शारजहाँ(युएई), २ चैत्र । आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तर्गत आज नेपाली राष्ट्रिय टोली पपुवा न्युगिनी (पीएनजी)सँग प्रतिस्पर्धा गर्दैछ।
खेल युएईको शारजहाँ क्रिकेट मैदानमा नेपाली समय अनुसार ११ः१५ मा सुरु हुँदैछ ।
त्रिदेशीय सिरिजमा नेपालले पीएनजीसँगै घरेलु टोली यूएईसँग खेल्नेछ।
पीएनजी तुलनात्मक रुपमा कमजोर देखिए पनि यूएई नेपालका लागि बलियो प्रतिद्वन्द्वी हो। नेपालले पीएनजीसँग अहिलेसम्म दुई वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको छ।
दुवै खेलमा नेपाल विजयी भएको थियो। आज पनि नेपाली खेलाडीहरु पीएनजीमाथि बिजय पाउनेमा ढुक्क छन्।
सिरजमा नेपालले मार्च १८ मा यूएई, मार्च २१ मा पुनः यूएई र मार्च २२ मा पीएनजीसँग प्रतिस्पर्धा गर्नेछ।
लिग–२ मा नेपालले आठमा चार जित र चार हारको नतिजासहित आठ अंक बनाएका छ । नेपाल अहिले तालिकाको छैटौँ स्थानमा छ।
सात टोली सहभागी लिग–२ मा सबै राष्ट्रले एकआपसमा ३२ वटा खेल खेल्नेछन्। ३२ खेलपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकपमा छनोट हुनेछन्।
आफूले प्रतिस्पर्धा गरेका सबै खेलमा हार व्यहोरेको पपुवा न्यु गिनी अंकतालिकाको पुछारमा छ। युएई भने स्कटल्याण्डलाई पछि पार्दै दोश्रो स्थानमा उक्लेको छ जसले १५ खेलमा ८ जित, ५ हार, १ बराबरी र १ नतिजाविहिन खेल खेलेको छ।
ओमान ३६ अंक सहित शीर्षमा छ भने नेपाल ८ अंक सहित छैठौं स्थानमा छ।
नेपाली राष्ट्रिय टिम सन्दीप लामिछानेको कप्तानीमा मैदानमा उत्रिदै छ ।
टोलीमा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, पूर्वउपकप्तान दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, रोहितकुमार पौडेल, सोमपाल कामी, विक्रम सोब, भीम सार्की, पवन सरार्फ र करण केसी सम्मिलित छन् ।
लिग २ का खेलमा प्रतिस्पर्धा गर्नका लागि अभ्यास खेलको लागि श्रीलंका पुगेको नेपाली राष्ट्रिय टोलीले त्यहाँको नेभी र पुलिससंगको ३ खेल जितेको थियो भने संयुक्त टोलिसंगको खेलमा नेपाली टिम पराजित भएको थियो ।
टी २० को फम्र्याटमा नेपाली टिम फिट देखिए पनि ५० ओभरको खेलमा नेपाली टोली त्यति अभ्यस्त देखिदैन । नेपाली ब्याट्सम्यानहरु मैदानमा टिकेर खेल्दा खेल जितिने मन्त्र सिक्न नपाए जस्ता देखिन्छन् । उनीहरु पावर प्लेमा नै लडे सट हानेर चौका छक्काबाट रन जोड्न खोज्दा चिप्लने गरेका छन् ।
श्री लंकाको अभ्यास खेलले पनि नेपाली टोलीले ब्याटिङमा ब्यापक सुधार गर्नुपर्ने आवश्यकता औल्याएको छ। नेपालले अभ्यासको चार खेलमध्ये एक खेलमा मात्र ५० ओभर नै ब्याटिङ गरेको थियो।


















