किएभ(युक्रेन), २ चैत्र । बुधबार पनि युक्रेनका केही सहरका हवाई आक्रमणको जनाउ दिने साइरनको आवाजले सहरवासीलाई ब्युँझाएको छ । किएभमा कर्फ्यु लागेको ३६ घण्टा भएको छ र यसबीचमा त्यहाँ हवाई आक्रमण कायम छ। मङ्गलवार त्यहाँ कम्तीमा ५ जना मानिस मारिएको बताइएको छ ।
रुसी सेनाको घेराबन्दीमा परेका झन्डै ३० हजार सर्वसाधारण मङ्गलवार मरिऊपोल अन्यत्र जान सफल भएको युक्रेनका अधिकारीहरूले बताएका छन् तर रुसी फौजले मरिऊपोलमा एक अस्पताल नियन्त्रणमा लिएका छन् जहाँ ४०० बिरामी अनि चिकित्सकीय कर्मचारी फसेका छन् ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले रुससँगको शान्ति वार्ता ‘‘थप यथार्थपरक सुनिन’’ थालेको बताउनुभएको छ । चौथो चरणको शान्ति वार्तामा केही प्रगति भएपछि उहाँको यस्तो धारणा सार्वजनिक भएको हो ।
रुसी फौजको आक्रमण जारी रहेकै बेला कीएभसम्म यात्रा गरेका पोल्यान्ड, चेक गणतन्त्र अनि स्लोभेनियाका प्रधानमन्त्रीहरूलाई युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले यस्तो कुरा बताउनुभएको हो ।
युरोपका तीन प्रधानमन्त्री युक्रेनमा
रुसी आक्रमण चर्किएसँगै युक्रेनको साथमा उभिनका लागि पोल्याण्डदेखि किएभसम्म लामो खतरनाक रेल यात्रा गरेर पुगेका तीन जना युरोपेली नेताहरूको युक्रेनले प्रशंसा गरेको छ।
मङ्गलवार साँझ किएभमा कर्फ्यु लागु रहेकै बेला पोल्याण्ड, स्लोभेनिया र चेक गणतन्त्रका प्रधानमन्त्रीहरूले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट गर्नुभएको थियो।
“हामी तपाईँहरूको साहसी लडाइँको प्रशंसा गर्छौँ “, भेटपछि सामाजिक सञ्जाल ट्विटरमा पेत्र फियालाले लेख्नुभएको छ।
“हामीलाई थाहा छ तपाईँहरूको हाम्रो जीवनका लागि पनि लडिरहनु भएको छ। तपाईँहरू एक्लो हुनुहुन्न। हाम्रा देशहरू तपाईँका साथमा छन्।”
पोल्याण्डका प्रधानमन्त्री मातेउस मोराभिएत्सकीले आफूहरूले युक्रेन गुमाए युरोप अहिलेको जस्तै नहुने टिप्पणी गर्नुभएको छ।
मोराभिएत्सकी, फियाला र स्लोभेनियाका यानेस यान्सा गत फेब्रुअरी २४ तारिखमा रुसले आक्रमण सुरु गरेयता युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेट्ने प्रथम अन्तर्राष्ट्रिय नेता हुनुहुन्छ।
“तपाईँहरूको भ्रमण युक्रेनको लागि समर्थनको शक्तिशाली अभिव्यक्ति हो”, जेलेन्स्कीले किएभ पुगेका नेताहरूको समूहलाई भन्नुभएको बताइएको छ।
किएभमा युरोपका तीन नेताहरूसँग छलफल भइरहेका बेला ठूलो विस्फोटनको आवाज सुनिएको थियो।
युक्रेन पुगेका नेताहरूले आफूहरूसँग कुनै निश्चित म्यान्डेट नरहेको तर फ्रान्समा गत हप्ता भएको युरोपेली सङ्घको सम्मेलनका क्रममा उल्लेख गरिएका कारण ब्रसल्सका नेताहरूलाई भ्रमणको जानकारी रहेको बताउनुभएको छ।
मारिओपोलबाट झन्डै ३० हजार सर्वसाधारण बाहिरिए
रुसी सेनाको धेराबन्दीमा परेका झन्डै ३० हजार सर्वसाधारण मङ्गलवार अन्यत्र जान सफल भएको युक्रेनका अधिकारीहरूले बताएका छन्।
झन्डै २० हजार मानिस दक्षिणी सहर मारिओपोलबाट सयौँ कारमा मानव निकास मार्ग हुँदै निस्कन सफल भएका हुन्।
रुसले उक्त सहरमा आफ्नो पकड बढाउँदै लगेको छ।
रुसी सेना छलेर जानका लागि कच्ची सडकको प्रयोग गरेका केही सर्वसाधारणले आफूहरूको यात्रा कष्टपूर्ण रहेको बताए।
मारिओपोलका स्थानीय अधिकारीहरूका अनुसार सेनाले उक्त सहरको मुख्य अस्पताल आफ्नो नियन्त्रणमा लिएको छ जहाँ ४०० भन्दा बढी बिरामी अनि स्वास्थ्य कर्मचारी छन्।
अमेरिकाले दियो १३ अर्ब डलर
अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई १३ अर्ब डलर भन्दा बढीको सुरक्षा सहायता समावेश एक विधेयकमा हस्ताक्षर गर्नुभएको छ।
रुसी राष्ट्रपतिको युक्रेनमाथिको आक्रमणले विश्वका सबै मानिसलाई एकीकृत बनाएको र अमेरिकी संसद्मा पनि डेमोक्रयाट र रिपब्लिकनहरूलाई एक ठाउँमा उभ्याएको उहाँले बताउनुभयो।
नेटोको आपत्कालीन बैठकमा भाग लिन बाइडन आगामी साता युरोप जाँदै हुनुहुन्छ।


















