Prakash Adhikari September 12, 2026
काठमाडौँ, २७ भदौः यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएका बाढीका कारण प्रभावित भएका नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग रकम सङ्कलन भइरहेको छ । विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय निकाय, सङ्घसंस्था, जनप्रतिनिधि, कर्मचारी, व्यवसायी, स्थानीयलगायतले रकम सङ्कलन गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गरिरहेका छन् ।

बाँकेका निजी विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग

राँझा (बाँके) : भोटेकोशी बाढीपीडितका लागि बाँकेका निजी विद्यालय र अस्पतालले रु. एक करोड २५ लाखभन्दा बढी सहयोग गरेका छन् ।

निजी तथा आवासीय विद्यालय (प्याब्सन) बाँकेमा आबद्ध विद्यालयले रु. ६५ लाख तथा निजी अस्पतालले रु. ६० लाख ७८ हजार ५ सय १३ सहयोग गरेका हुन् ।

प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यका अनुसारबाँकेका ७७ निजी तथा आवासीय विद्यालयबाट सङ्कलित रकममध्ये रु. ५३ लाख ४१ हजार ४०६ तथा बाँकेका अस्पतालले रु. ६० लाख ७८ हजार ५१३ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला हुनेगरी प्रदान गरेका छन् ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले रु. २५ लाख, सञ्जीवनी कलेज अफ मेडिकल साइसेन्स प्रालि नेपालगञ्जले रु. २५ लाख, फत्तेबाल आँखा अस्पतालले रु. पाँच लाख ११ हजार, एचसीआरसी अस्पतालले रु. २ लाख ५० हजार, न्यूरो अस्पतालले रु. एक लाख १६ हजार ५१३, सागर अस्पताल नेपालगञ्जले रु. एक लाख एक हजार र लाइफ लाइन जनरल अस्पताल नेपालगञ्जले रु. एक लाख सहयोग गरेका लाइफ लाइन जनरल अस्पतालका सञ्चालक डा. प्रतीक श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

काठमाडौँ, २६ भदौः भोटेकोशी बाढीपीडितको स्वास्थ्य उपचारका लागि युएसभी फार्मास्युटिकल्सले रु. एक करोड ५० लाख प्रदान गर्ने भएको छ ।

बिहीबार यहाँ आयोजित कार्यक्रममा नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. बद्री रिजाल र युएसभी फार्मास्युटिकल्सका प्रमुख व्यापार अधिकृत महिदवाज सिसोडियाबीच सहयोगसम्बन्धी सम्झौता भएको हो ।

सम्झौताअनुसार बाढी प्रभावितका लागि स्वास्थ्य सामग्रीको विवरण नेपाल चिकित्सक सङ्घले उपलब्ध गराउने र सोही आधारमा युएसभी फार्मास्युटिकल्सले सामग्री खरिद गरी प्रभावित परिवारलाई उपलब्ध प्रदान गर्नेछ ।

 

यातायात व्यवसायी राष्ट्रिय महासङ्घद्वारा ९९ लाख सहयोग
काठमाडौँ : रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनासकारी बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले रु ९९ लाख ८४ हजार ६९५ सहयोग गरेको छ । महासङ्घले आज सिंहदरबारस्थित पूर्वाधार विकास मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त राहत रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको हो ।
महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलासहितको टोलीले पूर्वाधार विकासमन्त्री सुनिल लम्सालमार्फत राहत रकम कोषमा हस्तान्तरण गरेको हो । राहत रकम ग्रहण गर्दै मन्त्री लम्सालले विपद्का बेला बाढीपीडितको उद्धार तथा राहतका लागि महासङ्घले गरेको योगदानप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्न विभिन्न क्षेत्रबाट भइरहेको सहकार्यले राहत तथा उद्धार कार्यमा थप सहयोग पुग्ने बताउनुभयो ।
रकम हस्तान्तरणपछि महासङ्घका अध्यक्ष सिटौलाले भोटेकोशी बाढीबाट प्रभावित तथा बेपत्ता भएकाहरूको उद्धार र खोजीकार्यमा महासङ्घ निरन्तर सक्रिय भएर लागिरहेको बताउनुभयो । उहाँले यातायात क्षेत्रसँग प्रत्यक्ष जोडिएका मजदुर तथा व्यवसायीसमेत बाढीबाट प्रभावित भएकाले महासङ्घले आफ्ना सदस्य तथा श्रमिकको उद्धारका साथै पीडितपरिवारलाई सहयोग गर्ने कामलाई प्राथमिकता दिएको जानकारी दिनुभयो ।
“बाढीपीडितको उद्धार तथा राहतका लागि संस्था निरन्तर सक्रिय छ । हाम्रा दर्जनौँ यातायात मजदुर र सवारीसाधनसमेत अहिलेसम्म बेपत्ता छन् । यातायात मजदुर र बाढीपीडितको उद्धार तथा सहयोगमा हामी अहोरात्र खटिएका छौँ”, अध्यक्ष सिटौलाले भन्नुभयो ।
भोटेकोशी बाढीपछि ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । बाढीबाट प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत वितरणको काम जारी रहेका बेला यातायात व्यवसायी महासङ्घले गरेको सहयोगले प्रभावितको राहत तथा पुनःस्थापनामा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

भोटेकोशी बाढीपीडितलाई मुस्लिम समाजद्वारा ६२ लाख सहयोग

सुनसरी, २६ भदौः भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनर्निर्माणका लागि नेपाली मुस्लिम समाज सुनसरीले रु ६२ लाख ४५ हजार ४९ सहयोग गरेको छ ।

सुनसरीका विभिन्न मुस्लिम बस्ती, मदरसा, मस्जिद, गैरसरकारी संस्था, निजी विद्यालय, व्यावसायिक सङ्घसंस्था तथा व्यक्तिगत तहबाट उक्त रकम सङ्कलन गरिएको नेपाली मुस्लिम समाज सुनसरीका उपाध्यक्ष हैदर अलीले जानकारी दिनुभयो ।

नेपाल मुस्लिम समाज सुनसरीको समन्वयमा सङ्कलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरी बिहीबार बैंक भौचर तथा सहयोगदाताको विस्तृत विवरणसहितका कागजात सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याललाई हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।

झापाः निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापाले आज बाढीपीडितका लागि रु ७५ लाख ५३ हजार ९४७ सङ्कलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरेको छ ।

प्याब्सनमा आबद्ध १३९ विद्यालयमार्फत सो राहत रकम सङ्कलन गरिएको प्याब्सन, झापाका अध्यक्ष छत्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

 

बाराः कलैया उपमहानगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि रु ७७ लाख ७७ हजार ७७७ आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ । उक्त रकम पालिकाका कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मीबाट सङ्कलन गरिएको कलैया उपमहानगरपालिकाका नगरप्रमुख विनोदप्रसाद साहले जानकारी दिनुभयो ।

 

बाँकेः बाँके जिल्लाका निजी विद्यालय तथा विद्यार्थीले भोटेकोशी बाढीपीडितको राहतका लागि सङ्कलन गरिएको रु ६५ लाख प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका छन् । विद्यार्थीले आफ्ना नियमित खाजा खर्चबाट जोगाएको उक्त रकम कोषमा जम्मा गरिएको प्याब्सन, बाँकेका अध्यक्ष विकास बज्राचार्यले जानकारी दिनुभयो ।

 

मनहरी गाउँपालिकाद्वारा रु ४१ लाख ८७ हजार सहयोग
मकवानपुरको मनहरी गाउँपालिकाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनस्र्थापना तथा पुनर्निर्माणका लागि प्रधानमन्त्री राहत कोषमा रु ४१ लाख ८७ हजार २६३ जम्मा गरेको छ ।
बाढीबाट प्रभावित क्षेत्रमा सहयोग पुर्‍याउने उद्देश्यले गाउँपालिकाको विपद् व्यवस्थापन कोष, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यालय सहजकर्ता तथा स्थानीय सामुदायिक वन उपभोक्ता समितिबाट उक्त रकम सङ्कलन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
उहाँका अनुसार गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट रु १० लाख, शिक्षकहरूबाट रु १५ लाख ३२ हजार १२९, कर्मचारीहरूबाट रु नौ लाख ४२ हजार ७०३ र जनप्रतिनिधिबाट रु छ लाख १३ हजार ३०५ सङ्कलन गरिएको हो ।
त्यसैगरी मनकामना सामुदायिक वन उपभोक्ता समिति, मनहरीबाट रु ५१ हजार तथा विद्यालय सहजकर्ता र कर्मचारीबाट रु ४८ हजार १२६ सङ्कलन गरिएको प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीका अनुसार सङ्घीय सरकारले बाढी प्रभावित क्षेत्रको राहत तथा पुनर्निर्माणका लागि सहयोग गर्न गरेको आह्वानअनुसार संस्थागत तथा व्यक्तिगत रूपमा रकम सङ्कलन गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको राहत कोषमा जम्मा गरिएको हो ।
बेनी नगरपालिकाको करिब रु ४० लाख सहयोग
म्याग्दी, २६ भदौः म्याग्दीको बेनी नगरपालिकाले रसुुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीबाट प्रभावितका लागि करिब रु ४० लाख सहयोग गरेको छ ।
बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारकार्यमा सहयोग पु¥याउने उद्देश्यले रु ३९ लाख ९४ हजार ३६६ सहयोग गरिएको नगरपालिकाले जनाएको छ । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको नगर उपप्रमुख ज्योती लामिछानेले जानकारी दिनुभयो ।
जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी र शिक्षकको पारिश्रमिकबाट कट्टि गरी उक्त रकम सहयोग गरिएको उहाँले बताउनुभयो ।  यसअघि म्याग्दीका धवलागिरी, रघुगङ्गा र अन्नपूूर्ण गाउँपालिकाले विपद् ब्यवस्थापन कोषबाट रु दुई÷दुई लाख सहयोग गरिसकेका छन् ।

गण्डकीका यातायात व्यवसायीबाट रु २७ लाख बढी सहयोग

कास्की : गण्डकी प्रदेशमा क्रियाशील विभिन्न यातायात प्रालिहरूले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु २७ लाख ३५ हजार ८९५ सहयोग गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकी प्रदेश समितिमा आबद्ध विभिन्न यातायात कम्पनी तथा समितिहरूबाट उक्त रकम सङ्कलन गरेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको महासङ्घ गण्डकी प्रदेश संयोजक महेशबहादुर थापाले जानकारी दिनुभयो ।

महासङ्घ प्रदेश समितिका आबद्ध यातायात कम्पनी पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिले रु १० लाख ११ हजार १११, पोखरा यातायात प्रालिले रु चार लाख र पोखेली ट्याक्सी सेवा प्रालिले रु तीन लाख बाढीपीडितका लागि सहयोग गरेका छन् ।

त्यसैगरी, धवलागिरि कालिका यातायात प्रालिले दुई लाख पाँच हजार ५५५, स्थानीय यातायात प्रालिले रु एक लाख ५१ हजार १११, बेगनासताल पोखरा यातायात प्रालिले रु एक लाख एक हजार १११, गोरखा दरौँदी यातायात रु एक लाख एक हजार १११, स्याङ्जा गण्डकी यातायात रु एक लाख एक हजार १११ तथा धवलागिरि गण्डकी यातायात प्रालिले रु एक लाख सहयोग गरेका छन् ।

यसैगरी, एवन ग्रेटर नेपाल यातायात प्रालिले रु ५५ हजार ५५५, सिद्धबाबा यातायात सेवा प्रालिले रु ५१ हजार १११, मुस्ताङ मुक्तिनाथ यातायात प्रालिले रु ५१ हजार, धवलागिरि अञ्चल यातायात सेवा प्रालिले रु ५० हजार, तनहुँ व्यासभूमि यातायात प्रालिले रु ३६ हजार ६६६, लमजुङ कालिका यातायात सञ्चालक प्रालि, गण्डकी मम्फौला मिनीट्रक सञ्चालक समिति र गण्डकी ट्याक्टर तथा मिनीट्रक यातायात प्रालिले रु २५ हजार ५५५ का दरले सहयोग गरेको महासङ्घका सचिव अर्जुन पौडेलले जानकारी दिनुभयो ।

त्यसैगरी, पोखरा फेवा यातायात प्रालिले रु २५ हजार र बागलुङ घुम्टे यातायात प्रालिले रु २० हजार कोषमा सहयोग गरेका छन् । गण्डकी प्रदेशमै क्रियाशील कास्कीको अन्नपूर्ण घोडेपानी घान्द्रुक यातायात प्रालिले यसअघि नैै रु एक लाख ११ हजार १११ र स्याङ्जा पर्वत यातायात प्रालिले रु २१ हजार जम्मा गरेको महासङ्घ गण्डकीले जनाएको छ ।

विपद्को समयमा यातायात व्यवसायीहरूले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै बाढी प्रभावित नागरिकको राहत तथा उद्धारमा गरेको सो सहयोग रकम प्रभावित नागरिकसम्म पुग्ने अपेक्षा गरिएको सचिव पौडेलले बताउनुभयो । समितिले सहयोग गर्ने सबै यातायात व्यवसायी तथा संस्थाप्रति धन्यवाद व्यक्त गरेको छ ।

 

बटेश्वर पालिकाले २० लाख प्रदान गर्ने

जनकपुरधाम:  धनुषाको बटेश्वर गाउँपालिकाले भोटेकोशी बाढीपीडितलाई रु. २० लाख ३० हजार ५५४ प्रदान गर्ने भएको छ ।

गाउँपालिकाको विपद् कोष तथा जनप्रतिनिधि र कर्मचारीको तलबबाट कट्टा गरी उक्त रकम गर्ने निर्णय पालिकाले गरेको हो ।

गाउँपालिकाले विपद् कोषबाट रु. पाँच लाख, जनप्रतिनिधिको तलबभत्ताबाट रु. एक लाख एक हजार १७८, कर्मचारीको तलबबाट रु. पाँच लाख ४८ हजार ७६८ तथा शिक्षक र विद्यालय कर्मचारीको तलबबाट रु. आठ लाख ८० हजार ६०८ गरी रु. २० लाख ३० हजार ५५४ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरिने जनाइएको छ ।

 

कलाकार सङ्घद्वारा  ५ लाख २५ हजार रुपैयाँ सहयोग

नेपाल चलचित्र कलाकार सङ्घले बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु पाँच लाख २५ हजार ५२५ सहयोग गरेको छ ।

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाको उपस्थितिमा सङ्घका अध्यक्ष उत्तम केसीले आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई सिंहदरबारमा उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित परिवारको सहयोगका लागि कलाकारहरूबाट रकम सङ्कलन गरी कोषमा जम्मा गरिएको सङ्घले जनाएको छ ।

सङ्घका अध्यक्ष केसीले बाढी प्रभावित क्षेत्र नुवाकोटका जनप्रतिनिधिका रूपमा मन्त्री तिमिल्सिनाले खेलेको भूमिकाको प्रशंसा गर्दै चलचित्र क्षेत्रका विभागीय मन्त्रीको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरिएको बताउनुभयो ।

सङ्घका निवर्तमान अध्यक्ष मोहन निरौलाले नेपाल चलचित्र कलाकार सङ्घको स्थापना सामाजिक सेवाको भावनासहित भएको उल्लेख गर्दै सङ्घले आफ्नो सामाजिक उत्तरदायित्व निरन्तर रूपमा पूरा गर्दै आएको बताउनुभयो । कठिन समयमा सरकारसँग एकताबद्ध हुँदै प्रभावितलाई सहयोग गर्ने उद्देश्यले कलाकारहरूबाट रकम सङ्कलन गरिएको उहाँको भनाइ थियो ।

सङ्घका अनुसार जेनजी सहिद दिवस तथा नेपाल चलचित्र कलाकार सङ्घको ३८औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमबाट सङ्कलित रकम हस्तान्तरण गरिएको हो ।

कांग्रेस सुदूरपश्चिम संसदीय दलद्वारा ३ लाख ६१ हजार सहयोग
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावितका लागि आर्थिक सहायता रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ । संसदीय दलले आज रु तीन लाख ६१ हजार ६६७ रकम कोषमा जम्मा गरेको हो ।
संसदीय दलका नेता कमलबहादुर शाहले आफ्नो एक महिनाको पारिश्रमिक बराबरको रकम सहयोग गर्नुभएको छ । त्यस्तै, संसदीय दलका अन्य प्रदेशसभा सदस्यहरूले १० दिनको पारिश्रमिक बराबरको रकम सहयोगस्वरूप उपलब्ध गराउनुभयो ।
यसैबीच, आज संसदीय दलका नेता शाहको अध्यक्षतामा बसेको नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले भोटेकोशी क्षेत्रमा आएको बाढीबाट ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । बैठकले बाढी तथा विपद्का कारण प्रभावित परिवारप्रति गहिरो दुःख तथा समवेदना प्रकट गर्दै पीडितको राहत, उद्धार तथा पुनःस्थापनाका कार्यक्रमलाई थप प्रभावकारी रूपमा निरन्तरता दिन सम्बन्धित निकाय तथा सबै पक्षलाई आग्रह गरेको छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १६ अर्ब ७८ करोड रकम मौज्दात
काठमाडौँ :  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल रु १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रकम मौज्दात छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज साँझ ५ः०० बजेसम्मको विवरणअनुसार विभिन्न नौवटा बैंकमा रु नौ अर्ब ६८ करोड २३ लाख ५५ हजार २५ मौज्दात छ ।
त्यस्तै, कोषका दुईवटा बैंकमा रहेको डलर खातामा रु २ करोड ३२ लाख ८४ हजार ७७ अमेरिकी डलर जम्मा भएको छ । राहत कोषबाट केही दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडितलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत रु एक अर्ब निकासा गरिएको थियो ।

 

Share Now