कोरोना भाइरसविरुद्ध खोप अभियानलाई सघाउन दुई वर्षको अवधिमा ५० करोड फाइजर खोप खरिद गर्ने भएको छ ।
संयुक्त राज्य अमेरिकाका सञ्चारमाध्यमहरूले जनाए अनुसार ती खोपहरु विश्वका करिब एक सय देशलाई उपलब्ध गराइने छ।
यो वर्षभित्र २० करोड खोपको मात्रा वितरण गरिनेछ भने बाँकी सन् २०२२ मा वितरण गरिनेछ।
अमेरिकालाई गरिब देशहरूमा कोरोनाभाइरस विरुद्धको खोपको दर वृद्धिका लागि सघाउन दबाब परिरहेको छ।
अमेरिकी राष्ट्रपतिका रूपमा पहिलो विदेश भ्रमणको सुरुवात गर्दै बाइडन यूकेमा ओर्लिएपछि पछिल्ला खबरहरू सार्वजनिक भएका हुन्।
भ्रमणको उद्देश्य
ह्वाइट हाउसले ५० करोड खोपको वितरणबारे आधिकारिक तवरले केही बताएको छैन।
तर विश्वका लागि अमेरिकाको खोप रणनीतिबारे सोधिएको प्रश्नमा बाइडनले भन्नुभएको छ, “मसँग एउटा छ र म त्यो घोषणा गर्नेछु।”
बुधवार साँझ सफोकस्थित आरएएफ मिलडनहल हवाई अखडामा अमेरिकी एअर फोर्स वान विमान अवतरण गरेको हेर्न एउटा ठुलो भीड उपस्थित थियो।
Tune in as the First Lady and I deliver remarks to US Air Force personnel and their families stationed at Royal Air Force Mildenhall. https://t.co/Dd9d4jfe00
— President Biden (@POTUS) June 9, 2021
बाइडनले उक्त अखडामा उपस्थित अमेरिकी सैनिकका परिवारहरूलाई सम्बोधन गर्दै न्याश्नल गार्डका रूपमा काम गरेका आफ्ना दिवंगत छोराको पनि सम्झना गर्नुभएको थियो।
उहाँले अमेरिकी साझेदारहरूलाई ‘समान विचार भएका राष्ट्रहरू’ भन्दै ‘अमेरिका पुनः फर्किएको’ बताउनुभयो।
विश्वका लोकतन्त्रहरू सबैभन्दा कठिन चुनौतीहरू र भविष्यका लागि सबैभन्दा महत्त्व राख्ने विषयहरूमा एक ठाउँमा उभिएको उहाँले बताउनुभया। पछि उहाँले कोर्नवालको भ्रमण गर्नुभएको थियो।
I’m on my way to the U.K. and Europe today for the first foreign trip of my presidency. I know that democracies can rally together to meet the challenges of this new age – this week, in Europe, we have the chance to prove that.
— President Biden (@POTUS) June 9, 2021
अमेरिकी राष्ट्रपति र ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले ब्रिटेनको दक्षिण पश्चिम कुनामा जी सेभेनको शिखर बैठक अघि बिहीबार पहिलो पटक भेटवार्ता गर्दै हुुनुहुन्छ।
आठ दिने भ्रमणमा राष्ट्रपति बाइडनले महारानी एलिजावेथ द्धितीयसँग विन्डजर क्यासलमा भेट्नुहुनेछ र राष्ट्रपतिको रूपमा पहिलो नेटो शिखर बैठकमा पनि भाग लिनुहुनेछ।

खोप उत्पादन
अमेरिकी राष्ट्रपतिले यो भ्रमण ‘अमेरिकाले विश्वका लोकतन्त्रहरूप्रति समर्थन जनाउने’ विषयसँग जोडिएको पनि उल्लेख गर्नुभएको छ।
युरोपको आफ्नो भ्रमणको अन्त्यमा उहाँले आफ्ना रुसी समकक्षी भ्लादीमिर पुटिनसँग भेट्ने कार्यक्रम छ।
५० करोड खोपबारे हामीलाई के थाहा छ ?
रोयटर्स समाचार संस्थाका अनुसार अमेरिकी सरकारले ९२ वटा कम आय भएका देश र अफ्रिकी सङ्घलाई उक्त खोप सहयोग गर्ने जनाएको छ।
कोभ्याक्स कार्यक्रममार्फत सो खोप वितरण गरिने भनिएको छ। अघिल्लो वर्ष स्थापित कोभ्याक्सले धनी र गरिब देशहरूबीच खोपको पहुँचमा विभेद नहोस् भन्ने आवाज उठाउँदै आएको छ।
अमेरिकाले यसअघि कोभ्याक्समार्फत ६ करोड खोपको मात्रा उपलब्ध गराउने घोषणा गरेको थियो।
पछिल्लो सम्झौताबारे जानकार व्यक्तिहरूले द न्यूयोर्क टाइम्स अखबारलाई बताए अनुसार अमेरिकाले ती खोप ूनाफाका लागि निर्धारण नगरिएका मूल्युमा खरिद गर्नेछ।
फाइजरका प्रमुख कार्यकारी अर्ल्बट ब्रुला यो अभियानको घोषणा हुँदा राष्ट्रपति बाइडनसँगै उपस्थित हुने ठानिएको छ।
यसै हप्ता ब्रिटेनका प्रधानमन्त्री जोनसनले अर्को वर्षको अन्त्यसम्म विश्वलाई खोप लगाइसक्ने प्रतिबद्धता गर्न आफूले जी सेभेनका नेताहरूलाई अनुरोध गर्ने बताउनुभएको थियो।
यूके र क्यानडाले कोभ्याक्स कार्यक्रमलाई आफूले दिने खोपको परिणामबारे खुलाएका छैनन्।
जी सेभेनमा विश्वका सात समृद्ध अर्थतन्त्र भनिने देशहरू क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, यूके र संयुक्त राज्य अमेरिका अनि युरोपेली सङ्घ पनि आबद्ध छ।
यसपटक शिखर बैठकमा कोभिडपछिको पुनर्स्थापना र बलियो स्वास्थ्य प्रणालीबारे छलफल हुनेछ।


















