अशोक दाहाल / बीबीसी न्यूज नेपाली
काठमाडौं, २० श्रावण । सुनसरीको धरानमा सहकारीले आफ्नो पैसा फिर्ता नदिएको भन्दै वचतकर्ताहरूले हालै प्रदर्शन गरेका थिए
सरकारले कुनै समय बजेटमै नारा ल्याएर प्रवर्द्धन गरेका सहकारी संस्थाहरूले ठगी गरेको भन्दै बचतकर्ताहरूले केही सहकारीविरुद्ध प्रदर्शन गरिरहेका छन्।
नेपालमा सञ्चालन अनुमति लिएका ३० हजार सहकारी संस्थाहरूमा ७३ लाख मानिसहरूको ४ खर्ब ७८ अर्ब रुपैयाँ बचत रहेको नियामक सहकारी विभागले जनाएको छ।
विभागका अनुसार पछिल्लो एक वर्षको अवधिमा सहकारीले बचतको रकम नदिएको विषयमा ३ सय भन्दाबढी उजुरी विभागमा परेका थिए।
यी घट्नाले हाम्रो घर वा पसलमा पैसा सङ्कलन गर्न आउने सहकारीमा हामीले राखेको पैसा कति सुरक्षित छ? सहकारीमा जम्मा गरिएको रकम ठगी हुनबाट कसरी बच्न सकिन्छ? भन्ने बहस सुरु भएको छ ।
सरकारी अधिकारी र विज्ञहरू बचतकर्ता सचेत भए आफूले गर्ने बचत कति सुरक्षित छ भन्नेबारे थाहा पाउन सक्ने बताउँछन्।
आफूले बचत गर्ने सहकारी संस्थाबारे केही आधारभूत जानकारी राखेर मात्रै कारोबार गर्दा आफ्नो पैसा गुम्न सक्ने जोखिमबाट बच्न सकिने उनीहरूको भनाइ छ।
के सहकारी सुरक्षित हुन्छन् ?
सहकारी विभागका उपरजिस्ट्रार तथा सूचना अधिकारी टोलराज उपाध्याय अधिकांश सहकारीहरूमा गरिने बचत सुरक्षित नै हुने बताउँनुहुन्छ।
तर नियामक निकायको निगरानी र कानुनी संरचनाका दृष्टिले सहकारीहरूमा हुने बचत ब्याङ्कमा जति सुरक्षित भने नहुने उहाँले बताउनुभयो।
नेपालमा रहेका अधिकांश सहकारी संस्थाहरूमा राखिएको बचत सुरक्षित नै रहे पनि केही संस्थाहरूमा भने सर्वसाधारणको बचत जोखिममा पर्ने गरेको अधिकारीहरू बताउँछन्।

सहकारी विभाग
“सदस्यहरूमा आधारित रहेर सहकारी चलेको छ भने त्यस्तो सहकारी सुरक्षित हुन्छ। राम्रो साख कमाएर बसेका सहकारीहरू पनि छन्”, उहाँले भन्नुभयो, “तर ब्याङ्कहरूको जस्तो सहकारीहरूको नियमन र नियन्त्रण गर्ने अधिकार सहकारी विभागलाई पनि छैन र सहकारीहरूको हितमा पनि यो हुँदैन।”
विभागका पूर्वरजिस्ट्रार सुदर्शन ढकाल बैङ्कहरूमा जस्तै सहकारीहरूमा पनि बचत सुरक्षा कोषको व्यवस्था नगरिएसम्म सहकारीमा राखिएको सर्वसाधारणहरूको रकमको अधिकतम सुरक्षा नहुने बताउनुहुन्छ।
“विकसित देशमा साना वित्तीय संस्थामा पनि बचतको बिमा हुन्छ। हाम्रोमा ब्याङ्कहरूमा पनि निश्चित रकमसम्मको बचत सुरक्षाका लागि स्थिरीकरण कोषको व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो, “सहकारीहरूमा पनि बचतको बिमा अत्यावश्यक भइसक्यो।”
बचतकर्ताले के ध्यान दिने?
विभागका सूचना अधिकारी उपाध्याय सहकारीहरूको आर्थिक स्वास्थ्यबारे अध्ययन गरेर मात्रै बचत गर्नुपर्ने बताउनुहुन्छ।
“सहकारीले साधारण सभा समयमा गरेको छ कि छैन, आफ्नो पैसा भएको संस्थाले कता केमा लगानी गरिरहेको छ, वित्तीय स्थिति के छ, त्यो ख्याल गरेर पैसा जम्मा गर्नुपर्यो”, उहाँले भन्नुभयो।
सहकारीले आफ्नो बचतको रकम नदिए वा आनाकानी गरे बचतकर्ता सदस्यले विभागमा उजुरी गर्नसक्ने व्यवस्था छ।
तर सबै बचतकर्ताहरूलाई सहकारीको आर्थिक अवस्था र लगानीको सुरक्षाबारे जानकारी नहुने सहकारी विज्ञ ढकाल बताउनुहुन्छ।
“सहकारीमा जम्मा गर्ने मान्छे सबै शिक्षित पनि छैनन्। भए पनि वित्तीय अवस्थाबारे बुझ्न सजिलो हुँदैन। उनीहरूले त कहाँ बढी ब्याज पाइन्छ त्यो हेरेर पैसा राख्ने हो”, ढकाल भन्नुहुन्छ।

मुढा बनाउँदै महिला
कतिपय सहकारी संस्थाले महिलाहरूलाई सीपमुलक काममा पनि लगानी गर्ने गरेका छन्।
सहकारीहरूले बचतकर्ताहरूको ८५ देखि ९० प्रतिशत रकम मात्रै ऋणमा लगाएर बाँकी रकम नगद मौज्दात गर्नुपर्ने नियम छ।
विभागको पछिल्लो तथ्याङ्क अनुसार ४ खर्ब ७८ अर्ब बचत गरेका सहकारीहरूले चार खर्ब २६ अर्ब ऋण दिएका छन्।
तर कतिपय सहकारीले यस्तो नियम उल्लङ्घन गरे पनि प्रभावकारी अनुगमन हुन सकेको छैन।
सबै सहकारीहरूको अनुगमनका लागि जनशक्तिको अभाव रहेको विभागका अधिकारीहरूको गुनासो छ।
सहकारीहरूले १६ प्रतिशतभन्दा बढी ब्याजदर लिन नपाउने नियम रहे पनि यो नियमबारे जानकार नभएका कारण पनि कतिपय सहकारीबाट उपभोक्ता ठगिने गरेका छन्।
नेपालमा सहकारीहरूले गर्ने कारोबार नेपालको कुल वित्तीय कारोबारको १८ प्रतिशतसम्म रहेको जानकारहरूको भनाइ छ।
तर विभागमा सबै सहकारीहरूले विवरण अद्यावधिक नगरेका कारण बचत र ऋणको रकम अझै बढी हुनसक्ने उपाध्याय बताउनुहुन्छ।
पैसा नपाए कहाँ उजुरी गर्ने ?
सहकारीले बचतको रकम नदिएको विषयमा नयाँ बानेश्वरमा कार्यालय रहेको सहकारी विभागमा उजुरी गर्न सकिन्छ।
“हामीले उजुरी प्राप्त भएपछि सहकारीका सञ्चालक समिति सदस्य र उजुरीकर्ताहरूलाई राखेर छलफल गर्छौँ “, उपाध्यायले भन्नुभयो।
उहाँले अहिलेसम्मका अधिकांश उजुरी छलफलबाटै समाधान भएको दाबी गर्नुभयो

सहकारीमा महिला : पोखराको एउटा सहकारीले सदस्यहरूलाई प्रौढ शिक्षा पनि दिने गरेको छ
तर धेरै बचतकर्ताको निक्षेप हिनामिना गरेर सहकारीका सञ्चालकहरूनै सम्पर्कविहीन भएका घटनामा विभागले फरक कदम चाल्ने उहाँले बताउनुभयो।
विभागको निर्देशनबाट पनि निक्षेपकर्ताको पैसा भुक्तानी हुने अवस्था नभए विभागले समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयमा समस्या समाधानका लागि पठाउने गरेको छ।
“त्यस्तो अवस्थामा हामीले सञ्चालकहरूको सम्पत्ति र ब्याङ्क खाता रोक्का गरेर कानुनी लडाइँमै जानुपर्ने हुन्छ”, उहाँले भन्नुभयो।
सहकारी सञ्चालकहरूले आफैँ बचतकर्ताको पैसा नदिए उनीहरूको जायजेथा बेचेर भए पनि बचतकर्तालाई भुक्तानी दिइने यस्तो प्रक्रिया निकै लामो र झन्झटिलो हुने गरेको विभागका अधिकारीहरू बताउँछन्।
“नेपालमा ब्याङ्किङ क्षेत्रको पनि सबै बचतको सुरक्षा त हुँदैन। टाट पल्टिएको अवस्थामा लिलामीबाट लिने बाहेक रकम कसले दिने भन्ने कुनै कानुनी व्यवस्था छैन”, विभागका पूर्व रजिस्ट्रार ढकालले भन्नुभयो , “तर सहकारीहरूमा हुने बचतसम्म चाहिँ बिमा गर्न सकिन्छ।”
नियमन कस्तो छ ?
पछिल्लो समय ब्याङ्कले जस्तै कारोबार गर्ने सहकारीहरूको सङ्ख्या बढे पनि नियमन फितलो रहेको जानकारहरू बताउँछन्।
नेपालमा ब्याङ्क र अन्य वित्तीय संस्थाहरूको कडाइका साथ नियमन गर्ने राष्ट्र ब्याङ्कलाई सहकारीहरूको पनि नियमनको अधिकार दिनुपर्ने विषयमा जानकारहरूले वकालत गर्दै आएका छन्।
ूठूलो कारोबार गर्ने सहकारीहरूको नियमन राष्ट्र ब्याङ्कबाटै गर्ने र बाँकीको नियमनका लागि सातै प्रदेशमा संयन्त्र निर्माण गरिनु जरुरी छ,ू विज्ञ ढकाल भन्नुहुन्छ।
नेपालमा सहकारीहरूको नियमनमा कडाइ गर्नुपर्ने जरुरी भइसकेको उहाँ बताउनुहुन्छ।

गड्यौला पालन:बाग्लुङमा सहकारी संस्थाहरूले मल उत्पादनका लागि गड्यौला पालनमा पनि लगानी गरेका छन्
नेपालमा सहकारीहरूको नियमनका लागि सङ्घ, प्रदेश र स्थानीय तहलाई जिम्मेवारी दिइए पनि अहिले नियमनको काम सहकारी विभागले गर्दै आएको छ।
“सहकारी संस्था स्वनियमनबाट चल्ने र नियन्त्रित हुने संस्था हो। यसको सञ्चालक समितिले बनाएको नियम स्वीकृतिका लागि मात्रै विभागमा आइपुग्छ”, उपाध्याय भन्नुहुन्छ।
विभागले समयसमयमा सहकारीहरूको अनुगमन गरेर प्रतिवेदन तयार गर्ने तथा कमजोर व्यवस्थापन रहेका सहकारीहरूलाई सुधार गर्न निर्देशन दिने गरेको छ।
विभागले वित्तीय व्यवस्थापन सुधारको कार्ययोजना बनाएर पेस गर्न पनि निर्देशन दिन्छ।
तर विभागसँग सबै सहकारीहरूको नियमन र अनुगमन गर्ने क्षमता र जनशक्ति नभएको अधिकारीहरू बताउँछन्।
नाफामुखी र व्यवसाय प्रयोजनका लागि स्थापना गरिएका ब्याङ्कलाई जस्तै नियमन सहकारीहरूलाई गर्न नसकिने विभागका उपरजिस्ट्रार उपाध्यायले बताउनुभयो।
“तत्काल नाफा कमाउने उद्देश्यले सहकारी खोलिने होइन। यी त सदस्यहरूको गर्जो टार्न सामूहिक भावनाको लागि खोलिने हो। तर बजारमा ब्याङ्क र सहकारी छुट्टाउन नसकिने भयो”, उहाँले भन्नुभयो।


















