म्यासाचुसेट्स( संयुक्त राज्य अमेरिका) , ३० जेठ (बीबीसी) । संयुक्त राज्य अमेरिकाको समुद्रमा माछामार्ने खासमा झिँगे माछा सङ्कलन गर्ने काम गर्दै आएका माइकल प्याकर्डलाई ह्वेलले निल्यो र ओकल्यो ।
माइकलले आफूलाई कसरी ह्वेलले निलेपछि फेरि बच्ने भाग्य प्राप्त भयो भन्ने बारमो पत्रकारहरूलाई बयान दिनुभएको छ।
संयुक्त राज्य अमेरिकाको म्यासाचुसेट्सको प्रोभिन्सटाउन शहर नजिकै समुन्द्रमा गोता लगाइरहेका बेला उहाँ विशाल जीव ह्वेलको मुखभित्र पर्नुभयो । करिब ३० ४० सेकेन्डमा ह्वेलले उहाँलाई ओकली दियो र उहाँ पुन समुद्रको पानी हुँदै यस धर्तीमा आइपुग्नुभयो ।
प्याकर्डको घुँडामा केही चोट लागेको हुनसक्ने बाहेक अरू केही नभएको बताइएको छ।
उहाँकी श्रीमतीले उहाँलाई अर्को जागिर खोज्न आग्रह गरिरहनुभएको छ तर उहाँ ४० वर्षदेखिको आफ्नो करिअर छोड्ने सोचमा हुनुहुन्न।
हम्पब्याक ह्वेल ५० फिटसम्म लामो हुन सक्ने र त्यसको तौल ३६ टनसम्म हुन सक्छ।
विश्व वन्यजन्तु कोष डब्ल्यूडब्ल्यूएफका अनुसार संसारभर उक्त ह्वेलको सङ्ख्या ६० हजार रहेको छ।
प्याकर्डले स्थानीय अखबार केप कड टाइम्सलाई भने अनुसार उहाँ सहकर्मीहरूसाथ डुङ्गामा शुक्रवार बिहान समुन्द्रतिर जानुभएको थियो ।
उहाँका अनुसार मौसम सफा थियो र २० फिट परसम्मका दृश्य सजिलै देखिन्थो।
समुन्द्रको पानीमुनि जान लगाइने स्कूबा लुगा लगाएर पानीमा हाम फाल्दा उहाँले ठूलो बस्तु आफ्ना अगाडि देख्नुभयो त्यसपछि सबैकुरा कालो भयो।
उहाँले त्यो क्षेत्रमा पाइने ठूलो सेता शार्कले आक्रमण गरेको अनुमान गर्नुभयो तर त्यस विशालकाय जीवको भित्री मुखको वरिपरि शार्कको जस्तो दाँत नभएको महसुस गर्नुभयो ।
कसरी बाहिर निस्के?
त्यसपछि उहाँलाई लाग्यो ,ूहे भगवान् म त ह्वेलको मुखभित्र छु र उसले मलाई निल्ने कोसिस गरिरहेको छ भन्ने थाहा पाएँ। यत्ति नै भयो, म मर्ने भएँ।ू
त्यसपछि माइकल प्याकर्डले आफ्नी श्रीमती र १२ र १५ वर्षका आफ्ना छोरा सम्झनुभयो।
त्यतिकैमा उहाँ अचानक उनी पानीमाथि उत्रन पुग्नुभयो र टाउको हल्लाउन थाल्नुभयो।
ूमलाई हावामा फालियो, त्यसपछि पानीमा खसेँ। म मुक्त भएको थिएँ र पानीमा तैरिरहेको थिएँ। मैले विश्वास नै गर्न सकिन‘ सब कथा सुनाउन म यहाँ छु उहाँले भन्नुभयो ।
उहाँका सहकर्मीहरूले उहाँलाई अधैर्य भएर खोजिरहेका थिए। उनीहरूले प्याकर्डलाई देखे र डुङ्गामा ल्याए।
प्रोभिन्सटाउन फायर डिपार्टमेन्टले सीबीएस न्यूज एजेन्सीलाई स्थानीय समय बिहान सवा आठ बजे झिँगे माछा समात्ने मानिसलाई सहयोग आवश्यक परेको खबर पाएको पुष्टि गरेको छ।
उहाँ अस्पतालबाट डिस्चार्ज भएपछि पत्रकारहरूले अन्तर्वार्ता लिएका थिए।
हम्पब्याक ह्वेलले मुख बाएर जति सक्छ उति धेरै खानेकुराहरू निल्छ। तर वैज्ञानिकहरूले प्याकर्डलाई जे भयो त्यो एक प्रकारको दुर्घटना भएको ठान्छन्।
एकजना विज्ञले केप कड टाइम्सलाई ह्वेलले मानिस निलेको अहिलेसम्म नसुनेको बताउनुभएको छ ।