बेलका (उदयपुर),१८ श्रावण । सप्तकोसीको नदीले साविकको बहाव धार छोडेर पुरानो धार फर्किदा उदयपुर,सप्तरी र सुनसरी जिल्लामा बाढी पसेको छ । सप्तकोशीको दुई धारको बीचमा पर्ने श्रीलंका टापुका बासिन्दाहरु पश्चिमतिरको आफ्नो सम्पर्क टुटेर आपूर्ति रोकिने भयले आक्रान्त छन् भने नदीले काटेर बनाएको नयाँ धार(भंगालोमा ) पानी बढी बग्न थालेकोले उद्धारमा पनि समस्या उत्पन्न हुँदै गएको छ ।
आज बिहान ३ बजेदेखि सप्तकोसी नदी उदयपुरको बेलका नगरपालिका वडा नम्बर ८ बाट पश्चिमतर्फ पसेको हो। सुरुमा थोरै मात्र पानी पश्चिमतर्फ पसेकोमा अहिले निरन्तर पानीको मात्रा बढिरहेको हो।
पश्चिमतर्फ पानीको मात्रा बढ्दा उद्धारमा समस्या देखिन थालेको छ। बिहानसम्म मानिसहरू हिँडेरै नदी तरिरहेका थिए। अहिले भने पानीको मात्रा बढेसँगै बेलकाका वडा नम्बर ३ र २ र ९ का बासिन्दा टापुमा फसेका छन्। यस्तै बराहक्षेत्र नगरपालिकाका २ वटा वडाका बासिन्दा पनि टापुमा फसेका छन्।
उद्धारमा खटिएका सशस्त्र प्रहरी उपरीक्षक कृष्ण अधिकारीका अनुसार अब डुंगाबाट तार्नुपर्ने अवस्था आएको छ। यसका लागि सशस्त्र प्रहरीका ३ वटा डुंगा विपदस्थलमा पुर्याइएको छ।
यस्तै टापुमा फसेका नागरिकको उद्धारका लागि २ सयभन्दा बढी सशस्त्र प्रहरी परिचालन गरिएको छ।
नेपाली सेनाको टोली पनि उद्धारका लागि आइसकेको छ।
गोताखोर पनि
नदीले धार परिवर्तन गर्दा जोखिममा परेका नागरिकको उद्धारका लागि गोताखोर समेत प्रयोग गरिएको छ।
सशस्त्र प्रहरीका तालिम पात्र गोताखोर प्रभावित क्षेत्रमा पुर्याइएको शसस्त्र प्रहरीका डीआईजी कमल गिरीले जानकारी दिनुभएको छ।
उनले उद्धारका लागि कुनै कमी हुन नदिने बताए। नदीले धार परिवर्तन गरेपछि जोखिममा परेका स्थानीयको उद्धार तथा पुनःस्थापनका लागि प्रमुख जिल्ला अधिकारीसहितको टोली प्रभावित स्थानमा पुगेको छ।
२० हजार प्रभावित, ५ हजारको उद्धार

बेलका नगरपालिका ८ डुम्री बोटे लाहुरेखोचबाट पश्चिमतर्फ पसेको सप्तकोशीले उकासेको क्षेत्रमा बसोबास गरेका बेलकाका २ हजार ३ सय परिवार विस्थापित हुने अवस्थामा पुगेका छन्।
बेलका नगरपालिकाका मेयर अशोक कार्कीले अहिलेसम्म ५ हजार जतिलाई सुरक्षित स्थानमा सारिएको र अरुलाई सार्ने काम भइरहेको बताउनुभएको छ। नदी पश्चिम तर्फ सोझिँदा बेलकामा मात्रै २० हजार नागरिक प्रभावित हुने उहाँको कथन छ।
नदी पश्चिमतर्फ प्रवेश गर्दा सुनसरीको बराह क्षेत्र नगरपालिकाका श्रीलंका टापुका पनि ५ सयभन्दा बढी परिवार विस्थापित हुने अवस्थामा पुगेका छन्।
३ जिल्लाका ५ पालिका जोखिममा
सप्तकोसी पुरानै धारमा फर्किदा उदयपुर, सप्तरी र सुनसरीका ५ वटा पालिका जोखिममा परेका छन्।
नदीले धार परिवर्तन गर्दा बेलका नगरपालिकाका वडा नम्बर ८, ९, ३ र २ नम्बर वडाका २ हजार ३ सय घरपरिवार संकटमा परेका छन्।
सुनसरीको बराह क्षेत्रको ६ र ९ नम्बरका १ हजार ३ सय घरधुरी पनि नदी पश्चिम सर्दा विस्थापन हुने अवस्थामा पुगेका छन्।
बराहक्षेत्र नगरपालिकाका पूर्वमेयर निलम खनालका अनुसार सप्तकोसी नदीका पश्चिम सोझिँदा सुनसरी र उदयपुरका ३० हजारभन्दा बढी जोखिममा पर्ने अवस्था छ।

नदी बस्तीतर्फ सोझिएपछि स्थानीय रातिदेखि नै सामान बोकेर सुरक्षित स्थानतर्फ गइरहेका छन् । बाढीबाट प्रभावितलाई ट्याक्टरमा राखेर स्थानीय विद्यालयमा ओसार्ने क्रम चलिरहेको ८ नम्बरका वडाध्यक्ष जयकुमार राईले बताउनुभयो।
सशस्त्र प्रहरीका डीआईजी कमल गिरीले विस्थापित नागरिकलाई सुरक्षित स्थानमा सार्न जनपद, शसस्त्र प्रहरी र नेपाली सेना खटिएको जानकारी दिनुभएको छ। अहिलेसम्म मानवीय क्षति भने भएको छैन ।
पश्चिमतर्फ धार पविर्तन गरेको सप्तकोसी नदी भागलपुरमा पुगेर मिसिएको छ।
डुम्रीबोटे लाहुरे खोजबाट पसेको कोसीको बाढीले श्रीलङ्का टापुलगायत सिसौलीघाट, धौरी टप्पु, चिलिमे, एबीसी, भागलपुर, रामनगरका स्थानीय प्रभावित भएका छन् ।
कोसीको बाढी पस्दा बेलकाको १, २, ३, ८ र ९ वडाको धौरीटापु, श्रीलङ्का टापु, भागलपुर, गरैया, तपेश्वरी लगायतका बस्ती र छिमेकी जिल्ला सप्तरीको सप्तकोसी र कन्चनरुप र सुनसरीको वराहक्षेत्र नगरपालिकाको ६ र ९ को श्रीलङ्का टापुमा क्षति पुग्ने खतरा रहेको बताइएको छ ।
जोखिममा परेका गाउँका स्थानीयहरू सुरक्षित स्थानको खोजी गर्दै आ–आफ्ना घरमा लत्ताकपडा, चौपायाहरू लिएर निस्केका छन् ।
बाढी प्रधावित स्थानीयहरूलाई सुरक्षित रुपमा सार्न नगरपालिका लागि परेको बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख कार्की बताउनहुन्छ ।
सप्तकोसीले असारदेखि नै दैनिक रूपमा कटान गरिरहेको थियो । ४० -५० बिगाहा जमिन कटान गरेपछि बाढी बस्तीतिर पसेको बेलका नगरपालिका वडा नं ८ का अध्यक्ष जयकुमार राईले बताउनुभयो ।
सप्तकोसी नदीको पश्चिमतर्फको बाँध फुटाएर बस्तीमा पसेर प्रभावित बनाएको समाचार बाहिर आएपछि प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की घटनास्थल पुग्नुभएको छ ।

नदीले धार परिवर्तन गर्दा सप्तरीका सप्तकोसी नगरपालिका, कञ्चनरुप र कंकालनी, सुनसरीको बराहक्षेत्र नगरपालिकाका २ वटा वडा र उदयपुरको बेलका नगरपालिकाका ४ वटा वडाका बासिन्दा खतरामा परिरहेका छन्।
सप्तकोसी नदीले २ महिनायता निरन्तर डुम्रीबोटेमा पश्चिमतर्फ कटान गरिरहेको थियो। कटान रोक्न प्रयास भएपनि प्रभावकारी नभएको बेलका नगरपालिकाका मेयर अशोक कार्कीले बताउनुभयो ।।


















