Prakash Adhikari August 3, 2022

नयाँदिल्ली(भारत), १८ श्रावण । पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्र्रेसका नेता विमलेन्द्र निधि र भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका बिदेश विभाग प्रमुख बिजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।

नयाँदिल्लीको दिनदयाल मार्गस्थित भारतीय जनता पार्टीको कार्यालयमा बुधबार बिहान भएको एक घण्टा लामो भेटमा नेपाल भारत दुई देश तथा नेपाली कांग्र्रेस र भारतीय जनता पार्टीबीचको सम्बन्ध आगामी दिनमा थप सुदृढ बनाउने लगायतका बिषयमा छलफल भएको थियो ।

त्यस अबसरमा कांग्रेस पूर्वउपसभापति निधिले रामजन्मभूमि अयोध्यामा निर्माणाधिन राम मन्दिरमा जनकपुरधामको जानकी मन्दिर तथा मिथिलाबासीको तर्फबाट धातुको धनुष नेपालमै निर्माण गरी राख्ने बिषयमा श्रीराम जन्मभूमि तीर्थक्षेत्रका पदाधिकारीसँगको बैठक उपलब्धीमूलक भएको बताउनुभयो।

भेटमा निधिले यसले दुई देशबीच रहेको आदिकालदेखिको सम्बन्धलाई सबै क्षेत्रमा दीर्घकालीन रुपमा थप बलियो बनाउने बिश्वास व्यक्त गर्नुभएको थियो।

भेटमा भाजपा विदेश विभाग प्रमुख चौथाइवालेले राम मन्दिरमा धनुष राख्ने काम महत्वपूर्ण हुने भन्दै यसले दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने बिश्वास व्यक्त गर्नुभएको थियो।

शुक्रबार अयोध्या पुग्नुभएका निधिले राम मन्दिरमा धनुष राख्न गरेको प्रस्तावलाई श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका महामन्त्री चम्पत रायले आफ्नो कार्य समितिमा छलफल गरी सहमति गराउने बचन दिएका थिए ।

Share Now

Leave a comment.