Prakash Adhikari March 16, 2022

 

काठमाडौं, २ चैत । नेपाल इन्जिनियर्स एसोसिएनको निर्वाचनमा कांग्रेस निकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन(को प्यानल नै विजयी भएको छ।

डा.हरिबहादुर दर्लामीको नेतृत्वमा ३३औं केन्द्रीय कार्यकारिणी समितिका लागि उम्मेदवारी दिएका २३ जना नै विजयी हुनुभएको छ ।

एशोसिएसनबाट प्राप्त जानकारी अनुसार अध्यक्षमा दर्लामी ३ हजार ७ सय ३२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

अध्यक्षका अन्य उम्मेदवारमा डा सुरज लामिछानेले २ हजार ८ सय ११, डा हरिराम पराजुलीले १ हजार २ सय ८५, दिलीपकुमार झाले १ हजार ९२ र राजेन्द्र हाडाले ३ सय २५ मत हासिल गर्नुभएको छ।

दर्लामीको प्यानलबाट उपाध्यक्षमा नारायणप्रसाद अधिकारी, महासचिवमा रविभुषण झा, उपमहासचिवमा सरोज धिताल,कोषाध्यक्षमा दिनेश त्रिपाठी र सह कोषाध्यक्षमा दिपक अधिकारी विजयी हुनुभएको छ।

नेइएको निर्वाचनका लागि पाँच समूहले प्रतिस्पर्धा गरेका थिए। कांग्रेसबाट दिलीपकुमार झाको नेतृत्वमा अर्को बागी उम्मेदवारको समूह पनि चुनावी मैदानमा थियो । माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी निकट इन्जिनियरहरुको छुट्टै प्यानल थियो।

एमाले र लोकतान्त्रिक समाजवादी पक्षका इन्जिनियरहरुले गठबन्धन बनाएका थिए। मजदुर किसान पार्टी निकटका इन्जिनियरहरुले पहिलोपटक केन्द्रमा प्यानल खडा गरेर प्रतिस्पर्धा गरेका थिए।

मधेस प्रदेशमा भने विवाद भएपछि मतगणना रोकिएको छ। गणना सकिएका अन्य प्रदेशमा भने कांग्रेस निकटको सिडेन प्यानलसहित विजय भएको छ।

Share Now

Leave a comment.