Prakash Adhikari August 3, 2022

काठमाडौं, १८ श्रावण । बुधवार दिउँसो १ः१० बजे नेपाल वायुसेवा निगमको लुुम्बिनी नामक न्यारो बडी विमान काठमाडौंबाट मुम्बईका लागि उड्ने तरखरमा थियो।
यात्रुहरू बोर्डिङ पास लिएर सुरक्षाजाँचको प्रक्रिया सकेर विमान चढिसकेका थिए र विमानको ढोका पनि लागिसकेको थियो।

तर १ सय ४१ यात्रु चढेको विमान अन्तिम क्षणमा उडान रोकिएपछि विमानभित्र कोलाहल मच्चियो।

केहीबेरमा विमानभित्र सुरक्षा अधिकारीहरू प्रवेश गरे अनि एक यात्रुलाई लिएर बाहिरिए। ती व्यक्तिसँगै बसेकी एक महिला पनि सँगै गइन्।

त्यसको केहीबेरमै ‘ उड्न लागेको विमानबाट आतङ्कवादी भएको शङ्कामा एकजना पक्राउ’ भन्ने आशयका समाचारहरू बाहिर आए।तर यथार्थ त्यस्तो थिएन ।

सुनचोरीका आरोपी खोजिएको प्रहरीका दावी

दिउँसो १ बजेतिर जिल्ला प्रहरी कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षामा खटेका प्रहरीलाई चोरीको आरोप लागेका एक व्यक्तिलाई पक्राउ गर्न सूचना पठायो।

उक्त सूचना, व्यक्तिको नाम र तस्बिरको आधारमा प्रहरीले सन्दिग्ध व्यक्तिलाई मुम्बई जान लागेको विमानबाट गिरफ्तार गरेको प्रवक्ता डीआईजी टेकप्रसाद राईले बताउनुभयो।

विमानस्थलको सुरक्षा प्रमुख डीआईजी श्यामलाल ज्ञवालीका अनुसार कैलालीमा सुन चोरेको आरोप लागेका ती व्यक्तिमाथि छानबिन गर्न भनिएको थियो।

ती व्यक्तिको परिचय गोप्य राखिएको छ।

“एकजना पुरुषलाई पक्राउ गरेका हौँ। उनीसँगै रहेकी एक महिलाले यात्रा गर्न मानिनन्। बाँकी यात्रु लिएर विमान उड्यो”, उहाँले भन्नुभयो।

उहाँका अनुसार झन्डै दुई घण्टापछि उक्त विमान उड्यो।

“घटनाक्रमभन्दा अलग जानकारी प्रवाह भयो। अनुमानको आधारमा सार्वजनिक मुद्दाको विषयलाई आतङ्कवादसँग जोडियो”, उहाँले भन्नुभयो।

सामाजिक सञ्जालमा त्रिभुवन विमानस्थलको सुरक्षा प्रबन्धबारे विभिन्न प्रश्न उठ्न र टीकाटिप्पणी हुन थाले।

मिथ्या सूचना

तर उक्त घटनाबारे मिथ्या सूचना प्रवाह भएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी टेकप्रसाद राईले बताउनुभएको छ।
“सन्दिग्ध आतङ्कवादी पक्राउ परेका होइनन्। जे होइन त्यो विवरण सार्वजनिक भयो। यस्ता खालका सामग्रीले राष्ट्रिय सुरक्षाबारे त प्रश्न उठाउँछ नै साथै अन्तर्राष्ट्रियस्तरमा पनि देश र यहाँको सुरक्षा निकायसम्बन्धी गलत सन्देश प्रवाह गर्छ।”,  प्रवक्ता राईले भन्नुभयो ।

किन हुन्छ उडान अवरुद्ध

विमानस्थल, विमान र त्यहाँको सुरक्षासम्बन्धी यस्ता अपुष्ट खबर सार्वजनिक भएको यो पहिलो घटना भने होइन।

गत वैशाख महिनामा एक अज्ञात व्यक्तिले फोनबाट विमानस्थलको आन्तरिक टर्मिनलमा बम राखिएको सूचना दिएपछि विमानस्थल क्षेत्र खाली गराइएको थियो र केही समयका लागि उडानहरू प्रभावित भएका थिए।

अनुसन्धानपछि त्यहाँ कुनै किसिमको विस्फोटक पदार्थ नभएको पुष्टि भयो।

कसले कुन उद्देश्यले त्यस्तो मिथ्या सूचना दिएको थियो भन्ने कुरा पत्ता लागेन।

“विस्फोटक पदार्थ रहेको वा कुनै अपराधका आरोपित रहेको भनिएपछि उडान अवरुद्ध गर्नुपर्छ। यस्तो संवेदनशील विषयमा कुनै पनि किसिमको जोखिम मोल्नु उचित हुँदैन”, नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भन्नुभयो।

यस्तो परिस्थितिमा सर्वसाधारण मानिसको सुरक्षामा जोड दिनुपर्ने प्रवक्ता निरौलाले बताउनुभयो ।

विमानस्थलको सुरक्षाको जिम्मेवारी नेपाल प्रहरीले लिएको छ।

मानिसलाई त्रसित बनाउने यस किसिमको घटनाले धेरै यात्रुको समयतालिका र मनोविज्ञानमा असर पर्ने प्रहरी प्रवक्ता राईले बताउनुभयो।

विमानस्थल हुँदै तस्करी

बुधवारको जस्तो घटना सार्वजनिक हुँदा विमानस्थलको सुरक्षा प्रणालीबारे प्रश्न उठ्ने गर्छ।

यद्यपि त्रिभुवन विमानस्थल हुँदै हवाईमार्गबाट विभिन्न वस्तु तस्करी हुने गरेको प्रहरीले पत्ता लगाउने गरेको छ।

बेलाबेलामा प्रहरीले ठूलो विदेशबाट ल्याउन खोजिएको अवैध सुन र लागुऔषध बरामद गर्ने गरेको छ भने नेपालबाट विदेश तस्करी गर्न लागिएको चरेस पनि फेला पर्ने गरेको छ।

सुरक्षाविद्हरूका अनुसार कहिलेकाहीँ सम्भवतः सुरक्षासंयन्त्र प्रहरीको ध्यान अन्यत्र मोड्न अपरिचित व्यक्तिले बम राखिएको वा तस्करी हुन लागेको मिथ्या सूचना दिने गर्छन्। (बीबीसीबाट)

 

Share Now

Leave a comment.