Prakash Adhikari September 1, 2021

भरतपुर(चितवन), १७ भाद्र । नेपाली कांग्रेस  चितवनका पूर्वपार्टी सभापति विकास कोइरालाको कारबाही फुकुवा गराउन दबाबस्वरूप नेपाल तरुणदल चितवनले ध्यानाकर्षण पत्र बुझाएको छ । तरुणदल चितवनले आज पार्टी जिल्ला सभापतिलाई आज ध्यानाकर्षण पत्र हस्तान्तरण गर्दै कारबाही फुकुवाका लागि दबाब दिएको हो ।

तरुणदल जिल्ला अध्यक्ष राजन ताम्राकारले कांग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठलाई ज्ञापनपत्र बुझाउनुभएको हो । बाहौँ महाधिवेशनअन्तर्गत जिल्ला सभापति पदमा निर्वाचित कोइरालालाई केन्द्रीय नेतृत्वले अपमानजनक र अलोकतान्त्रिक शैलीबाट अपदस्त गर्ने तथा गैरराजनीतिक क्रियाकलापलाई राजनीतिक रङ दिएको भन्दै तरुणदलले ध्यानाकर्षण गराएको हो ।

विसं २०७० सालको संविधान सभा निर्वाचनमा साविक चितवन क्षेत्र नम्बर ४ मा पार्टी केन्द्रीय सभापति सुशील कोइरालाको उम्मेदवारी रहेको स्थानमा बागी उम्मेदवारी दिएको भन्दै त्यस घटनामा आधारित रही विसं २०७० कात्तिक २ गतेको निर्णयले केन्द्रीय समितिमा अनुशासनको कारबाहीका लागि पत्र पठाइएको थियो । उहाँसँगै कारबाहीमा परेका अन्यको फुकुवा भई निर्वाचनमा टिकटसमेत दिईनु तर कोइरालाको फुकुवा नहुनु दुःखद् रहेको तरुणदलले जनाएको छ ।

नेपाली कांग्रेसका तात्कालीन उपसभापति तथा हालका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध उम्मेद्वारी दिनुभएका तनहुँका पूर्ण गुरुडंलाई पार्टीले गत निर्वाचन पहिले नै निलम्बन फुकुवा गरी पार्टी गतिविधिमा संलग्न गराईसकेको छ ।

नेपाली कांग्रेसका संस्थापक नेता वी.पी.कोइरालालाई मृत्युदण्ड दिनुपर्छ भन्नेहरुले खोलेका पार्टी र निर्वाचनमा कांग्रेसका उम्मेदवार हराउन भूमिका खेल्ने राष्ट्रिय प्रजातन्त्र पार्टीसहित अन्य पार्टीका कार्यकर्ताहरु ससम्मान पार्टीका पदाधिकारी चयन भएका र गत आम निर्वाचनमा नेपाली कांग्रेससंगको सरकारी गठबन्धनमा हुँदाहुँदै विपक्षीसंग चुनावी गठबन्धन गरेर कांग्रेस हराउन मुख्य भूमिका खेल्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित सो पार्टी , मधेशवादी पार्टी जनता समाजवादीसंग सत्ता गठबन्धन कायम गरेको कांग्रेसले पार्टीले कारबाही गर्दा पनि अनुशासित भई  सजाँय शिरोपर गरेर झण्डै ८ बर्ष व्यतित गर्ने इमान्दार कार्यकर्तामाथिको कारबाही फुकुवा नगर्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उहाँको नेतृत्वमाथि कार्यकर्तालाई न्याय गर्न नसकेको आरोप लागेको छ ।

विसं २०७६ चैत १३ गते कांग्रेस चितवनको बैठकको निर्णयले कोइरालाको क्रियाशील सदस्यता नवीकरणका लागि सिफारिस गरेको भए पनि कुनै निर्णय नआउँदा आफूहरू गम्भीर भएको तरुणदलले जनाएको छ । कोइराला विसं २०६७ को १२ औँ महाधिवेशनबाट जिल्ला सभापतिमा निर्वाचित हुनुभएको थियो । निर्वाचित बनेसँगै विभिन्न कारणले जिल्लाको विशेष अधिवेशनबाट उहाँलाई सभापतिबाट हटाइएको थियो । ज्ञापनपत्र बुझाउँदै तरुणदलले कोइरालाको कारबाही फुकुवा भएर क्रियाशील सदस्या नआएसम्म जिल्लाको अधिवेशन गर्न नदिइने चेतावनी दिएको छ ।

दलको ध्यानाकर्षण पत्र बुझ्दै जिल्ला सभापति श्रेष्ठले आफूहरूले केन्द्रमा कारबाही फुकुवाका लागि पत्राचार गरेको बताउनुभयो । विधानत कारबाही फुकुवा नहुँदा कांग्रेस चितवनसमेत अचम्मित भएको भन्दै उहाँले यसबारे जिल्ला समितिको बैठकमा छलफल गर्ने र पुनः आग्रह गरेको बताउनुभयो । समितिको आजको बैठकले पार्टीको वडा अधिवेशन यही भदौ २१ गते गर्ने पनि निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

Share Now

Leave a comment.