Prakash Adhikari December 22, 2022

वाशिंटन(संयुक्त राज्य अमेरिका), ७ पौष(बीबीसी) । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की युद्धपछिको आफ्नो पहिलो विदेश भ्रमणका क्रममा अमेरिकी कङ्ग्रेसको भरिभराउ संयुक्त सत्रलाई सम्बोधन गर्नुभएको छ । उहाँले युक्रेनमा स्वतन्त्रताका लागि भएको लडाइँले आउँदा पुस्ता कस्तो विश्वमा जिउनेछन् भन्ने परिभाषित गर्ने बताउनुभएको छ।

जेलेन्स्कीले ‘सबै प्रतिकूलताका विरुद्ध‘युक्रेन जीवित रहेको र मुकाबला गरिरहेको’ बताउनुभयो।

बारम्बारको ताली र उभिएर दर्साइएका सम्मानबीच जेलेन्स्कीले अमेरिकी जनता र कङ्ग्रेसलाई उनीहरूको सहयोगप्रति धन्यवाद दिनुभयो।

उहाँले खुला रूपले सोच्ने विश्वसामु रुसी अत्याचारले नियन्त्रण गुमाएको र युक्रेनले ‘कहिल्यै आत्मसमर्पण नगर्ने’ बताउनुभयो।

त्यसअघि राष्ट्रपति बाइडनले युक्रेनलाई थप सैन्य सहायताका रूपमा झण्डै २ अर्ब अमेरिकी डलर दिने पुष्टि गर्नुभएको थियो । जसमा युक्रेनले माग गरिरहेको अमेरिकी पेट्रोइट भनिने जमिनदेखि हवाई प्रहारको क्षेप्यास्त्र प्रहार सम्बन्धी प्रणाली समेत छ।

यसअघि बुधवार बोल्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धका लागि आफ्नो देशलाई दोष दिन नहुने बताउनुभएको थियो।

“दुवै देशले शोक बाँडिरहेको” बताउदै पुटिनले युद्धका लागि “तेस्रो देशका नीतिहरू” जिम्मेवार रहेको उल्लेख गर्नुभयो।

थप अमेरिकी सहयोगको बाचा

जेलेन्स्की-बाइडन

बाइडनले युक्रेनका लागि व्यापक सहायताका रूपमा नयाँ वर्षमा झण्डै ४५ अर्ब डलरको सहायताको समेत बाचा गर्नुभएको छ, जसलाई कङ्ग्रेसले स्वीकृति दिन बाँकी छ।

बाइडनले जेलेन्स्कीलाई रुससँगको युद्धमा ‘आवश्यक पर्दासम्म’ अमेरिका युक्रेनसँग रहने बताउनुभयो।

“तपाईँ कहिल्यै एक्लै उभिनुहुनेछैन”, ह्वाइटहाउसमा बाइडनले जेलेन्स्कीलाई भन्नुभयो।

जेलेन्स्की युक्रेनमा रुसले अतिक्रमण सुरु गरेपछि पहिलो विदेश भ्रमणका रूपमा अमेरिका पुग्नुभएको हो।

जेलेन्स्कीले थप भनाई

जेलेन्स्कीले युक्रेनलाई सघाउन अमेरिकाले दिने आर्थिक प्याकेजहरूलाई विश्वव्यापी सुरक्षाका लागि भएको लगानीका रूपमा अर्थ्याउनुभएको थियो।

“तपाईँहरूको पैसा परोपकार होइन”, उहाँले भन्नुभयो।

जेलेन्स्कीले आफ्नो हालैको अग्र मोर्चामा पर्ने बक्मुत सहरको भ्रमणबारे बताउँदै त्यहाँ जमिनको हरेक इन्च रगतमा भिजेको बताउनुभयो।

उहाँले अमेरिकीहरूलाई क्रिसमसको शुभकामना दिने क्रममा युक्रेनीहरूले मैनबत्तिमा उक्त पर्व मनाउने बताउनुभयो।

“त्यो थप रोमाञ्चक हुने भएकाले नभई त्यहाँ विद्युत् नभएकाले हो”,  उहाँले भन्नुभयो

जेलेन्स्कीले युक्रेनप्रति सद्भाव राख्ने हरेक ‘अमेरिकी परिवार’ र त्यहाँका ‘हरेक सहर’ र हरेक अमेरिकीप्रति धन्यवाद व्यक्त गर्नुभयो।

उहाँले युक्रेनले ‘पूर्ण विजय’ हासिल गरेर छाड्ने भन्दै मन्तव्य अन्त्य गर्नुभएको थियो।

We Are Fighting For Our Lives' In Ukraine, Says Olena Zelenska

Share Now

Leave a comment.